NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
स्थानीय तह निर्वाचन विशेष

हेटौंडा उपमहानगरपालिका : एमालेलाई गढकाे चिन्ता, कांग्रेस इतिहास बनाउने कसरतमा

काठमाडौं । वैशाख ३० को स्थानीय तह निर्वाचन नदिकिँदै गर्दा मकवानपुरमा राजनीतिक दलका गतिविधि बाक्लिँदै गएका छन् । दल परिवर्तन, विभिन्न भेला र प्रशिक्षणजस्ता चुनावकेन्द्रित गतिविधिले तीव्रता पाइरहेका छन् । आगामी निर्वाचनमा नगरको विभिन्न पदमा उठ्न चाहने आकांक्षीको दौडधुप पनि बढेको छ । कतिपय त उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिसकेका छन् । चोक, चौतारा र पार्टी कार्यालयमा भीडभाड देखिन थालेको छ । पाँच वर्षसम्म सहरकेन्द्रित बनेका नेता गाउँ पस्न थालेका छन् । बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका हेटौंडा मा पनि निर्वाचनकेन्द्रित गतिविधि बढेको छ । एमाले प्रभाव क्षेत्र मानिने हैटौँडामा अहिलेसम्म अरू दलले जित्न सकेका छैनन् । प्रजातन्त्र स्थापनापछि भएका तीनवटै स्थानीय चुनावमा हेटौंडा एमालेको कब्जामा छ । पूर्वमेयर डोरमणि पौडेल बागमती प्रदेशको मुख्यमन्त्रीसमेत बनिसकेका छन् ।

विगतको मत परिणाम

०७४ सालको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरमा कांग्रेस–माओवादीको गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका हरिबहादुर महत मेयरमा निर्वाचित भए । उनले कांग्रेसका आनन्दराम पराजुलीलाई जम्मा ६ सय १५ मतले हराएका थिए । महतले २३ हजार एक सय २४ र पराजुलीले २२ हजार पाँच सय नौ मत पाएका थिए । हेटौंडा मा यो एमालेको ह्याट्रिक थियो । यसअघि ०४९ र ०५४ सालमा एमालेका डोरमणि पौडेलले मेयर जित्दा अहिलेका मेयर हरिबहादुर महत उपमेयर बनेका थिए ।

मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका मधु अधिकारीले ६ हजार आठ सय ५७ र तत्कालीन संघीय समाजवादी फोरमका शुभरत्न गोलेले एक हजार एक सय ६ मत पाए ।

त्यस्तै, एमालेबाटै उपमेयरको उम्मेदवार बनेकी मीनाकुमारी लामाले पनि गठबन्धनका उम्मेदवार बलराम बललाई पराजित गरिन् । लामाले २३ हजार चार सय ३७ मत पाइन् भने गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बलले १७ हजार ११ मत मात्रै पाए । राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपानेले सात हजार सात सय दुई मत पाउँदा नयाँ शक्तिकी पुनम भट्टराईले एक हजार एक सय ५३ मत ल्याइन् ।

वडामा पनि एमालेले बहुमत हासिल गर्‍यो । १९ वडा रहेको हेटौंडा उपमहानगरमा एमालेले १२ वडामा अध्यक्ष जित्यो । कांग्रेसले पाँच र माओवादीले दुई वडामा अध्यक्ष जिते ।

फेरिएको समीकरण र सम्भावित परिणाम

हेटौंडा को पहिलो शक्तिका रूपमा एमाले छ । अघिल्लो चुनावको मत परिणामअनुसार कांग्रेस दोस्रो शक्ति हो । हेटौंडा मा फेरि पनि एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । नगरमा माओवादी र राप्रपाको पनि उल्लेख्य मत छ ।

आगामी निर्वाचनमा एमालेलाई प्रभाव क्षेत्र जोगाउनुपर्ने चुनौती छ भने कांग्रेसलाई इतिहास बनाउनु छ । यसपटकको चुनाव निकै रोचक हुने मानिएको छ । किनकि एमाले विभाजनको असर हेटौंडा मा राम्रै देखिएको छ । एकीकृत समाजवादीका नेता एवं संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाको गृहजिल्ला भएकाले पनि विभाजनको असर बढी देखिएको छ । उपमेयर मीनाकुमारी लामा पनि एकीकृत समाजवादीमा गएकी छिन् । एमालेबाट निर्वाचित वडा नं. १३ का अध्यक्ष मनोजकुमार वाइबा पनि एकीकृत समाजवादीमा आबद्ध भएका छन् । सत्तासाझेदार दलबीच समीकरण बनाएर चुनावमा जाने सहमति भएकाले हेटौंडा मा पनि गठबन्धन बन्ने देखिएको छ । विभाजनका बाबजुद हेटौंडा मा एमालेको संगठन मजबुत नै छ । तर, सत्तासाझेदार पाँच दलबीच गठबन्धन बन्दा भने उसलाई अप्ठेरो हुन सक्छ । यस्तो अवस्थामा एमालेले राप्रपासँग तालमेल गर्ने सम्भावना छ । एमाले एक्लै चुनावमा गयो भने हेटौंडा मा पहिलोपटक गठबन्धनले बाजी मार्न सक्छ । तर, त्यसका लागि कांग्रेसले प्रभावशाली उम्मेदवार अघि सार्नुपर्नेछ । एमालेले पार्टी फुटेर भएको क्षति भर्पाई माओवादीबाट गर्न खोजेको छ ।

०७४ को निर्वाचनमा गठबन्धनबाट उपमेयर उठेका माओवादी नेता बलराम बल एमाले प्रवेश गरेका छन् । माओवादीका वडा नम्बर १४ का अध्यक्ष दीपक खड्का पनि एमालेमा गएका छन् । यसले उसलाई केही राहत भएको छ । तर, विगतको मत हेर्दा राप्रपासँग तालमेल गर्न नसके एमालेका लागि चुनाव जित्न निकै कठिन हुनेछ । किनकि विगतमा आफ्नै दलमा रहेका नेता–कार्यकर्ता पार्टी विभाजन भएकाले विपक्षमा हुनेछन् । हेटौंडा मा गठबन्धनकारी अर्को दल जनता समाजवादी पार्टीको पनि केही प्रभाव छ ।

कांग्रेस मकवानपुरका सचिव भीमसेन महत आगामी निर्वाचनमा आफूहरूले जित्ने पक्का भएको दाबी गर्छन् । ‘हाम्रो प्रतिद्वन्द्वी एमाले हो । कांग्रेसको संगठन विस्तार राम्रो छ । यसपालि जित्ने हामीले नै हो,’ महतले भने । कांग्रेसले हेटौंडा को वडा तहमा टोल कमिटी बनाउँदै पार्टी संगठन विस्तार गरिरहेको छ ।

कांग्रेसले जितेको १, ५ र ६ नम्बर वडा पनि एमालेकै पकड थियो । १ र ५ नम्बर वडामा अध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए भने चार–चारजना सदस्य एमालेका छन् । कांग्रेस विगतमा भन्दा बलियो भएको सचिव महतको दाबी छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी हेटौंडा मा एक्लाएक्लै लड्ने स्थितिमा छैनन् । यी दुवै कांग्रेसको भरमा छन् । हेटौंडा का अधिकांश
वडामा कमिटी विस्तार गरेको एकीकृत समाजवादीले एमालेलाई जित्न नसके पनि हराउने भूमिका खेल्न सक्ने आकलन गरिएको छ ।

कांग्रेससँग गठबन्धन गरेर एमालेलाई हराउनुपर्ने भन्दै माओवादी र एकीकृत समाजवादीका नेता लागिपरेका छन् । माओवादी केन्द्र बागमती प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामीले गठबन्धन गरेर एमालेलाई पराजित गर्ने दाबी गरे । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोख्रेल पनि गठबन्धनको जित निश्चित भएको बताउँछन् ।

विभाजनपश्चात् मकवानपुरमा एमाले केही कमजोर भएको विश्लेषण गरिएको छ । तर, एमाले मकवानपुरका सचिव नवीन सिग्देल यसलाई मान्दैनन् । एमाले झनै बलियो भएको उनको दाबी छ । उनका अनुसार विभाजनपछि बनेको एकीकृत समाजवादीले हेटौंडा को स्थानीय तह निर्वाचनमा ठूलो असर पुर्‍याउने छैन । ‘०५६ सालमा पनि एमाले फुटेकै थियो । त्यतिबेला पनि मकवानपुरबाट एमालेले तीनवटै सिट जितेको हो । अहिले पनि खासै असर छैन, थोरै असरको क्षतिपूर्ति हुन्छ,’ उनले भने । यस आधारमा यसपटकको चुनावमा कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन । चुनावमा दलहरूले उठाउने उम्मेदवारले पनि ठूलो प्रभाव पर्नेछ । यस्तै, थपिएका मतदातामध्ये धेरैले कता मत दिन्छन् भन्नेले पनि निर्वाचन परिणाम तय गर्नेछ । तर, दुईवटा गठबन्धन बने निकै प्रतिस्पर्धात्मक हुने अनुमान छ । एमाले एक्लै लड्ने र सत्ता गठबन्धनकारी दलबीच तालमेल भयो भने परिणाम गठबन्धनका पक्षमा जान सक्छ । गठबन्धन हुँदा मेयर कांग्रेसले पाउने निश्चित भए पनि उपमेयरका लागि माओवादी र एकीकृत समाजवादीबीच विवाद हुन सक्ने ठानिएको छ ।

कम हुँदै राप्रपाको प्रभाव

विगतमा मकवानपुरमा एमालेपछिको दोस्रो ठूलो शक्ति राप्रपा थियो । तर, ०७४ सालको निर्वाचनमा प्राप्त मतका आधारमा हेटौंडा को स्थानीय तहको निर्वाचनमा राप्रपा चौथो शक्ति बनेको छ ।

कमल थापाको गृहजिल्लामा एमाले, कांग्रेस, माओवादीपछि राप्रपासँग धेरै मत थियो । यसपटक राप्रपा पनि विभाजित भएको छ । थापाले राप्रपा नेपाल नामको पार्टी बनाएका छन् । त्यसैले राप्रपा पनि यहाँ दुई धारमा विभाजित छ । अघिल्लोपटक मेयर लडेका मधु अधिकारी राप्रपामै छन् । मकवानपुरमा राप्रपा र राप्रपा नेपालको शक्ति कति छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन ।

जनसंख्या र मतदाता

गत निर्वाचनमा ८३ हजार ६ सय ३९ मतदाता रहेकोमा ५४ हजार चार सय ९८ मत सदर भएको थियो । राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक तथ्यांकअनुसार हेटौंडा उपमहानगरमा झन्डै एक लाख ९६ हजार जनसंख्या छ । विगतको भन्दा यसपटक मतदाता पनि झन्डै ४० हजारले बढेको निर्वाचन कार्यालयले जनाएको छ ।

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरमा विकट क्षेत्र पनि छन् । उपमहानगरको दक्षिण र पश्चिम क्षेत्रमा विकट वडा पर्छन् । जहाँ हालसम्म पनि सडक र खानेपानी नै पुगेको छैन ।