NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

६ महानगरपालिकामा तीनवटा कांग्रेसलाई, तीनवटा अन्य दललाई, कुन महानगर कुन दललाई ?

काठमाडौं । वैशाख ३० को स्थानीय तह निर्वाचन आउन अब एक महिना हाराहारी मात्रैको समय छ । देशभरका ७५३ वटै पालिकामा हुन लागेको चुनावमा ६ वटा महानगरपालिकामा कुन दलले कसलाई उम्मेदवार बनाउँछन् भन्ने विषयलाई पनि उत्तिकै चासोपूर्वक हेरिएको छ । धेरै जनसंख्या भएका यी ६ महानगरपालिकालाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।

६ महानगरपालिकामध्ये गत निर्वाचनमा काठमाडौं र पोखरा एमालेले जितेको थियो । ललितपुर र विराटनगरमा कांग्रेसले जितेको थियाे । भरतपुर माओवादीले जित्दा वीरगञ्ज तत्कालीन संघीय समाजवादी फाेरमले जितेको थियो ।

यसपटक सत्ता गठबन्धनमा आवद्ध दल कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर चुनाव लड्दैछन् । प्रतिपक्षी एमालेलाई हराउने नीति स्वरुप उनीहरूले मिलेर चुनाव लड्न लागेका हुन् ।

६ वटा महानगरपालिकामा केन्द्रले नै उम्मेदवार उठाउने तयारी उनीहरूको छ । यस्तोमा ६ महानगरपालिकामध्ये कांग्रेसले तीनवटा, माओवादी, नेकपा एस र जसपालाई एकएकवटा महानगरपालिका लिने राजनीतिक सहमित भएको बुझिएको छ ।

जसमा कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिने बुझिएको छ ।

माओवादीले पहिले कांग्रेसकै बलमा जितेको चितवनको भरतपुर महानगरपालिका रोजेको छ । माओवादी अध्यक्ष प्रचण्डको चुनावी क्षेत्रसमेत रहेकोले माओवादीले भरतपुरलाई यसपटक पनि प्रतिष्ठाको बनाएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिकामा उपेन्द्र यादव नेतृत्वको जसपाको दाबी छ । कास्कीको पोखरामा माधव नेपालको नेकपा एसलाई दिने तयारी भएको बुझिएको छ । तर एमालेले धेरै पकड भएको पोखराभन्दा काठमाडौं वा ललितपुरमध्ये एकमा नेपालले दाबी गरेको कांग्रेस स्रोत बताउँछ । तर कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर कुनै पनि नछोड्ने भएकाे छ । तालमेल कसरी गर्ने भन्ने विषयमा सत्ता गठबन्धन दल संवादमा बसिरहेका छन् ।

भरतपुरमा माओवादीलाई जित्न कठिन

कांग्रेसका एक प्रभावशाली नेता भरतपुरमा टिकट पाए पनि माओवादीलाई जित्न कठिन भएको बताउँछन् । ‘अघिल्लोपटक भरतपुरमा भएको तमाशा जोसुकैलाई पनि थाहा छ ।

भरतपुरमा माओवादीले आफ्नै बलले जित्ने होइन कांग्रेसले भोट हालेर जिताउने हो’ कांग्रेसका ती नेता भन्छन्, ‘लगातार दोस्रोपटक पनि कांग्रेसहरू माओवादीलाई जिताउने पक्षमा छैनन् । केहीगरी माओवादीले उम्मेदवार बनाए भरतपुरमा हार्ने निश्चित छ ।’

यस्तो जोखिममा उठ्नुभन्दा माओवादीले उपमेयर र वडा अध्यक्षमा दाबेदारी गर्दा व्यवहारिक हुने ती नेता बताउँछन् ।

‘भरतपुर माओवादीलाई छोड्न हुँदैन भनेर दिनहुँ नेताहरू केन्द्रीय नेताको दैलोमा पुगेका छन्’ ती नेता भन्छन्, ‘माओवादीलाई फेरि पनि टिकट दिए यो पटक भोट नहाल्ने धेरैको मनस्थिति छ । यस्तोमा माओवादीले नभई हुँदैन भन्नुभन्दा उपमेयर र वडा अध्यक्षमा जितेर आफूलाई र गठबन्धनलाई बलियो बनाउन लाग्दा हुन्छ ।’