NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

विराटनगर महानगर : एक्लै चुनाव जित्ने अवस्थामा रहेको कांग्रेसलाई आन्तरिक गुटबन्दीको चिन्ता

पार्टी फुटेपछि एमाले झन् कमजोर

काठमाडौं । स्थानीय तह चुनावको मिति नजिकिएसँगै विराटनगर महानगरपालिकामा पनि हारजितको आकलन सुरु भएको छ । गत चुनावको परिणाम हेर्ने हो भने यो महानगरमा कांग्रेसको सांगठनिक आधार मजबुत देखिन्छ । तर, भावी परिणामबारे आकलन गर्न सजिलो छैन ।

विराटनगरमा मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै बीचमा हुने देखिन्छ । यद्यपि, माओवादी र मधेसकेन्द्रित दलको पनि महानगरमा उल्लेख्य उपस्थिति छ । तर, कुनै पनि दलमा एकल रूपमा कांग्रेसलाई हराउने क्षमता भने देखिँदैन । कांग्रेसले सांगठनिक आधारमा गत चुनावमा विराटनगर महानगरमा वर्चस्व कायम गरेको थियो ।

०७४ को चुनावी परिणाम

०७४ को स्थानीय तह निर्वाचनमा विराटनगरमा कांग्रेसका भीम पराजुली मेयरमा निर्वाचित भए । उनले दुईवटा गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए । पराजुलीले २३ हजार ३१ मत ल्याए भने तत्कालीन फोरम लोकतान्त्रिकसँग गठबन्धन गरेको एमाले निकट प्रतिद्वन्द्वी बन्यो । एमालेका विनोद ढकालले १७ हजार तीन सय २१ मत मात्रै पाए । अर्थात् मेयरमा पराजुलीले ढकाललाई पाँच हजार सात सय १० मतले पछि पारे ।

यस्तै, माओवादीसँग गठबन्धन गरी चुनाव लडेका संघीय समाजवादी फोरमका उम्मेदवार उमेशकुमार यादवले १४ हजार नौ सय ५८ तथा राप्रपाका प्रह्लादप्रसाद साहले पाँच हजार पाँच सय २४ मत पाएका थिए । मेयरमा १४ जनाबीच प्रतिस्पर्धा भएकोमा अन्य उम्मेदवार कसैले पनि पाँच सय मत कटाउन सकेनन् ।

यस्तै, उपमेयरमा पनि कांग्रेसकै इन्दिरा कार्कीले तत्कालीन संघीय समाजवादी फोरमसँगका गठबन्धनका उम्मेदवार नमिता न्यौपानेलाई आठ हजार ६ सय २२ मतको फराकिलो अन्तरले पराजित गरिन् । कार्कीले २० हजार एक सय ४६ मत ल्याउँदा न्यौपानेले ११ हजार पाँच सय २४ मत मात्रै पाइन् । एमालेसँग गठबन्धन गरेको फोरम लोकतान्त्रिककी उम्मेदवार सूची चौधरीले १० हजार पाँच सय ३६ मत मात्रै पाइन् । राप्रपाकी शोभा श्रेष्ठको मत चार हजार एक सय दुई आयो ।

वडामा पनि एक्लै लडेको कांग्रेसले सबैभन्दा धेरै अध्यक्ष जित्यो । १९ वटा वडा रहेको विराटनगरका सात वडामा कांग्रेस, पाँच वडामा संघीय समाजवादी फोरम, तीन वडामा एमाले, दुई वडामा स्वतन्त्र र एउटा वडामा माओवादीले अध्यक्ष जिते । एउटा वडामा फोरम लोकतान्त्रिकले पनि अध्यक्ष जितेको थियो । फोरम लोकतान्त्रिक मिसिएपछि कांग्रेसको संख्या आठ पुग्यो । स्वतन्त्र रूपमा जितेका दुई वडाध्यक्ष पनि कांग्रेसकै बागी हुन् । तीमध्ये एकजना पार्टीमा फर्किसकेका छन् ।

सम्भावित समीकरण र परिणाम

सत्तारूढ पाँचदलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गरेर जाने सम्भावना देखिएको छ । त्यसो भएमा अन्य दलले विराटनगरमा आँखा नलगाए पनि हुने अवस्था छ । तर, कांग्रेस पहिलेजस्तै एक्लै चुनावमा गयो भने प्रतिस्पर्धा हुन सक्छ । यसबीचमा धेरै दलमा विभाजन आएको छ । त्यसको फाइदा पनि कांग्रेसलाई नै हुने देखिन्छ । ०७४ सालको चुनावपछि फोरम लोकतान्त्रिकसँग एकता गरेर विराटनगरमा कांग्रेस अझ मजबुत भएको छ । उसका प्रतिस्पर्धी मुख्य दल एमाले र जनता समाजवादी पार्टी विभाजित भएका छन् ।

गत चुनावको परिणाम हेर्दा यदि सत्तागठबन्धनबीच सहमति भयो भने निकै ठूलो अन्तरले चुनाव जित्ने देखिन्छ । त्यस्तो अवस्थामा आफैँमा बलियो रहेको कांग्रेसमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका मत पनि थपिनेछन् । एमालेले यसपटक राप्रपासँग तालमेल गर्ने सम्भावना छ । गत चुनावमा उसले तालमेल गरेको फोरम लोकतान्त्रिक अब कांग्रेसमा मिलिसकेको छ । राप्रपासँगको तालमेलले मात्रै एमालेलाई सुखद परिणाम दिने सम्भावना भने कम छ । विराटनगरमा एमाले विभाजनको असर पनि धेरै परेको छ । एकीकृत समाजवादीले वडा तहसम्म संगठन विस्तार गरिसकेको छ । उसले एमालेका करिब तीन हजार मत काट्न सक्ने राजनीतिक विश्लेषकको अनुमान छ । त्यसो भयो भने एमाले झन् कमजोर हुनेछ । यता सत्तारूढ दलबीच गठबन्धन हुँदा मेयर कांग्रेसले पाउने निश्चित छ । तर, एक्लै पनि जित्ने अवस्थामा रहेकाले उसले उपमेयरसमेत दाबी गर्न सक्छ । यता माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी तीनवटै दलको हैसियत उस्तै देखिन्छ । त्यसैले उपमेयरमा पनि तीनवटै दलको दाबी हुन सक्छ । पदीय बाँडफाँड मिलेन भने गठबन्धन नबन्न सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । समग्रमा विराटनगर महानगरमा गठबन्धन हुँदा पनि र नहुँदा पनि कांग्रेस निकै बलियो देखिन्छ । पार्टी विभाजनका कारण एमाले झन् कमजोर भएको छ ।

कांग्रेसमा आन्तरिक समस्या

गत चुनावको मतलाई आधार मान्ने हो भने फोरम लोकतान्त्रिक र बागी उठेका वडाध्यक्षको सहित कांग्रेस निकै बलियो छ । उसको मत २१ हजारभन्दा बढी पुगेको छ । कांग्रेसमा गत निर्वाचनको भन्दा झन्डै साढे चार हजार मत फोरम लोकतान्त्रिकबाट थप भएको छ । तपनि ऊ एक्लै जित्नेमा ढुक्क देखिँदैन । त्यसको मुख्य कारण हो आन्तरिक गुटबन्दीको समस्या । वडा तहसम्मै देउवा र कोइराला प्यानल भनेर कांग्रेस कार्यकर्ता विभाजित छन् । यदि यही अवस्था रहे दुवै एक–अर्कालाई हराउनसमेत नलाग्लान् भन्न सकिँदैन । तर, दुई पक्षबीच सुलह भयो भने अन्य दल विराटनगरमा कमजोर साबित हुन सक्छन् । अघिल्लो चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएर १९ नम्बर वडामा अध्यक्ष जितेका बद्रीनारायण सरदार पार्टीमा फर्किएका छन् । वडा नम्बर १० का अध्यक्ष माधव वाग्ले भने अहिलेसम्म स्वतन्त्र नै छन् । यसपटक कांग्रेसले सबैलाई मिलाउन सक्छ कि सक्दैन भन्ने चासो देखिन्छ ।

मतदाताको संख्या

विराटनगर महानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा १९ हजार तीन सय ८१ जना मतदाता थपिएका छन् । निर्वाचन आयोगले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअनुसार यो महानगरमा एक लाख ३३ हजार एक सय ४२ मतदाता भएका छन् । ०७४ सालको निर्वाचनमा विराटनगरमा मतदाताको संख्या एक लाख १३ हजार सात सय ६१ मात्र थियो ।

विराटनगरको चुनावी इतिहास
विराटनगरमा भएको स्थानीय तह निर्वाचनमा दुईपटक कम्युनिस्टले र दुईपटक कांग्रेसले जित निकालेका छन् । विराटनगरमा ०४३ सालमा जनपक्षीय भनेर वामपन्थी उम्मेदवार ध्रुवनारायण श्रेष्ठले चुनाव जितेका थिए । ०४८ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार अशोक कोइराला विजयी भए । तर, ०५४ सालको निर्वाचनमा एमालेका रमेशचन्द्र पौडेल विजयी भए । महानगर बनेपछि भने केही अन्य गाविस यसमा थपिए । त्यसो हुँदा कांग्रेस निकै बलियो बन्यो । ०७४ सालमा उसले त्यसकै प्रभावस्वरूप एक्लै महानगर जित्न सफल भयो ।

हारजितको मुख्य कारक के होला ?

विराटनगरमा पहाडे र मधेसी समुदायको मिश्रित बसोवास छ । राजनीतिक विश्लेषक प्रा.डा. कृष्ण पोखरेलका अनुसार विशेषगरी चुनाव जित्न पहाडीभन्दा मधेसी समुदायको भोट निर्णायक हुन सक्छ । किनकि उनीहरू विशेष दलभन्दा पनि जसले बढी चुनावमा खर्च गर्छ त्यतै जान सक्ने सम्भावना बढी छ । मधेसी समुदायको भोट तान्न सक्ने उम्मेदवार नै विराटनगरमा बलियो हुने निश्चित छ । त्यसबाहेक दलीय समीकरण हारजितको मुख्य फ्याक्टर हुने विश्लेषक पोखरेलको बुझाइ छ । उम्मेदवारको अनुहारले पनि केही हजार मत तलमाथि हुन सक्नेछन् । त्यस्तै कतिपय अवस्थामा थपिएका मतदाता पनि निर्णायक हुन सक्ने विश्लेषक बताउँछन् ।

भौगोलिक अवस्था

मोरङ जिल्लाको दक्षिण–पश्चिम सिमानामा रहेर जोगबनी नाकासँग जोडिएको यो नगर देशकै दोस्रो ठूलो सहर हो । प्रदेश १ को राजधानीसमेत रहेको विराटनगर महानगरपालिका औद्योगिक, व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा समेत परिचित छ । पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा केसलिया खोला, उत्तरमा बुढीगंगा र ग्रामथान गाउँपालिका तथा दक्षिणमा भारतको सिमानासँग जोडिएको यो नगर समतल भूभागमा फैलिएको छ । १९ वडामा विभाजन गरिएको विराटनगरमा मोरङ जिल्लाको कुल जनसंख्यामध्ये १९ दशमलव ७७ प्रतिशत मानिसको बसोवास छ ।

ताजा अपडेट

नेपालवाच विशेष