NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यती एयरलाइन्सले ल्यायो नयाँ वर्षको अफर

काठमाडौं । नेपाली हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ ।

यती एअरलाइन्सले आफ्ना यात्रुलाई लक्षित गरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पहिलोपटक यो अफर ल्याएको हो ।

यतीका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरूलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न एयरलाइन्स संवेदनशील रहेकोले ‘एक्स्ट्रा केयर अफर’ ल्याएको जानकारी दिए ।

उनका अनुसार यस योजनामा यतीको मोबाइल एप तथा वेबसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन अवधि सम्मका लागि रु एक लाखसम्मको दुर्घटना बीमा प्राप्त गर्नेछन् । यो योजना नयाँ वर्ष ०७९ बैशाख १ गतेबाट लागू हुनेछ ।

उक्त योजनामा यात्रुले जति पटक यात्रा ग¥यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा भएको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मितिदेखि ३० दिनसम्मको बीमा प्राप्त हुनेछ भने अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ ।

हालका लागि उक्त अफर ३ महिनाका लागि लागू हुने प्रवक्ता बर्तौलाले बताए । उक्त अफर अहिलेका लागि नेपाली यात्रुलाई मात्र लागू हुने र प्राथमिकता हेरेर आगामी दिनमा म्याद थप हुने कम्पनीले जनाएको छ ।

बीमा प्राप्त गरेका यात्रुको विमा अवधिमा दुर्घटना भएमा औषधि उपचारका लागि रु १० हजारसम्म र मृत्यु भएमा बीमाङ्कको शत प्रतिशत रकम प्राप्त गर्नेछन् । बीमा दाबी सम्बन्धी सर्वाधिकार बीमा समितिको पोलिसीअन्तर्गत सानिमा जनरल इन्स्योरेन्स कम्पनीमा निहीत हुने एयरलाइन्सले जनाएको छ ।

यतीले भविष्यमा पनि यस्ता अफर ल्याउँदै जाने जनाएको छ । यती र भगिनी संस्था तारा एयरले हाल देशका सर्वाधिक ठाँउमा उडान सञ्चालन गर्दै आएका छन्