NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

औषधि अभावले श्रीलंकामा मृत्युदर बढ्ने चिकित्सकको चेतावनी

कोलम्बो । श्रीलंकाका डाक्टरहरूले अस्पतालमा बिजुली कटौती र औषधिको अभावका कारण केही दिनमा धेरै मानिसहरूको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् । अहिले हृदयघातको उपचार गर्ने औषधि र नवजात शिशुहरूलाई सास फेर्न मद्दत गर्ने ट्यूबहरू देशभर अभाव छ ।

ग्रामीण श्रीलंकाका डाक्टरहरुले घाउमा टाका लगाउने र सर्पदंशको उपचार अध्यारोमा गर्न बाध्य भइरहेको पनि बताएका छन् । त्यहाँ स्थिति निकै डरलाग्दो भएको छ । अस्पतालहरूले नियमित शल्यक्रिया स्थगित गरेका छन् र प्रयोगशाला परीक्षणको संख्या पनि धेरै कमी गरेका छन् ।

मेडिकल आपूर्तिको अभावका कारण डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूलाई विरोधमा सडकमा उत्रन बाध्य पारेको छ । कतिपयले राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामाको माग गर्दै बढ्दो विरोध आन्दोलनलाई पनि समर्थन गरेका छन् ।

‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन्,’ सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा सेनल फर्नान्डोले भने । ‘अबको दुई सातामा अवस्था बिग्रन्छ र अहिले नै समस्या समाधान नभए मानिसहरु धेरै मर्छन् ।’

‘औषधि अभावका कारण कुनै पनि बिरामीको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्छ’, उनले चेतावनी दिए । सरकारले संकटको गम्भीरतालाई स्वीकार गर्न वा पारदर्शी हुन असफल भएको उनको भनाइ छ ।