NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

१० वर्षको अवधिमा पहिलोपटक घटे नेटफ्लिक्सका सब्सक्राइबर

काठमाडौं । नेटफ्लिक्सले १० वर्षको अवधिमा पहिलो पटक आफ्नो सब्स्क्राइबर गुमाएको छ । भिडियो स्ट्रिमिङ कम्पनीले सन् २०२२ को पहिलो तीन महिनामा २ लाख सब्सक्राइबरहरु गुमाएको कम्पनीले बताएको छ । फर्मले रुसबाट बाहिरिने क्रममा अमेरिका र बेलायतलगायत प्रमुख बजारमा मूल्य बढाएपछि यो गिरावट आएको हो ।

तर नेटफ्लिक्सले अझै नोक्सान हुन सक्ने चेतावनी दिएको छ । जसको असर स्वरूप एकै दिनमा कम्पनीको शेयर मूल्य २० प्रतिशतले घटेको हो । यसरी ग्राहक सङ्ख्यामा भारी गिरावट आएसँगै कम्पनीले विज्ञापन सहितको सस्तो प्याकेज ल्याउने निर्णय समेत गरिसकेको छ ।

कम्पनीका उप-प्रमुख कार्यकारी अधिकृत रिड ह्यासटिङ्गले मंगलबार लगानीकर्ताको त्रैमासिक आम्दानीसम्बन्धी अन्तर्वार्तामा सम्भावित परिवर्तनको बारेमा जानकारी गराएका हुन् । त्यतिमात्रै नभएर आउँदो चौमासिकमा प्रयोगकर्ताको संख्या अझ घट्ने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेजन प्राइम जस्ता स्ट्रिमिङ प्लेटर्फमको बढ्दो प्रभाव र रुस-युक्रेन युद्धको असर पनि नेटफ्लिक्समा देखिएको उल्लेख छ । यसका साथै कम्पनीले नेटफ्लिक्स अकाउण्ट अन्य व्यक्तिसँग शेयर गर्न नमिल्ने फिचरलाई पनि विस्तारै सबै देशमा विस्तार गर्ने योजना अघि सारेको छ । हालसम्म चिली, कोस्टारिका, पेरुमा मात्रै यो व्यवस्था लागू भएको छ ।

यसअघि कम्पनीले सन् २०११ को अक्टुबरमा सब्सक्राइबर गुमाएको थियो । नेटफ्लिक्सका अझै पनि विश्वव्यापी रूपमा २२ करोडभन्दा बढी सदस्य रहेका छन् । युद्ध सुरु भएपछि रुसबाट बाहिरिदामात्रै यसले ७ लाख सदस्य गुमाएको छ । अमेरिका र क्यानडामा मूल्य बढाएपछि ६ लाख व्यक्तिले नेटफ्लिक्सको खाता बन्द गरेका छन् ।

कम्पनीले यो नतिजा अपेक्षाअनुरुपको भएको र खाता बन्द हुँदा पनि घाटा नहुने बताएको छ । नेटफ्लिक्स सन् १९९७ अगस्टदेखि सुरु भएको हो ।