NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

माओवादी केन्द्र पोखरा महानगरको अध्यक्षमा गिरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको अध्यक्षमा हरिनारायण गिरी (विज्ञान) निर्वाचित भएका छन् । महानगर समितिका अध्यक्षलगायतका पदाधिकारी चयनका लागि आज भएको निर्वाचनमा गिरीले प्रत्याशी शिवजी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । गिरीले ३९ र लामिछानेले ३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वेदनाथ भण्डारीले जानकारी दिए ।

यसैगरी समितिको उपाध्यक्षमा हर्कमान विश्वकर्मा, भानुभक्त अधिकारी र विमला पहारी विजयी भएका छन् । तीन जना उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । सचिवमा जनक पराजुली, सहसचिवमा ईश्वरीप्रसाद लम्साल र कोषाध्यक्षमा बुद्धिमाया गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक कमल ढकालले जानकारी दिए ।

गत मङ्सिर ११ गते पोखराको अधिवेशन सम्पन्न भएर ८४ सदसीय समिति सदस्यहरु चयन गरे पनि नेतृत्वमा आकाङ्क्षीका बीचमा सहमति नहुँदा अध्यक्षलगायतका पदाधिकारी चयन हुन सकेको थिएन । फागुन अन्तिम साता एक पक्षले गिरीलाई नै अध्यक्ष घोषणा गर्दै पदाधिकारी चयन गरिएको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । असन्तुष्ट पक्षले सोका विरुद्ध समितिमा हस्ताक्षर सङ्कलन गरेर पार्टी जिल्ला, प्रदेश र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष बुझाएको थियो ।

अध्यक्ष प्रचण्डले प्रक्रियाका माध्यमबाट तत्कालै विवाद समाधान गर्न पार्टीको प्रदेश र जिल्ला नेतृत्वलाई निर्देशन दिएपछि समितिको बैठक बसेर मतदानका माध्यमबाट अध्यक्षलगायतका पदाधिकारी चयन गरेको हो । यससँगै पार्टीभित्र देखिएको विवाद समाधान भएको माओवादीले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष गिरीले भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरमा पार्टीलाई एक ढिक्का बनाएर स्थानीय तहको निर्वाचनमा होमिने बताए । महानगरका ३३ वटै वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना, उम्मेदवार चयनलगायत निर्वाचन केन्द्रीय पार्टी गतिविधिलाई तत्कालै सुरु गरिने जानकारी उनले  दिए ।

निर्वाचित पदाधिकारीहरुलाई पार्टीका गण्डकी प्रदेशका इन्चार्ज एवं पूर्वमन्त्री हितराज पाण्डे (उत्तम), कास्की जिल्ला इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य राजकाजी गुरुङ, पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालालगायतले बधाई तथा शुभकामना व्यक्त गरे ।