NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
स्थानीय तह निर्वाचन विशेष

उदाहरणीय एउटा विकट गाउँपालिका, जहाँ विद्यार्थीले स्कुल जाँदा पैसा पाउँछन्

काठमाडौं । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ विकट छ । यो जिल्लामा यातायात सहज छैन । तर, मुस्ताङकै एउटा गाउँपालिका भने कार्यसम्पादनमा अब्बल ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा मुस्ताङको लो घेकर–दामोदरकुण्ड गाउँपालिका देशभरमै उत्कृष्ट दोस्रो स्थानमा परेको छ । सय पूर्णांकमा यो गाउँपालिकाले ७७ दशमलव ११ अंक पाएको छ । पहिले दलोमे गाउँपालिका रहेकोमा पछि नाम परिवर्तन गरेर लो घेकर–दामोदरकुण्ड बनाइएको हो । गत चुनावमा यो गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार लोप्साङ छोम्पेल विष्टले जितेका थिए । उपाध्यक्षमा एमालेकी ढोका गुरुङ निर्वाचित भएकी थिइन् । सञ्चार, सडक र बिजुलीजस्ता पूर्वाधारमा पछि रहेको यो गाउँपालिकाले गत पाँच वर्षमा भने उल्लेख्य काम गरेको छ । त्यही कामकै कारण यो गाउँपालिका उत्कृष्ट बनेको हो ।

गाउँपालिकाको काम

यो पालिकाको मुख्य प्राथमिकतामा सडक, कृषि, पशुपालन, सञ्चार परेको छ । सबै वडामा पुग्न सडकको ट्र्याक खोलिएको छ । कालोपत्रे सडक जिल्लामा निकै कम छ । सदरमुकाम जोमसोमदेखि चार घण्टा कच्ची बाटोको यात्रापछि पुगिने यो गाउँपालिकाको हरेक वडा सडक सञ्जालमा जोडिएको छ । सातवटा पुल र हरेक वडाको कार्यालय स्थानीय मौलिक शैलीमा निर्माण गरिएको छ । विद्युतीकरणमा पनि सफलता मिलेको छ । गाउँका लगभग हरेक घरमा बिजुली पुगेको छ । स्वास्थ्य उपचारको समस्या रहेको गाउँमा बेलाबेलामा शिविर सञ्चालन गरेर सेवा दिने गरिएको छ । यसबाहेक गाउँपालिकाका हरेक काम–कारबाही नागरिकले थाहा पाउने गरी व्यवस्था मिलाइएको छ । यसले सुशासनको अवस्थामा सुधार आएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा मुस्ताङको लो घेकर–दामोदरकुण्ड गाउँपालिका देशभरमै उत्कृष्ट दोस्रो स्थानमा परेको छ । सय पूर्णांकमा यो गाउँपालिकाले ७७ दशमलव ११ अंक पाएको छ

शैक्षिक सुधारका लागि नयाँ अभियान

शैक्षिक क्षेत्रको विकासका लागि एक विद्यार्थी एक खाता अभियान चलाइएको छ । हिमाली भेगमा बालबालिका पढ्न नमान्ने, स्कुल गएका विद्यार्थी पनि उच्च शिक्षासम्म नपुग्ने समस्या छ । यसको मुख्य कारण हो गरिबी । स्कुल पढ्दा–पढ्दै अभिभावकले व्यापार व्यवसायमा लगाउने प्रवृत्ति छ । त्यसको न्यूनीकरण गर्दै बालबालिकालाई विद्यालयमा टिकाउन गाउँपालिकाले नौलो उपाय निकालेको छ । प्रत्येक बालबालिकाको बैंक खाता खोलेर गाउँपालिकाले मासिक दुई सय ५० रुपैयाँ बचत गरिदिन्छ ।

खातामा अभिभावक र बैंकले पनि केही रकम सहयोग गर्छन् । यो रकम निकाल्न वालिग हुनुपर्छ । १८ वर्ष पुगेपछि बैंकले चेक दिन्छ र रकम निकाल्न पाइन्छ । यो अभियानले विद्यार्थी र अभिभावकमा स्कुल गयो भने पैसा पाइन्छ भन्ने परेको छ । पछि कलेज पढ्दा पनि विद्यार्थीलाई यसले सहज हुने विश्वास गाउँपालिकाको छ ।

पूरा नभएका प्रतिबद्धता

यातायात व्यवस्थापन तथा सडक सञ्जालको स्तरोन्नति हुन सकेको छैन । गाउँपालिकाका सबै सडक कालोपत्रे बनाउने प्रतिबद्धता जनाए पनि अधिकांश धुलाम्मे छन् । ट्र्याक खुलेका सडकमा पनि सवारी चल्दैनन् । स्वास्थ्य क्षेत्रमा पनि समस्या छ । सुविधासम्पन्न अस्पताल नहुँदा स्थानीयलाई उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ । कृषिमा आधुनिकीकरणको योजना बने पनि कार्यान्वयन भएको छैन । गाउँमा रोजगारीको अवसर छैन । त्यसैले युवा रोजगारीका लागि सहरी क्षेत्रमा जान बाध्य छन् ।

नागरिकको नजरमा जनप्रतिनिधिको काम

स्कुल पढ्दा–पढ्दै अभिभावकले व्यापार व्यवसायमा लगाउने प्रवृत्ति छ । त्यसको न्यूनीकरण गर्दै बालबालिकालाई विद्यालयमा टिकाउन गाउँपालिकाले नौलो उपाय निकालेको छ । प्रत्येक बालबालिकाको बैंक खाता खोलेर गाउँपालिकाले मासिक दुई सय ५० रुपैयाँ बचत गरिदिन्छ

जनप्रतिनिधिले पाँच वर्षमा गरेका कामलाई गाउँपालिकाका नागरिकले सकारात्मक रूपमा हेरेका छन् । उनीहरू घरदैलोमा सरकारी सुविधा पाउदा निकै खुसी छन् । स्थानीय जनसमुदायको सहयोगकै कारण कार्यसम्पादन मूल्यांकनमा दोस्रो हुने मौका मिलेको जनप्रतिनिधि बताउँछन् । मेयर र उपमेयरबीचको सम्बन्ध पनि राम्रो छ । हालसम्म यी दुईबीच कामलाई लिएर कुनै विवाद भएको छैन । तर अध्यक्ष र उपाध्यक्षमाथि गाउँमा कम बस्ने गरेको आरोप लाग्ने गरेको छ ।

बजेटको प्राथमिकता

गाउँपालिकाको बजेट २५ करोड हाराहारीमा छ । त्यसमध्ये आधाभन्दा केही बढी विकास निर्माणमा खर्च हुने गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माण, पशुपालन र पर्यटनमा बजेटको प्राथमिकता देखिन्छ । गाउँपालिकाको राजस्वको मुख्य स्रोत कार्यालयको दस्तुर हो । पशुपालन, कृषि, पर्यटन कर, खानीढुंगाबाट पनि राजस्व उठ्ने गरेको छ ।

मेयर–उपमेयर सन्तुष्ट

लोप्साङ छोम्पेल विष्ट, अध्यक्ष : मेरो काममा अति नै सन्तुष्ट छु । लामो समयपछि जनप्रतिनिधि आएकाले बाटो कोर्ने काम भएको छ । काममा नागरिकको पनि निकै सहयोग रह्यो । केही समय सिकाइमा नै गयो । एक विद्यार्थी एक खाता अभियान सबैभन्दा मन पराइएको काम हो । हामीले गाउँपालिकाको हरेक घरमा बिजुली पुर्‍याएका छौँ । सडक पुर्‍याएका छौँ । विकास निर्माणमा पछाडि परेको यो गाउँमा अहिले सम्भावनाको ढोका खुलेको छ । आपसी सम्बन्ध, उचित व्यवस्थापन, कडा मिहिनेत र इमानदारिता भयो भने काम गर्न सकिने रहेछ । सुरुमा कर्मचारी पनि थिएनन् । काम गर्ने ठाउँ नै थिएन । सुरुमा एउटा सचिवले पाँचवटा वडा चलाउने बाध्यता थियो । पछिल्लो दुई वर्षदेखि सजिलो छ । गाउँपालिकामा प्रतिपक्ष भन्ने नै कोही भएन । सबैले सहयोग गरे ।

ढोका गुरुङ, उपाध्यक्ष : मेरो अनुभवमा धेरै काम गरेका छौँ । स्थानीय स्वास्थ्य सेवादेखि महिना–महिनामा निःशुल्क शिविर सञ्चालन गर्ने गरेका छौँ । राजनीतिमा लागेर पहिलेदेखि नै काम गरेको भएर होला जनप्रतिनिधि हुँदा धेरै कुरा सिक्ने अवसर पनि प्राप्त भएको छ । कामप्रति निकै खुसी छु ।

विपक्षीको नजरमा गाउँपालिकाको काम

तेन्जिङ गुरुङ, कांग्रेस नेता– स्वतन्त्र अध्यक्षका रूपमा जित्नुभएको हो । त्यसैले पनि हामीलाई सहयोग गर्न सहज भयो । उहाँ विकासप्रेमी भएकाले पनि केही राम्रा कामको सुरुवात भएको छ । अझै धेरै गर्न बाँकी छ । तर अहिलेसम्मको काम हेर्दा सकारात्मक रूपमै लिनुपर्छ ।