NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
विचार

कांग्रेसमा टिकटको राजनीति

स्थानीय तहको निर्वाचन अब हुन्छ नै । संवैधानिक र राजनीतिक रूपमा पनि अब यो टर्नेवाला छैन । निर्वाचन हुने निश्चित भइसकेपछि राजनीतिक दलहरूभित्र टिकटको महत्त्वाकांक्षा राख्नेहरू जुर्मुराएका छन् । नेपाली कांग्रेस सत्रारुढ दल भएको हुनाले उसका दुईवटा प्राथमिकता हुन्छन् ।

एउटा, मुलुकभरि निर्वाचनका लागि स्वस्थ प्रतिस्पर्धी वातावरण बनाउने । दोस्रो स्वयं आूफूभित्र सुयोग्य व्यक्तिलाई टिकट दिनु । निर्वाचनको वातावरण बनाउन सत्तारुढ दल भएको नाताले निर्वाचन आयोगले आत्मसात् गरेको अभिष्टलाई सहयोग पुर्‍याउने हो । त्यो भनेको मुलुकको प्रमुख राजनीतिक दलको हैसियतले निर्वाचन आचारसंहिताको पालना स्वयं गर्ने र अन्य पक्षलाई पनि पालन गर्न अभिप्रेरित गर्न लगाउने हो । सरकारको नेतृत्व गरेको दल भएको हुनाले उसले स्वयं निर्वाचन आचारसंहिता पालन गर्‍यो भने अरू पनि त्यसको पालना गर्न हौसिन्छन् । जतिसुकै कमजोरी भए पनि कांग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रको प्रश्नमा यो पार्टी अहिलेसम्म पछि हटेको छैन ।

व्यक्तिगत महात्त्वाकांक्षा पालेर राजनीतिको चुरो समाउन खोज्नेहरूकै कारण नेपाली कांग्रेस कतिपय अवस्थामा अन्तरविग्रहबाट पीडित भएको छ

नेपाली कांग्रेसको नेतृत्वको सरकारले जब–जब निर्वाचन गराएको छ, त्यो निर्वाचन विवादरहित भएको छ । अरू दलहरूले पनि पत्याएका छन् । अन्तर्राष्ट्रिय समुदायले वैधता दिएको छ । नेपाली कांग्रेसका प्रधानमन्त्री स्वयं चुनाव हारेका छन् र कहिले स्वयं नेपाली कांग्रेस नै हारेको छ । यसरी नेपाली कांग्रेसद्वारा गरिने निर्वाचन राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा स्वीकार भएको छ । यस्तो निर्वाचनले राजनीतिलाई गति दिएको छ र नेपाली जनताको लोकतान्त्रिक अभ्यास अब्बल हँुदै गएको छ । नेपाली कांग्रेस केवल लोकतन्त्रलाई हेर्छ । उसको लोकतन्त्रभित्र राष्ट्र र जनता दुवै पर्छ । नेपाली कांग्रेस विश्वास गर्छ कि लोकतन्त्रले नै राष्ट्रको स्वाधीनताको रक्षा गर्नसक्छ । भर्खरै सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग नेपालसँगको सीमा विवादबारे खुलेर आफ्ना कुरा राख्नुभयो । नेपाली कांग्रेस आफ्नै मुलुकभित्रका जनतालाई विश्वास गर्छ । यसको गरिमा र महिमालाई मान्यता दिन खोज्छ । उसले आफ्नै जनतालाई कहिले आँप झर्‍यो, कहिले बेल झर्‍यो भनेर अपमानजनक विम्ब प्रयोग गर्दैन । नेपाली कांग्रेस घृणाको राजनीति गर्दैन । निषेधको राजनीतिमाथि उसलाई विश्वास छैन । स्थापनाकालदेखि नै नेपाली कांग्रेस व्यवहारमा समावेशी संगठन भएर बाँचेको छ । नेपाली कांग्रेस भू–राजनीतिक द्वन्द्वलाई एकअर्काविरुद्धको तुरूप बनाउँदैन । बीपी कोइराला कुनै अन्तर्राष्ट्रिय शक्तिका सामु लम्पसार परेनन् । न त वर्तमान प्रधानमन्त्रीले नै नेपालसँग सरोकार राख्ने कुनै अन्तर्राष्ट्रिय शक्ति राष्ट्रलाई चिढ्याउने काम गरेका छन् । नेपाली कांग्रेस चीनविरुद्ध भारत र भारतविरुद्ध चीनको आत्मघाती खेलमा लाग्दैन । शेरबहादुर देउवाको अत्यन्त सुझबुझ एवं दूरदर्शी कुटनीतिक अभ्यासले गर्दा नेपालको विश्वसनीयता अन्तर्राष्ट्रिय जगतमा बढ्दैछ । अर्थात् नेपाली कांग्रेस नै एउटा यस्तो दल हो जो आफूलाई मृत्युको मुखमा पारेर पनि राष्ट्रको अस्तित्त्व जोगाउनु आफ्नो युगधर्म ठान्दछ । दुनियाँमा कही कतै पनि सामान्य अवस्थामा निर्वाचन गराउने सरकार प्रमुख वा दल हार्दैन । तर त्यो साहस र त्याग नेपाली कांग्रेसमै छ ।

नेपाली कांग्रेस राजनीतिलाई गति दिन जहिले पनि आफूलाई जोखिममा राख्छ । जतिसुकै विसंगत राजनीतिक अवस्थामा पुगे पनि नेपाली कांग्रेस लोकतन्त्रका विरुद्ध सम्झौता गर्दैन, गर्न सक्दैन । कांग्रेस नै यस्तो पार्टी हो जसले अफ्नै देशका एउटा सामान्य मानिसको मानवीय सम्मान र मर्यादाको खोजीमा रहने जनतालाई त्यो सम्मान र मर्यादा स्थापित गर्छ । नेपाली कांग्रेसले आफ्नो सैद्धान्तिक निष्ठालाई जहिले पनि जोगाइराखेको छ । नेपाली कांग्रेस मौलिक चिन्तनधाराबाट कहिल्यै पनि पछाडि हटेको छैन । लोकतान्त्रिक पद्धतिका लागि स्थापित र संघर्षरत भएकै कारण राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यसको आकर्षण छ ।

अहिले नेपाली कांग्रेसले आफ्नो संगठनलाई जोगाउने हो भने स्थानीय तहमा राम्रा उम्मेदवारहरूको छनोट र अफ्ना उम्मेदवारहरू जित्ने माहोल निर्माणको काम समानान्तर रूपमा गर्नुपर्ने देखिन्छ

स्थानीय तह निर्वाचनमा गठबन्धनमा लड्ने कि एक्लै लड्ने ? यसको सहज जवाफ छ– शीर्ष नेतृत्वले स्थानीय आवश्कता र अभिलाषालाई बुझ्नुपर्छ । दोस्रो कुरा, नेपाली कांग्रेसभित्र टिकट लिने लडाइँ छ । टिकट पाएर मात्र पनि हुँदैन । कतिपय ठाँउमा बलियो जनाधार भएर पनि कांग्रेस हारेको छ । व्यक्तिगत महात्त्वाकांक्षा पालेर राजनीतिको चुरो समाउन खोज्नेहरूकै कारण नेपाली कांग्रेस कतिपय अवस्थामा अन्तरविग्रहबाट पीडित भएको छ । विचार र सिद्धान्तको द्वन्द्वले मन फाटेको भए स्वाभाविक मानिन्थ्यो र विचलन पद र प्रतिष्ठाप्रतिको लागि नै देखिएको छ ।

कम्युनिस्टहरू अनुशासनको मामिलामा अरूको तुलनामा कठोर मानिन्छन् । भित्र जस्तोसुकै विग्रह भए पनि बाहिर त्यसको सुइँकोसम्म नदिने परिपाटी कम्युनिस्टभित्र थियो तर पछिल्ला वर्षहरूमा उनीहरूमा पनि आपसमा धोती खोलाखोलको अवस्था देखियो । टिकटको अस्वस्थ राजनीतिले कांग्रेसभित्रै विचलन र खुट्टा तानातानको विसंगति छ । कतिपय महत्त्वाकांक्षी टिकटार्थीहरू आफ्नो पार्टी, समाज र देशप्रतिको दायित्व बिर्सेर असिम महत्त्वाकांक्षाको अलापभित्र पैसाको संगीत गुञ्जाउन थाल्छन् । कतिपय त आँफुले टिकट नपाए हाकाहाकी अन्तरघात गर्ने वा अर्को पार्टी छिर्ने कुरा गर्छन् । यस्ता मौकापरस्त प्रवृतिलाई चिर्ने समय हो अहिले ।

नेपाली कांग्रेसले कसरी आूफुलाई जोगाउने त्यो सोच्ने बेला हो अहिले । स्थानीय तहमा दलभित्र बसेर अझै दललाई कमजोर बनाउने घ्यू बेचुवाहरूलाई चिन्नु र चिनाउनु जरुरी छ । अहिले नेपाली कांग्रेसले आफ्नो संगठनलाई जोगाउने हो भने स्थानीय तहमा राम्रा उम्मेदवारहरूको छनौट र अफ्ना उम्मेदवारहरू जित्ने माहौल निर्माणको काम समानान्तर रूपमा गर्नुपर्ने देखिन्छ । केवल टिकट दिएर पनि भएन । कस्ताले टिकट पाए त्यो महत्त्वपूर्ण छ । जसले टिकट पाए उनीहरू कसरी चुनाव जित्न खोज्दैछन्, त्यो पनि त्यत्तिकै विचारणीय छ । केही यस्ता पनि टिकटका अपेक्षा राख्नेहरू छन् जो घुक्र्याउँदै हिँड्छन्, मैले टिकट पाइनँ भने म पार्टीलाई हराइदिन्छु ।

पार्टीप्रति निष्ठा नराख्ने, केवल पदकै भोक देखाउनेलाई टिकट दिने कि नदिने ? यसबारे पनि सोच्नुपर्छ ।

नेपाली कांग्रेसको आफ्नै भोट बैंक नेपालभरि छ । नेपाली कांग्रेसलाई मन पराउने सबै क्षेत्र र वर्गका छन् । यस्तोमा नेपाली कांग्रेसको टिकट पाउँदा कोही पनि प्रयासीलाई जित्न तुलनात्मक रूपमा सहज हुन्छ । चुनावको मुखैमा अर्को दलबाट पनि पार्टी प्रवेशको चाहना राख्नेहरूलाई प्रशस्त छन् ।

अन्य दलबाट झ्यालबाट हाम फालेर मूल ढोकाबाट निस्कने चाहना राख्नेहरू अहिलेको चुनावी अर्थ राजनीतिले पनि लोभ्याएको छ । नेपाली कांग्रेसले हेक्का राख्नुपर्ने हो । चैते कांग्रेसीहरूलाई प्रत्याशी बनाउने कि नबनाउने ? यदाकदा टिकट बिक्री हुने गरेको, कुनै अमूक बिचौलियाले टिकटको खरिद–बिक्री गर्ने गराएको आशंकाहरू आम कार्यकर्तामाझ पनि सुनिन्छ । कतिपय अवस्थामा पार्टीको एउटा अनुशासित सिपाही जो इमान्दार पनि छ र योग्य पनि छ, जो स्वजनशील पनि छ र सिर्जनशील पनि छ तर त्यस्तोलाई जिल्ला वा प्रदेश तहमा सिफारिस गर्ने डाडु पनिंयो लिएकाहरूले सम्भवतः किनारामा राख्न पनि सक्छन् । निकट अतीतको इतिहास छ– काठमाडांैलाई अन्तर्राष्ट्रिय शहर बनाउने जुन सपना पिएल सिंहले देखाए त्यसलाई आजसम्म पनि कसैले उछिन्न सकेको छैन । उनले दलभित्रको श्रेणी क्रममा निकै पुछारमा रहेको भएता पनि जनतामाझ लोकप्रिय छवि बनाएका थिए । उनको वजन आफूलाई कतिपय हेभिवेट भनाउने नेताहरूभन्दा कम थिएन । यसले के देखाँउछ भने एउटा गतिलो कार्यकर्तालाई नगर प्रमुखको प्रत्यासी बनाउनुभन्दा एउटा झोले कार्यकर्तालाई टिकट दिन उद्यत मनोविज्ञान छैन भनेर भन्न सकिँदैन । यसलाई छिचोल्ने कसरी ?

नेपाली कांग्रेसभित्र टिकट लिने राजनीतिलाई सहज, सरल र सन्तुलित बनाउनुपर्छ । टिकट पाउनकै लागि आडम्बरपूर्ण प्रदर्शन गर्ने, कृतिम संख्या बलको दबाब दिन लाउने वा स्थानीय नेतृत्वलाई अनुचित प्रभावमा पार्न खोज्ने प्रवृत्तिलाई एकदम बलियो भोटे ताल्चा लगाइदिनु पर्छ

टिकटको चाहना राख्नु र त्यसका लागि सम्बन्धित ठाँउहरूमा वकालत गर्नु स्वाभाविक हो । दलले कसैले दाबी गरेको भरमै टिकट दिँदैन । नेपाली कांग्रेसभित्र कार्यकर्ता मूल्यांकनको आफ्नै संयन्त्र छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि केन्द्रीय पर्यवेक्षकहरू जिल्ला–जिल्लामा खटिएका छन् । तिनीहरूले पालिकाको वडा तहसम्म नै पार्टीको अवस्था, प्रतिस्पर्धाको अवस्था र मौन मतहरूको आकलन र अभिलेखीकरण गर्दैछन् । त्यसैगरी, सघन घरदैलो अभियान चलाइएको छ । यो यसले एउटा लोकतान्त्रिक विधि स्थापित गर्दैछ ।

टिकट वितरणको काम नेताहरूको भागबण्डाका आधारमा गरिनु हुँदैन कतिपय अवस्थामा भागबण्डाका कारणले आउनैपर्ने नेतृत्व वन्चितीमा पर्नसक्छ । नेतृत्वमा ल्याउनका लागि उम्मेदवारको पृष्ठभूमि, उसको सार्वजनिक प्रतिबद्धता, उसको जीवनशैलीको पारदर्शिता र पालिकाबारे उसले प्रस्तुत गर्ने प्रारूपका आधारमा तय गरिनुपर्छ । पार्टीले पनि केवल टिकट दिएर मात्र भएन, रुख छापधारी कुनै पनि प्रत्यासीले कसरी अँधिकतम मत ल्याउन सक्छ ? त्यसको पनि बन्दोबस्ती मिलाउनुपर्छ । त्यति मात्र होइन, उसले के गर्‍यो ? कसरी गर्‍यो ? त्यसको पनि लेखाजोखा राखिनुपर्छ । नेपाली कांग्रेसले वडा तहदेखि नै समृद्धि, रूपान्तरण र बदलावको मूर्तरूप दिन स्थानीय तहको निर्वाचनमा अत्यन्त सुझँबुझ र समझदारी देखाउनै पर्छ । स्थानीय सरकारमा राम्रा अभ्यासहरू थालनी गराउन स्थानीय तहमै राम्रा पात्रहरूलाई प्रोत्साहन गर्नुपर्छ, जसले कालान्तरमा कहिल्यै पनि नहल्लिने गरी लोकतन्त्रको जग बलियो बनाउँछ । स्थानीय सरकारको आकर्षण बढाउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पार्टी आफ्ना खजानाबाट संघीय संसद् र प्रादेशिक सभामा प्रभावकारी भूमिका खेलेका, विभिन्न क्षेत्रमा अब्बल प्रदर्शन गरेका व्यक्तिहरूलाई प्रत्यासी बनाउनुपर्छ । यसले दुइटा कुरा हुन्छ । स्थानिय तहदेखि नै दलमा असल कार्यकर्ताहरूको आपूर्ति हुन्छ । दोस्रो, आमजनमनमा राजनीतिप्रतिको वितृष्णा घट्दै जान्छ ।

नेपाली कांग्रेसभित्र टिकट लिने राजनीतिलाई सहज, सरल र सन्तुलित बनाउनुपर्छ । टिकट पाउनकै लागि आडम्बरपूर्ण प्रदर्शन गर्ने, कृतिम संख्या बलको दबाब दिन लाउने वा स्थानीय नेतृत्वलाई अनुचित प्रभावमा पार्न खोज्ने प्रवृत्तिलाई एकदम बलियो भोटे ताल्चा लगाइदिनु पर्छ । नेपाली कांग्रेसले स्थानीय तह प्रयोजनका लागि के, कुन, कसरी, कहाँ र कहिले प्रत्यासीहरूको छनोट गरी त्यसको असर आगामी प्रदेश र संघको चुनावमा पनि पर्छ । नेपाली कांग्रेसले यस पटकको स्थानीय तह निर्वाचनलाई व्यवस्थित र वैज्ञानिक तरिकाले अगाडि बढाउन सक्यो भने त्यसले दलको आन्तरिक जीवनमा प्राणवायुको काम गर्छ । नेपाली कांग्रेससँग यदि चुनावी समयमा वडा तहसम्मको चुनावी राजनीतिकस्तर र अवस्थाको बारेमा तथ्यपरक विश्लेषणसहितको सूचना संगालो निर्माण गर्न सकियो भने यसले नेपाली कांग्रेसलाई आगामी आमनिर्वाचनका बेला चुनावी रणनीति निर्धारण गर्न टेवा त पुग्छ नै, छिमेकी भारतीय जनता पार्टीजस्तो विभिन्न अभेध्य दुर्गहरू पार गर्दै सर्वत्र चार तारे झण्डा फरफराउने सुनिश्चितता दिन्छ ।