NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विश्वकै अग्लो परिवार: सबैभन्दा होची आमाको उचाइ नै ६ फिट ३ इन्च

काठमाडौं । अमेरिकाको मिनेसोटामा बसोबास गर्ने ट्र्याप परिवारका प्रत्येक सदस्यले सन् २०२२ मा गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम कायम गरेका छन् । उनीहरुले शारीरिक उचाइका कारण रेकर्ड राखेका हुन् । वास्तवमा परिवारका पाँच सदस्य स्कट, क्रिसी, सवाना, मोली र एडमको औसत उचाइ २०३.२९ सेन्टिमिटर अर्थात् ६ फिट ८.०३ इन्च छ ।

गिनिज वर्ल्ड रेकर्ड्स अनुसार ट्रयाप परिवार संयुक्त रूपमा संसारको सबैभन्दा अग्लो परिवार हो । परिवारका सबै सदस्यले विश्व रेकर्ड कायम गरेको बारे एडम भन्छन्, ‘आधिकारिक रूपमा यो कीर्तिमान हाम्रो नाम भएको मेरी बहिनीले फोन गरेर बताइन् । हामी सबै उत्साहित भयौं ।’

गिनिज रिपोर्टर एलिसियामारी रोड्रिग्वेजका अनुसार एडम ट्रयाप परिवारका सबैभन्दा कान्छो सदस्य हुन् । उनी २२ वर्षको उमेरमा २२१.७१ सेमी अर्थात् ७ फिट ३ इन्च अग्ला छन् । त्यस्तै २७ वर्षीया सवाना ट्रप ब्लान्चफिल्ड ६ फिट ८ इन्च अग्ली छिन् । उनकी २४ वर्षीया बहिनी मोली स्टेडको उचाइ ६ फिट ६ इन्च छ ।

यस परिवारमा तीनै जनाकी आमा क्रिसीको उचाइ ६ फिट ३ इन्च छ । उनी यस परिवारको सबैभन्दा होची सदस्य हुन् । क्रिसीका पति स्कट ६ फिट ८ इन्च अग्लो छन् ।

सन् २०२० को डिसेम्बरमा परिवारका सबै सदस्यले अर्थोपेडिस्ट डा अन्ना सुडोहलाई भेटेका थिए । सही मापनको लागि डाक्टरले परिवारका प्रत्येक सदस्यलाई तीन पटक नापे । लम्बाइ तलमाथि नहोस् भनेर सबैलाई उभ्याएर र सुताएर लम्बाइ मापन गरिएको थियो । यो पूरै परिवारले पनि आफ्नो उचाइका कारण अनेक समस्याको सामना गर्नुपरेको छ ।

गत वर्ष क्यानडाका ओलिभर रियोक्सकाे नाम विश्वको सबैभन्दा अग्लो किशोरको रुपमा गिनिज विश्व रेकर्डमा लेखिएको छ । उनकाे उचाइ ७ फिट ५ इन्च छ ।

गिनिज वर्ल्ड रेकर्ड्सले गत वर्ष सेप्टेम्बरमा १५ वर्षीय रियोक्सलाई यो उपाधि दिएको थियो । रियोक्सका परिवारका सबैजना अग्ला छन् । रियाेक्सकी आमाको उचाइ ६ फिट २ इन्च छ भने बाबुको उचाइ ६ फिट ८ इन्च छ ।

एक रिपोर्ट अनुसार रियोक्सले १० नम्बरको जुत्ता लगाउँछन् । उनी सानैदेखि अग्ला थिए । मानिसहरु प्राय उनीसँग फोटो खिच्न चाहन्थे । उनीसँग फोटो खिच्न अरु व्यक्तिहरु टेबुलमा चढ्नु पर्ने अवस्था छ ।