NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब

तीन वटामा एमालेले जित्न चमत्कार हुनुपर्ने

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा यतिखेर धेरैको ध्यान खिचिएको छ । यसमा पनि देशका ६ वटा महानगरपालिकामा कुन दलबाट को उम्मेदवार बन्छन् र कसले जित्छन् भन्नेमा उत्तिकै चासो छ । मुख्य सहरी क्षेत्र, प्रतिनिधिसभाका धेरै निर्वाचन क्षेत्र पर्ने भएकोले अर्को चुनावको आधारक्षेत्रसमेत हुँदा महानगरको प्रतिस्पर्धालाई निक्कै महत्वका साथ हेरिएको छ ।

२०७४ सालमा ६ मध्ये एमालेले काठमाडौं र पोखरा महानगरपालिका जितेको छ । कांग्रेसले ललितपुर र विराटनगर जितेको थियो । माओवादीलेले भरतपुर र तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा)ले पर्साको वीरगञ्ज महानगरपालिका जितेको थियो ।
यसपटक एमालेलाई हराउन कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएरै चुनावी तालमेलको नीति लिएका छन् । सोमबारमात्रै संयुक्त विज्ञप्ति जारी गर्दै देश र ठाउँअनुसार चुनावी तालमेल गरी गठबन्धनका नेतालाई जिताउन अपिल गरेका छन् ।

कतिपय ठाउँमा तालमेल गर्दा एक अर्को दललाई अस्वीकार गर्ने क्रम देखिएपछि सत्तारुढ दलका शीर्ष नेताले हस्ताक्षर गर्दै अपिल जारी गरेका हुन् ।

तर गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा ६ मध्ये तीन महानगरपालिकामा गठबन्धनका पाँचवटै दल मिल्दा पनि एमालेलाई हराउन कठिन देखिएको छ । यस्तो कठिन हुनसक्ने महानगरपालिकामा कास्कीको पोखरा, काठमाडौं, चितवनको भरतपुर छन् ।
यी तीन महानगरमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग एकल भिड्दा एमालेले जित निकाल्न सक्ने देखिएको छ । काठमाडौं र पोखरामा एमालेलाई गठबन्धन एकातिर उभिँदा पनि सहज देखिएको छ । भरतपुरमा कांग्रेस र माओवादीको टसलको फाइदा एमालेले उठाउने देखिन्छ ।

काठमाडौं र पोखरामा एमालेलाई गठबन्धन एकातिर उभिँदा पनि सहज देखिएको छ । भरतपुरमा कांग्रेस र माओवादीको टसलको फाइदा एमालेले उठाउने देखिन्छ ।

तीन वटामा एमालेलाई गठबन्धनविरुद्ध मुस्किल

गठबन्धन मिल्दा तीनवटा महानगरपालिकामा पनि सहजै हुने एमालेका निम्ति तीन महानगरपालिकामा जित्न भने चमत्कार नै हुनुपर्ने देखिएको छ । मुख्यगरी, पर्साको वीरगञ्ज, मोरङको विराटनगरमा एमालेले चमत्कार भएमात्रै जित्ने अघिल्लो चुनावको मतपरिणामले देखाउँछ । ललितपुरमा पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच सौहाद्रपूर्ण गठबन्धन भए एमालेलाई परास्त गर्न कठिन देखिँदैन ।

तर अघिल्लोपटक कांग्रेसका चिरिबाबु महर्जनसँग एमालेका हरिकृष्ण व्यञ्जनकार ३२६ मतको साँघुरो अन्तरले पराजित भएका थिए । अघिल्लोपटक माओवादीले उम्मेदवारी दिँदा साढे १० हजार भोट ल्याएको थियो । यो भोट गठबन्धनसँग मिसिए एमालेले जित्ने सम्भावना ललितपुरमा कम देखिएको छ ।

वीरगञ्ज र विराटनगरमा यसअघि क्षेत्रीय दलका रूपमा रहेका उपेन्द्र यादवको पार्टी, विजयकुमार गच्छदारको ठूलो प्रभाव गत चुनावमा थियो । अहिले पनि यी दुई नेताको प्रभाव वीरगञ्ज र विराटनगरमा धेरै छ । गच्छदार कांग्रेसमा विलय भइसकेका छन् । उपेन्द्र जनता समाजवादीमा छन् । कांग्रेस र माओवादीसँग मिलेर अघि बढ्दा यी दुई महानगरमा एमालेले जित्ने सम्भावना न्यून देखिन्छ ।

काठमाडौं महानगरपालिका : माधव नेपालको पार्टीले झण्डै ६ हजार भोट नल्याए फेरि एमाले नै विजयी हुने

एमाले ६४९१३
कांग्रेस ४५२६९
मत अन्तर १९६४४
माओवादी ७९०६
नयाँ शक्ति ६०५०
विवेकशील २३४३९
स्वतन्त्र १८९२०

काठमाडौंमा गत चुनावमा अध्यक्षमा जितेका विद्यासुन्दरले पाएको ६४ हजार ९ सय १३ मत राप्रपासहितको हो । तर पनि शाक्य १९ हजार ६ सय ४४ मत अन्तरले विजयी भएका थिए । अबको चुनावमा कांग्रेसलाई माओवादी र जसपाले उम्मेदवारी नदिई सहयोग गरे अघिल्लोपटक कांग्रेसका जोशीले पाएको मतमा १३ हजार ९ सय ५६ मत थपिनेछ । यति मत थपिँदा पनि कांग्रेसलाई जित्न अझै ५ हजार ६ सय ८८ मत पुग्दैन । एमाले विभाजन भएर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले ५ हजार ६ सय ८९ मत नकाटे एमाले फेरि पनि काठमाडौंमा विजयी हुनेछ ।

ललितपुर महानगरपालिका : सत्ता गठबन्धन मिल्दा एमालेलाई कठिन

कांग्रेस २४६४२
एमाले २४३१६
मतअन्तर ३२६
स्वतन्त्र १३६६३
माओवादी १०६६१
नयाँ शक्ति ७२९

ललितपुर महानगरपालिकामा ०७४ सालमा कांग्रेसले जम्मा ३२७ मत अन्तरले जितेको थियो । कांग्रेसले चिरिबाबु महर्जनले २४६४२ मत ल्याएका थिए । थोरै मतले पराजित भएका एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४३१६ मत ल्याएका थिए । योपटक सत्ता गठबन्धनमा आवद्ध माओवादी र नयाँ शक्ति (अहिले जसपा)ले यस अघि पाएको मत जोड्दा एमालेलाई सहजै गठबन्धनले हराउने देखिएको छ । गठबन्धनले ३६ हजार ८२ मत पहिलेको अवस्था अनुसार ल्याउने छ । स्वतन्त्रबाट १३ हजार ६६३ मत ल्याएको ललितपुरमा एमालेलाई योपटक सत्ता गठबन्धन मिल्दा जित्न कठिन देखिएको छ ।

पोखरा महानगरपालिका : एमालेको एकलौटी, वर्चस्व गठबन्धनका सबै दल मिले पनि हराउन कठिन

एमाले ६०११८
कांग्रेस ४६४१६
मतअन्तर १३७०२
संघीय समाजवादी फोरम नेपाल ३१७०
राप्रपा २२७२

पोखरा महानगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले भारी मत ल्याएर कांग्रेस उम्मेदवारलाई पराजित गरेको थियो । एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका रामजी कुँवरले ४६४१६ मत ल्याएका थिए ।
यहाँ मतान्तर मात्रै १३ हजार ७०२ थियो । पोखरामा माओवादीले प्रमुखमा उम्मेदवारी दिएको थिएन । अहिलेको सत्तारुढ दल संघीय समाजवादी फोरमले ३ हजार १७० मत ल्याएको थियो । राप्रपाले २२७२ मत ल्याएको थियो । माओवादीले उपमेयरमा भने ८७९६ मत ल्याएको थियो । कांग्रेसलाई जित्ने गरी १३ हजार मत बटुल्न समाजवादीको ३ हजार मतले पुग्ने छैन । माओवादीले उपमेयरमा पाएको झण्डै ९ हजार हाराहारी मत सत्ता गठबन्धनलाई खसे पनि एमालेलाई हराउन कठिन देखिएको छ । सत्ता गठबन्धनका तर्फबाट पोखरामा एकीकृत समाजवादीले टिकट पाउने सम्भावना बढी छ ।

वीरगञ्ज महानगरपालिका : सत्ता गठबन्धनविरुद्ध जित्न एमालेले चमत्कार नै गर्नुपर्ने

संघीय समाजवादी फोरम नेपाल १९३९३
कांग्रेस १७१९७
मतान्तर २१९६
राजपा नेपाल १२१६५
नेपाल लोकतान्त्रिक फोरम ८७०१
एमाले ८६६८

गत निर्वाचनमा पर्सा वीरगञ्जको मेयर संघीय समाजवादीले जितेको थियो । समाजवादीका विजयकुमार सरावगीले १९ हजार ३९३ मत ल्याएका थिए । कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७ मत ल्याएका थिए । मत अन्तर २ हजार १९६ थियो ।

तर यसपटक वीरगञ्जको अवस्था फेरिएको छ । संघीय समाजवादी जसपा बनेको छ । तर मेयर जित्ने सरावगी केही समय अघि मात्रै एमाले प्रवेश गरेका छन् । समाजवादी सत्तारुढ दलमा छ । यस्तोमा सत्ता गठबन्धनको उम्मेदवार नै बलियो बन्ने देखिएको छ । वीरगञ्जमा एमाले गत स्थानीय तहको निर्वाचनमा कमजोर देखिएको थियो । एमाले अध्यक्षका उम्मेदवारले ८ हजार ६६८ मत मात्रै ल्याएका थिए । एमाले प्रवेश गरेका सरावागीले अघिल्लोपटक पाएको आधा भोट एमालेतिर लगे पनि सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्न एमालेलाई कठिन देखिएको छ । अघिल्लोपटकको भोटिङ ट्रेण्डलाई नै हेर्ने हो भने एमालेले वीरगञ्जमा जित्न चमत्कार नै हुनुपर्ने देखिएको छ । किनकि, कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादीसहितका दल एकातिर हुँदा एमालेको लागि वीरगञ्जमा जित्न असाध्यै कठिन देखिएको हो ।

भरतपुर महानगरपालिका : चितवनमा सत्ता गठबन्धनको तनावले एमालेलाई सहज

माओवादी केन्द्र ४३१२७
एमाले ४२९२४
मतान्तर २०३
राप्रपा ६८४२
संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च ४१५

भरतपुर महानगरपालिकामा गत स्थानीय तह निर्वाचनमा माओवादीले जितेको थियो । कांग्रेससँग मेयरमा तालमेल गरेको माओवादीबाट रेनु दाहाल विजयी भएकी थिइन् । तर मतान्तर २०३ मात्रै थियो । दाहाल ४३ हजार १२७ मतले विजयी हुँदा एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । राप्रपाले ६ हजार ८४२ मत ल्याएको थियो । भरतपुरमा एमाले र राप्रपा मिले अबको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनलाई अप्ठ्यारो पर्ने देखिएको छ । एमाले र राप्रपाको मत जोड्दा ५० हजार हुने देखिन्छ ।

कांग्रेसले मेयरमा माओवादीकी रेनुलाई सहयोग गरेर उपमेयरमा पार्वती शाह ठकुरीलाई उठाएको थियो । मेयरमा रेनुले ४३ हजार भोट ल्याउँदा ठकुरी ४७१९७ मत ल्याएर विजयी भएकी थिइन् । मेयर र उपमेयरमा फरक–फरक दलका उम्मेदवारले पाएको मतको यो भिन्नताले पनि गठबन्धन गरे पनि भोट क्रस हुन्छ भन्ने देखाएको छ । चितवनमा यसपटक पनि माओवादीलाई मेयर दिनुहुँदैन भन्नेमा कांग्रेस जिल्ला कार्यसमितिले दबाव दिँदै आएको छ । तर सत्ता गठबन्धन दलबीच तालमेलमा भरतपुर माओवादीले नै पाउने सम्भावना देखिन्छ ।

६ महानगरपालिकामध्ये तीनवटा कांग्रेसलाई माओवादी, एकीकृत समाजवादी र जसपालाई एकएकवटा महानगरपालिका दिने बुझिएको छ । यस्तोमा माओवादीको रोजाइ भरतपुर नै हुने देखिन्छ । फेरि पनि माओवादीलाई टिकट दिए मेयरमा कांग्रेसले नै माओवादी उम्मेदवारलाई हराउने जोखिम देखिएको छ । गठबन्धनमा तनावपूर्ण स्थिति आएर कांग्रेसले टिकट पाए । माओवादीले नै एमालेलाई हराउने हिसाब कांग्रेसका एक नेताले सुनाए ।

‘अघिल्लोपटक नै असन्तुष्टिकाबीच माओवादीलाई बोकेरै कांग्रेसले जितायो । योपटक रेनु यादवलाई उठाएर जिताउन कांग्रेसहरू तयार छैनन्’ कांग्रेसका एक नेता भन्छन्, ‘माओवादी उठे कांग्रेसले भोट नदिने, कांग्रेस उठे माओवादीको भोट नपाउने जोखिम देखिन्छ । यसमा एमालेले फाइदा उठाउन सक्छ ।’ ती नेता कांग्रेस र माओवादीबाट एमालेले भरतपुर खोस्नुभन्दा कांग्रेसले मेयरमा, माओवादीले उपमेयर र बहुसंख्यक वडामा जित्ने गरी उम्मेदवारी दिए व्यवहारिक हुनेछ । यस्तो हुँदा प्रतिनिधिसभाम पनि प्रचण्ड चितवनमा सुरक्षित हुने ती नेताको बुझाइ छ ।

विराटनगर महानगरपालिका : कांग्रेस, माओवादी, जसपा मिल्दा एमालेलाई कठिन

कांग्रेस २३०३१
एमाले १७३२१
मतान्तर ५७१०
संघीय समाजवादी फोरम नेपाल १४९५८
राप्रपा ५५२४

विराटनगरमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार ५७१० मतान्तरले विजयी भएका थिए । कांग्रेसका भीम पराजुली २३०३१ मत ल्याएर विजयी भएका थिए । एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत ल्याएका थिए । संघीय समाजवादी फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ मत ल्याएका थिए । अहिले कांग्रेस, माओवादी र जसपा सरकारमा छन् । गत निर्वाचनमा विराटनगरमा एमाले र लोकतान्त्रिक फोरम मिलेका थिए । माओवादी र जनअधिकार फोरम मिलेका थिए । कांग्रेसले मेयर उपमेयर दुवैमा जित्दा अनअधिकार फोरमसँग मिलेको माओवादीले उपमेयरमा ११५२४ मत ल्याएको थियो ।

एमालेसँग मिलेको लोकतान्त्रिक फोरम कांग्रेससँग मिलिसकेको छ । उपेन्द्र यादवको जसपा पनि सत्ता गठबन्धनमा छ । यस्तोमा एमालेलाई विराटनगरमा निक्कै कठिन हुने देखिएको छ । एमालेसँग मिलेर उपमेयरमा उम्मेदवारी दिँदा लोकतान्त्रिक फोरमले १० हजार मत ल्याएको थियो । राप्रपाले ५ हजार ५ सय मत ल्याएको थियो । यसपटक कांग्रेस, माओवादी, जसपासहितका दल एक ठाउँमा उभिने वातावरण बने एमालेलाई निक्कै कठिन देखिन्छ ।