NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

लाखौं डलर क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर्सकाे हात रहेकाे दाबी

काठमाडौं । अमेरिकी इन्टेलिजेन्स एजेन्सी एफबिआईका अनुसार एक अनलाइन गेमिङ कम्पनीको ५९० मिलियन डलरको क्रिप्टोकरेन्सी उत्तर कोरियाका ह्याकर्सले चोरेको खुलेको छ । मार्चमा एक्सी इन्फिनिटी नामको एक लोकप्रिय अनलाइन गेमिङ कम्पनीबाट क्रिप्टोकरेन्सी चोरी भएको थियो ।

क्रिप्टोको एजेन्सीमा भएको साइबर आक्रमणमध्ये यो सबैभन्दा ठूलो मानिन्छ । यस कम्पनीले आफ्ना ग्राहकलाई अनलाइन गेम खेलेर क्रिप्टोकरेन्सी जम्मा गर्ने अवसर दिन्थ्यो ।

अमेरिकी अधिकारीका अनुसार क्रिप्टोकरेन्सीको इतिहासमा सबैभन्दा ठूलो ह्याकिङ गर्ने उत्तर कोरियाको लाजारस समूह थियो । यो समूहको परिचालन उत्तर कोरियाको गुप्तर निकायले गर्ने गरेको बताइन्छ । एफबिआईका अनुसार क्रिप्टोकरेन्सी चोरीका लागि लाजारस समूह र एपिटी ३८ को साइबर आक्रमणकारी जिम्मेवार छन् ।

लाजारस समूह सन् २०१४ मा सोनी पिक्चर्सको ह्याक गरेर गोप्य तथ्यांकहरु सार्वजनिक गरेपछि चर्चामा आएको थियो । यस समूहले सोनीबाट प्रशारण हुने फिल्म ‘द इन्टरभ्यू’ रिलिज नगर्न माग गरेको थियो ।

उक्त कमेडी फिल्ममा उत्तर कोरियाका शासक किम जोङ उनलाई मार्ने बारेमा बनाइएको थियो । उत्तर कोरियाको यो ह्याकिङ समूह सन् १९९० को मध्यतिर बनेको हो र यसमा करिब ६,००० मानिसलाई रोजगारी दिएको विश्वास गरिन्छ । याे बलियाे साइबर समूहका रूपमा अघि बढेकाे छ । विश्वभर यस समूहले बेलारूस, भारत, चीन, मलेसिया र रूसलगायतका देशमा रहेका १२१ ब्युराेबाट काम गर्ने अमेरिकी सेनाकाे रिपाेर्टमा उल्लेख छ ।

क्रिप्टोका विभिन्न ब्लकचेन जोड्ने रोनिन ब्रिजले ह्याकरहरूले मार्चमा ५९० मिलियन डलर चोरेको खुलासा गरेको थियो ।