NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
अन्तर्वार्ता

कांग्रेसले समेत मलाई जिताउने आश्वासन दिएका छन् : विजय सुवेदी

बाग्मती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य विजय सुवेदीलाई भरतपुर महानगरको प्रमुखमा उम्मेदवार बनाएको छ । चैत २७ मा एमाले चितवन पार्टी कार्यालयमा उम्मेदवार घोषणा कार्यक्रममा सुवेदीलाई पोलिटब्युरो सदस्य देवीप्रसाद ज्ञवाली र एमालेका संघीय सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हुन् ।

हाल बाग्मती प्रदेश कमिटी सचिव रहेका सुवेदीसँग एमाले चितवनमा तीनपटक पार्टी नेतृत्व हाकेको अनुभव छ । गत चुनावमा कांग्रेस–माओवादी गठबन्धनविरुद्ध चुनावी मैदानमा उत्रिएका ज्ञवाली यसपटक प्रतिस्पर्धाको रिङबाट पछि हटेका छन् । सुवेदीलाई भरतपुर महानगरको भूगोलमा राम्रो छवि बनाएका नेताको रूपमा हेरिएको छ । यसपटक उनले पाँचदलीय गठबन्धनको सामना गर्दैछन् । एमालेबाट महानगरको मेयरमा प्रत्यासी सुवेदीसँग नेपालवाचका गणेश पाण्डेले उनका आगामी योजना र चुनौतिबारे कुराकानी गरेका छन् :

पार्टीले विश्वास गरेर तपाईंलाई भरतपुर महानगरपालिकाको उम्मेदवार बनाएको छ । महानगर हाँक्ने तपाईंसँग योजना के–के छन् ?

००७, ०४६ र ०६२-०६३ मा कुर्वानी गरेर हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यौं । जनताले राजनीतिक परिवर्तनपछि मुलुक स्थायित्व, विकास र समृद्धि हुन्छ, अब राजनीतिक क्रान्ति गर्नुपर्दैन बुझेका थिए । जनताको भावनालाई ०७२ को संविधानमा लिपिबद्ध भयो । तर राजनीतिक संक्रमण बाँकी नै छ । संक्रमणकालीन अवस्थामा भरतपुर महानगरपालिकाबाट आर्थिक समृद्धिका लागि एउटा नयाँ मोडेल प्रस्तुत हुनेछ । भरतपुर महानगरपालिकालाई सबै बुद्धिजीवी, समाजसेवीलगायत सबैको सहयोगमा स्वच्छ, हराभरा र वातारवणमैत्री र अन्तर्राष्ट्रिय मामदण्डको समृद्ध सहर बनाउन मेरो प्रस्ताव रहनेछ । विश्वका उत्कृष्ट सहरको मापदण्डमा भरतपुरलाई विकास गरिने छ । मानवीयदेखि सबै पक्षलाई व्यवस्थापन गरिनेछ । तीन तहको सरकारको सहयोगमा संघीय भावनालाई समेटेर जनताले अनुभूति गर्ने गरी काम गर्ने योजना छ ।

भरतपुरलाई काठमाडौं महानगर पछिको महत्वपूर्ण सहर मानिन्छ । पाँच वर्षमा तपाईं प्रतिपक्षमा रहेर सरकारको काम कारवाही हेर्नुभयो । वास्तवमा भरतपुरका समस्या के–के रहेछन् ?

०७४ भन्दा पहिले स्थानीय निकाय थियो । त्यसलाई अधिकार दिएको थिएन । अहिले हामीले तीन किसिमको सरकार बनायौं । त्यसपछि भरतपुर महानगरमा पनि सरकार बन्यो । त्यस सरकारले महानगरवासीको अपेक्षअनुसार काम गर्न सकेन । गरिबीको रेखामुनि रहेका सबै नागरिकको जिम्मा राज्यले लिनुपर्छ । व्यवस्थित बसोबास बनाउने, शान्ति सुव्यवस्था कायम गर्ने, आर्थिक विकासको गुरुयोजना बनाएर पाँच वर्ष, १० वर्ष, ५० वर्ष र १०० वर्षमा सम्पन्न गर्ने कामको योजना, रणनीति बनाउनु पथ्र्यो । तर त्यसअनुसार काम हुन सकेन । अहिले नै व्यवस्थित योजना बनाएको भए ५० वर्षपछि पनि भरतपुर महानगर ठाउँ बस्न लायक सहर बन्ने थियो । अहिले विनागुरुयोजना आ–आफ्नै हिसाबले भौतिक पूर्वाधार विकास गर्दै लगिएको छ ।

म निर्वाचित भएपछि यहाँका बौद्धिक समुदाय, देश विदेशमा रहेका विज्ञहरूलाई बोलाउनेछु । महानगर कस्तो बनाउने भन्नेबारे उहाँहरूसँग परामर्श लिनेछु, छलफल गर्नेछु

अहिलेको गतिविधिले भोलिका नागरिकलाई खुला आगमन र बासोबास भएको सहर बनाउन सकिँदैन । व्यवस्थित बस्ति भन्ने बित्तिकै पार्क, खेलकुद मैदान, शिक्षालय, पुस्तकालय, स्वास्थ्य लगायतका सबै प्रकारका सेवा सुविधा नागरिकले प्राप्त गर्ने हुनुपर्छ । सार्वजनिक स्विमिङ पूल, जेष्ठ नागरिक, बालबालिकालाई बस्ने र खेल्ने ठाउँको व्यवस्थापन गर्न सकिएको छैन । सबै नागरिकलाई रोजगारी दिनेगरी आर्थिक व्यवस्थापन, वातावरणमैत्री उद्योग, कलकारखाना, व्यवसाय सञ्चालन गर्न सकिन्छ । पानीका स्रोतलाई तालतलैयाको रूपमा विकास गर्ने, सार्वजनिक खुला जग्गामा विरुवा रोपेर हरियाली कायम राख्ने, जलाधार क्षेत्र, पानीका स्रोतहरूको संरक्षण र पर्यटकीय क्षेत्र देवघाट, राष्ट्रिय निकुञ्ज, बीसहजारी ताल र त्यसका वरिपरी रहेको पटीयानी, मेघौली ठाउँलाई पर्यटकलाई आकर्षित बनाउन पूर्वाधार निर्माण गर्न सकिन्थ्यो ।

जंगली जनावर हेर्न आउँदा पर्यटक बस्ने, हेर्ने, खेल्ने र रमाउने ठाउँ बनाउनु पर्नेछ । सबै कुराको व्यवस्थापन गर्न आवश्यक छ । मेघौलीलाई हामीले नयाँ सौराहाको रूपमा विकास गर्न सक्छौं । नारायणी र राप्तीको किनारमा धेरै काम गर्न बाँकी छ ।

गत निर्वाचनमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुँदा तपाईंको पार्टीका उम्मेदवार पराजित भए । अहिले पनि गठबन्धनसँग सामना गर्दै हुनुहुन्छ । यसमा तपाईंले जित्ने आधार के–के छन् ?

हामीले जित्ने पहिलो आधार भनेको महानगरवासीको विश्वास हो । हामीले जे काम गर्छौं, महानगरवासीको हकहितका लागि गर्छौं । यो सहरको आधुनिक विकासका लागि गर्छौं । अहिलेसम्म हामी पुरानै विकासको मोडालिटीको निरन्तरतामा छौं । पूरा नै विकासमा थपथाप गर्ने काम ग¥यौं । दुईसय मिटर सडक पिच भएकोे ठाउँमा ५० मिटर थप गर्ने, केही पूर्वाधार थप्ने, खानेपानी केही थान धारा विस्तार गर्ने काम मात्र भए ।

विकास भनेको जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम हो । सम्पूर्ण नागरिकले विकासको अनुभूति गर्न सक्नेगरी हुनुपर्छ । मेरो प्राथमिकतामा यी विषयले विशेष प्राथमिकता पाउने छ । महानगरवासीको साझा समस्याको रूपमा रहेको गाँस, बास, कपास, स्वास्थ्य उपचारमा ध्यान दिँदै आम नागरिकको जीवनस्तर माथि उकास्नेगरी हाम्रो घोषणापत्रमा समेटिने छ । गरिबीको रेखामुनि रहेका मानिसहरूलाई महानगरले दायित्व लिनेछ ।

यी सबै कुराको व्यवस्थापन गर्ने काममा हामी लागि परेका छौं । भरतपुर महानगरका सबै आमाबुवा–दाजुभाइलाई हाम्रो एजेण्डाबारे राम्रोसँग थाहा छ । एमालेबाहेक अन्यले महानगर बनाउन सक्दैन भन्ने महानगरवासीको विश्वास रहेको छ । एमालेको नेतृत्वमा महानगरको भविष्य बन्ने बेला आएको छ । हाम्रो जित्ने आधार भनेकै हामीप्रति नागरिकको विश्वास हो, हामी त्यो विश्वास टुट्न दिने छैनौं ।

०७४ मा भएको निर्वाचनमा मतपत्र च्यातिएको घटनाले महानगर निकै विवादित हुन पुग्यो । यसपटक त्यो घटना दोहोरिन नदिन तपाईं कतिको सचेत हुनुहुन्छ ?

गत चुनावको घटनाक्रमबाट सबै नगरबासी सचेत हुनुहुन्छ । कलंकको टीका भरतपुरले अब सहन सक्दैन । सबै नागरिक सचेत रहेकाले अब त्यस्तो घटना घटाउन सक्दैनन् ।

यदि भरतपुर नगरवासीले तपाईंलाई मेयरमा निर्वाचित गरे भने आगामी पाँच वर्षमा भरतपुर कस्तो देख्न सक्छौं ?

म निर्वाचित भएपछि यहाँका बौद्धिक समुदाय, देश विदेशमा रहेका विज्ञहरूलाई बोलाउनेछु । महानगर कस्तो बनाउने भन्नेबारे उहाँहरूसँग परामर्श र छलफल गराउँनेछु । महानगर बनाउने मेरो भिजन प्रस्तुत गर्नेछु । कोही पनि मानिस भोकले मर्ने अवस्था आउने छैन । कोही नाङ्गो बस्नुपर्ने छैन । नगरवासीको मुहारमा खुशीयाली आउनेछ । एकले अर्कालाई मद्दत र सम्मान गर्ने वातावरण बन्नेछ । कोही मानिस बेरोगारी बस्न पर्ने छैन । यसका लागि योजना र नीति बनाउनेछु । गुरुयोजना र रणनीतिहरू बनाउन प्रस्ताव गर्नेछु । विशेषज्ञता हासिल गरेका विज्ञहरूको सहयोगबाट हामीले गुरुयोजना बनाउँछौं । त्यसका आधारमा एक वर्ष, पाँच वर्ष, २० वर्ष वा त्यसभन्दा माथिको गुरुयोजना तयार गर्छौं ।

सबै राजनीतिक दलहरूको विकास र समृद्धिको अपनत्व लिने वातावरण बन्नेछ । भतरपुरवासीले कल्पना गरेको सुन्दर, शान्त र वातावरणमैत्री सहर बनाउँछौं । कुनै राजनीतिक दलहरूसँग पूर्वाग्रही हुँदैनौं । पाँच वर्षपछि भरतपुर महानगर स्वच्छ, सफा र हरियाली हुनेछ । मानवीयताको सहर हुनेछ । यहाँ कसैले बेसाहरा, एक्लो हमशुस गर्ने खालको हुने छैन । सबैसँग सहयोगी भूमिका र आपसी भाइचारा सम्बन्ध कायम रहेको सहरमा विकास गर्नेछौं । सबै नागरिकले कुनै न कुनै रोजगारी गरेको, आर्थिक उत्पादनसँग जोड्न र वातावरण संरक्षणमा हाम्रो ध्यान जानेछ । यही आधारमा भौतिक पूर्वाधार विकास हुनेछ ।

संसारकै समृद्ध सहरको रूपमा परिकल्पना गरेर भरतपुरलाई व्यवस्थित सहर बनाउँनेछौं । विश्वकै उत्कृष्ट सहरको नजिक हामी पुग्नेछौं । भारतपुरवासीले मात्र नभइ देश–विदेशमा बस्ने सबैलाई व्यवस्थित सहरको अनुभूत हुनेगरी काम हुनेछ । भरतपुरबाट अन्यले अनुशरण गर्ने गरी हामी काम गर्नेछौं । पाँच वर्षमा भरतपुर महानगरलाई हामीले तारिफ र सम्मान गर्ने योग्य सहर बनाउँछौं ।

गठबन्धनविरुद्ध राप्रपासँग सहकार्य गर्नुहुन्छ कि एक्लै चुनावी मैदानमा भिड्नुहुन्छ ?

यसमा अहिलेसम्म केही कुरा भएको छैन । आवश्यकताअनुसार पछि निर्णय हुन सक्छ । अहिले हामी एक्लै गठबन्धनविरूद्ध भिड्ने छौं । मलाई पार्टीले उम्मेदवारका लागि अगाडि सारेपछि कांग्रेसलगायत सबै राजनीतिक दलहरूले मलाई सहयोग गर्ने आश्वासन दिनुभएको छ । यो महानगर एमालेको मात्र होइन, हामी सबैको हो । हामीहरू सबैको उम्मेदवार तपाईं हो हामी सहयोग गर्छौं भनेका छन् ।

महानगर प्रमुखमा म निर्वाचित भएपछि मेरो निष्पक्ष सकृयता हुनेछ । सबै नागरिकको भलाइका लागि काम गर्नेछु । पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ । म निर्वाचित भएपछि फरक विचार राख्ने सबैलाई सम्मान गर्नेछु । आफ्नो पार्टी र वरिपरिकालाई पोस्ने काम मबाट हुँदैन । सबै नागरिकका समान हिसाबले काम र पहुँच हुनेछ ।