NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अन्ततः ६ महानगरपालिकामा गठबन्धन दल सहमतिनजिक, कुन महानगर कुन दलको भागबण्डामा ?

काठमाडौं । अन्ततः वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दल महानगरपालिका र उपमहानगरपालिका भागबण्डा नजिक पुगेका छन् ।

६ महानगरपालिकामध्ये कांग्रेसले तीनवटा नगरपालिकामा मेयरमा उम्मेदवारी दिने भएको छ । बाँकी तीनमध्ये माओवादीलाई भरतपुर, नेकपा एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगञ्ज महानगरपालिकाको मेयर भागबण्डामा परेको बालुवाटार स्रोतको भनाई । यद्यपी अन्तिम भागबण्डाको लागि नेताहरू छलफलमा जुटेका छन् ।

तीन महानगरपालिका मेयर पाएको कांग्रेसले ललितपुरमा भने मेयर र उपमेयर दुवै पाएको छ । कांग्रेसले मेयर पाएको काठमाडौंमा नेकपा एसले उपमेयर र विराटनगरमा जसपाले उपमेयर पाएका छन् ।

निक्कै तनावकाबीच चितवनको भरतपुर महानगरपालिकाको मेयर माओवादीले पाउने निश्चित जस्तै भएको छ । तर उपमेयर र बहुसंख्यक वडा कांग्रेसको भागमा परेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी क्षेत्रसमेत चितवन नै यसैले फेरि पनि भरतपुरमा प्रचण्डले रेनुलाई नै उठाउने गरी गठबन्धनमा दबाब बढाउँदै आएका हुन् । रेनु प्रचण्डकी छोरीसमेत हुन् ।

वीरगञ्ज महानगरपालिका उपेन्द्र यादव नेतृत्वको जसपाले पाउँदा उपमेयर कांग्रेसको भागमा परेको छ । एमालेको बलियो प्रभाव रहेको कास्कीस्थित पोखराको मेयरको उम्मेदवार माधव नेपालको नेकपा एसले पाउने भएको छ । पोखरामा उपमेयर कांग्रेसले पाउनेछ ।

भरतपुर र पोखरामा आन्तरिक अन्तर्घातको डर भएपछि सत्तारुढ दल साझा चुनाव चिन्हमा चुनाव लड्ने सहमतिनजिक पुगेको बताइएको छ । साझ चुनाव चिन्ह लिंदा मेयरमा जुन दलको उम्मेदवारी हुनेछ सोही दलको चुनाव चिन्हमा कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा सहभागी हुने बुझिएको छ ।

मुख्यगरी भरतपुर र पोखराका कांग्रेसले अन्य उम्मेदवारलाई भोट हाल्नुपरे स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिंदै आएका छन् । पार्टीभित्रै अन्तर्घात हुने डर बढेपछि साझा चिन्हमा अघि बढ्न सत्तारुढ दलबीच सहमति जुट्न लागेको हो ।

दलगत भागबण्डा गरेपछि दलहरूले आफ्नो तर्फबाट उम्मेदवार अघि सार्ने तयारी गरेका छन् । सत्तारुढ दलले ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिको टिकट केन्द्रबाटै टुंग्याउने तयारी गरेका छन् ।

६ महानगरमा २०७४ सालको चुनावमा काठमाडौ र पोखरा एमालेले, ललितपुर र विराटनगर कांग्रेसले जितेका थिए । भरतपुर माओवादीले जित्दा, वीरगञ्ज जसपाले जितेको थियो ।

महानगरपालिका कहाँ कुन दललाई ?

१. काठमाडौं महानगर मेयर कांग्रेरस, उपमेयर नेकपा एकीकृत समाजवादी
२. ललितपुर मेयर र उपमेयर दुवै कांग्रेस
३. विराटनगर : मेयर कांग्रेस, उपमेयर, जसपा
४. भरतपुर : मेयर माओवादी, उपमेयर कांग्रेस
५. वीरगञ्ज : मेयर जसपा, उपमेयर कांग्रेस
६. पोखरा : मेयर नेकपा एस, उपमेयर कांग्रेस

११ उपमहानगरपालिका कहाँ कसलाई ?

धरान, इटहरी, जनकपुर, कलैया, जितपुर सिमरा, हेटौंडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिको मेयर र उपेयरसहितको भागबण्डा मिलाउने अन्तिम तयारीमा दलहरू जुटेका छन् ।

११ उपमहानगरपालिकामध्ये कांग्रेसले ७ वटा सम्म पाउने देखिएको छ । जसमा कांग्रेसको दाबी रहेकामा धरान, जनकपुर, बुटवल, नेपालगञ्ज, तुलसीपुर, घोराही र धनगढी छन् । बाँकीमा कुरा मिल्दै गरेको बालुवाटार स्रोत बताउँछ । बाँकी चारवटा तीन दलले पाउने देखिएकाे छ ।

३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब