NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते
स्थानीय तह निर्वाचन विशेष

विराटनगर महानगरपालिका : मेयरका लागि कांग्रेसमा ‘हेभिवेट’को दौड

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरूका चुनावी गतिविधि तीव्र भएका छन् । उम्मेदवारका आकांक्षीको दौडधुप बढेको छ । विराटनगर महानगरपालिकामा पनि मेयरका दाबेदार खुलेर आउन थालेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीलगायत दलमा उम्मेदवारीका लागि रस्साकस्सी चलिरहेको छ । एमालेले त पाँचजनाको नाम केन्द्रमा सिफारिस नै गरिसकेको छ ।

कांग्रेसका ‘हेभिवेट’को दौड

कोइराला परिवारको बिरासत भएको विराटनगर महानगर कांग्रेसको परम्परागत गढ मानिन्छ । स्थानीय चुनाव लागेपछि महानगरको मेयरमा नेताहरूले दाबेदारी पेस गर्न थालेका छन् । एमाले र जसपा विभाजित भएको फाइदा आफैँलाई हुने आकलन गरिरहेको कांग्रेसलाई आकांक्षी व्यवस्थापन पेचिलो हुने देखिएको छ ।

त्यसमाथि सत्तागठबन्धनले तालमेल गर्ने भनेपछि कांग्रेस आफ्नो जित सुनिश्चित हुने विश्वासमा छ । सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै चुनौती दिइरहेका नेता डा. शेखर कोइरालाको गृहनगरमा कोइराला पक्ष र देउवा पक्षका ‘हेभिवेट’ नेता मेयरको दौडमा छन् । उनीहरूबीच टिकटका लागि तीव्र प्रतिस्पर्धा देखिन्छ ।

पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला तहमा बलियो सांगठनिक पकड भएका आकांक्षी टिकटको दौडमा रहेकाले पनि कांग्रेसभित्रको प्रतिस्पर्धा रोचक छ । संस्थापन र कोइराला दुवै पक्षले मेयरको टिकटलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । यसकारण पनि कांग्रेसलाई उम्मेदवार छनोट गर्न सजिलो छैन ।

कांग्रेसबाट आधा दर्जनको दाबेदारी

महानगरको मेयरमा कांग्रेसबाट दाबी गर्नेमा पूर्वमन्त्रीदेखि केन्द्रीय नेतासमेत छन् । विराटनगरमा अन्य दलको तुलनामा कांग्रेस बलियो अवस्थामा रहेकाले पनि प्रमुख पदमा दाबी गर्ने नेताको संख्या बढी नै देखिएको छ । कांग्रेसबाट कस्ता–कस्ता दाबेदार छन् त, हेरौँ–

भीम पराजुली

अहिलेका मेयर भीम पराजुलीको नाम उम्मेदवारका रूपमा चर्चामा छ । उनी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । उनले यसअघिको निर्वाचनमा दुईवटा गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए । यसअघि डा. शेखर कोइराला पक्षमा रहेका पराजुली कांग्रेसको १४औँ महाधिवेशनमा स्थानीय तहको टिकटकै लागि सभापति शेरबहादुर देउवा पक्षमा लागेका थिए । देउवा पक्षबाटै केन्द्रीय सदस्य बनेका उनी ०६८ र ०७२ सालमा कांग्रेसको जिल्ला सभापति थिए ।

आफ्नो कार्यकालमा सुरु भएका योजना सम्पन्न गर्न फेरि उम्मेदवार बन्ने उनको जिकिर छ । संकटका बेला विराटनगरको मेयरमा जितेको र आफ्नो नेतृत्वमा विराटनगरमा धेरै काम भएकाले पार्टीले पुनः टिकट दिने पराजुलीको विश्वास छ ।

नागेश कोइराला

कांग्रेस मोरङका उपसभापतिसमेत रहेका नागेश कोइरालाले पनि मेयरमा आकांक्षा राखेका छन् । डा. शेखर कोइरालाका विश्वासपात्र मानिने नागेशले तरुण दल मोरङको १३ वर्ष नेतृत्व गरेका थिए । मेयरका आकांक्षी धेरै भए पनि त्यसलाई व्यवस्थापन गर्न असहज नहुने उनको दाबी छ ।

डिला संग्रौला

संस्थापन पक्षबाटै मेयरमा दाबी गर्ने अर्की केन्द्रीय नेता हुन् डिला संग्रौला । केही दिनअघिसम्म दाबेदारीबारे नखुलेकी संघीय सांसद संग्रौला अहिले खुल्न थालेकी छिन् । ‘महानगरको मेयरमा मेरो दाबेदारी रहनेछ,’ उनले भनिन्, ‘संसद्मा कानुन बनाउने काममा बढी केन्द्रित भइयो । अब आफूले देखेको विकासका सपना पूरा गर्न महानगरमा दाबी गरिरहेकी छु ।’ मुलुकमा ‘भिजनरी’ र ‘महिला नेतृत्व’को खोजी उच्च भएको बताउँदै संग्रौलाले भनिन्, ‘यी दुवै कुरामा म योग्य छु ।’

इन्दिरा कार्की

मेयरमा देखिएको आकांक्षीको भीडमा हालकी उपप्रमुख इन्दिरा कार्की पनि छिन् । कार्कीले ०७४ को निर्वाचनमा फराकिलो अन्तरको जित निकालेकी थिइन् । पार्टीको बलियो अवस्था र महिला नेता अघि सार्नुपर्ने सशक्त आवाजका कारण पनि आफूले टिकट पाउने सम्भावना बलियो रहेको उनी बताउँछिन् । ‘अघिल्लोपटक मलाई नेताहरूले उपप्रमुखमा बस्न आग्रह गर्नुभयो, मैले मानेँ,’ उनले भनिन्, ‘अब अनुभव हासिल गरेको छु । त्यसैले मेयरकै टिकट पाउनेमा आशावादी छु ।’

कांग्रेसबाट अन्य आकांक्षी

कांग्रेसबाट महानगरमा मेयरको टिकटका लागि आकांक्षी थपिँदै गएका छन् । संस्थापन पक्षमा रहेका विराटनगर नगर सभापति दीपक चापागाईं, केन्द्रीय सदस्य अमृत अर्याल, महानगरका पूर्वकार्यकारी अधिकृतसमेत रहेका गोपाल रेग्मी पनि उम्मेदवारीको होडमा देखिएका छन् ।

एमालेमा पाँचजना सिफारिस

एमाले महानगर कमिटीले मेयरको उम्मेदवारीका लागि पाँचजनाको नाम सिफारिस गरेको छ । सिफारिस भएकामा नगर अध्यक्ष सागर थापादेखि केन्द्रीय सदस्य रामलाल साहसम्म छन् । मेयरमा स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित र प्रदेशका पूर्वमन्त्री जीवन घिमिरेको समेत चर्चा चलेको थियो । तर, उनीहरू सिफारिसमा पर्न सकेनन् ।

सागर थापा

०७४ को निर्वाचनमा एमालेका विनोद ढकाल कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए । यसपटक ढकालले इच्छा देखाएनन् । त्यसैले पार्टीका नगर अध्यक्ष सागर थापालाई सहज भयो । दुईपटक महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति बनेका थापा यसपटक मेयरको टिकट पाउनेमा ढुक्कजस्तै देखिएका छन् । महानगरका १९ वटा वडामा एक सय ७४ वटा टोल कमिटी गठन गरेको बताउँदै उनले आफूले टिकट पाए जित्ने दाबी पनि गरेका छन् । थापाले कार्यकर्ता भेटघाट र घरदैलो अभियान नै सुरु गरिसकेका छन् ।

परशुराम बस्नेत

युवा नेता परशुराम बस्नेत पनि सिफारिसमा परेका छन् । उनले मेयरमा आफ्नो दाबी स्वाभाविक भएको बताएका छन् । अघिल्लो निर्वाचनमा पनि आफ्नो नाम सिफारिस भएको बताउँदै उनले यसपटक टिकट पाउने र जित्ने दाबीसमेत गरेका छन् ।

रामलाल साह

एमाले केन्द्रीय सदस्यसमेत रहेका रामलाल साह पनि सिफारिसमा परेका छन् । विराटनगरमा तराई मूलका उल्लेख्य मतदाता छन् । त्यसैले ती मत तान्न पनि साहलाई एमालेले उम्मेदवार बनाउन सक्ने कतिपयको आकलन छ । साहले विराटनगरलाई नै कार्यथलो बनाएर लामो समयदेखि राजनीति गरिरहेका छन् ।

अन्य दाबेदार

मोरङको एमाले पार्टी उपाध्यक्ष बाबुराम कार्की र प्रदेश सदस्य महेश भट्टराई पनि मेयरका लागि सिफारिसमा परेका छन् । एमालेले उपमेयरका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’को नाम सिफारिस गरेको छ । दाहाल प्रदेश सदस्य, उपाध्याय जिल्ला सदस्य र कार्की महानगरकी उपाध्यक्ष हुन् ।

माओवादीबाट को ?

माओवादी केन्द्रबाट तीनजनाको नाम मेयरका उम्मेदवारका रूपमा चर्चामा छ । नेताहरू भोगेन्द्र यादव, नवीन पौडेल र नमिता न्यौपाने मेयरको उम्मेदवारका आकांक्षी हुन् । गत स्थानीय तह चुनावमा जनता समाजवादी पार्टी र माओवादीबीच तालमेल भएको थियो । मेयरमा जसपाका उमेश यादव र उपमेयरमा माओवादीकी न्यौपाने उम्मेदवार बनेर पराजित भएका थिए । गत चुनावमा उपमेयरको उम्मेदवार भएकाले यसपटक न्यौपानेको मेयरमा दाबी छ ।

त्यतिबेला माओवादीले भोगेन्द्र यादवलाई मेयरको उम्मेदवार बनाएको थियो । जसपासँग तालमेल भएपछि अन्तिममा नाम फिर्ता गरिएको थियो । माओवादीको महानगर कमिटीका पूर्वअध्यक्ष यादव अहिले प्रदेश कमिटी सदस्य छन् । यद्यपि, कांग्रेससँग तालमेलको सम्भावना रहेकाले माओवादीमा मेयरका लागि खासै उत्साह देखिँदैन ।

जसपामा तीन लाइनको भिडन्त

मेयरको उम्मेदवार हुन जसपाबाट पाँचजनाले दाबेदारी प्रस्तुत गरेका छन् । उनीहरू पार्टीभित्रको तीन लाइनका नेता छन् । उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पनि मेयरका आकांक्षी छन् । हाल उनी जसपाको विराटनगर महानगरपालिका समितिका अध्यक्ष छन् । उनले आफू मेयरको उम्मेदवारका लागि दाबीमा रहेको बताएका छन् । नेता उमेश यादव, भूराज राई, तेजलाल कर्ण र भरत दाहालले पनि मेयरमा आकांक्षा देखाएका छन् । उमेश अध्यक्ष
उपेन्द्र यादव पक्षका हुन् । केन्द्रीय सदस्य दाहाल र कर्ण संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका हुन् ।

अशोक राई पक्षबाट भूराज राईले मेयरमा दाबी गरेका छन् । गत चुनावमा पराजित उमेश यादवले आगामी निर्वाचनमा आफूले टिकट पाउने दाबी गरेका छन् । उनले घरदैलो कार्यक्रम पनि सुरु गरेका छन् । मेयरका दाबेदार दाहाल ०५४ सालमा एमालेबाट विराटनगर– ५ को वडाध्यक्षका उम्मेदवार थिए ।

एकीकृत समाजवादीबाट रेग्मी र क्षेत्री

एकीकृत समाजवादीबाट महेश रेग्मी मेयरको उम्मेदवारका रूपमा चर्चामा छन् । उनी पार्टीको पोलिटब्युरो सदस्य हुन् । लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय रेग्मी एकीकृत समाजवादीको प्रदेश १ का सचिव पनि हुन् । एकीकृत समाजवादीबाट पारुल क्षेत्री पनि उम्मेदवारको दौडमा छन् । उनी महानगर कमिटी अध्यक्ष हुन् ।

तालमेल भए कसले के पाउला ?

पाँचदलीय गठबन्धनबीच चुनावमा तालमेल गर्ने गृहकार्य चलिरहेको छ, तर अन्तिम निर्णय भइसकेको छैन । तालमेल भएको खण्डमा विराटनगरमा कांग्रेसले मेयर पद प्राप्त गर्ने लगभग निश्चित छ । उपमेयरका लागि भने माओवादी, जसपा र एकीकृत समाजवादीले दाबी गर्न सक्छन् । यद्यपि, माओवादी र जसपामध्ये एकले उपमेयर पाउन सक्नेछ ।