NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
अन्तर्वार्ता :

प्रचण्डको आँखा मालाले छेकिएको थियो त्यसैले देख्नुभएन, मैले भेट्न भ्याइन : लेखराज भट्ट

मालेका सचिव लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जम्काभेट भएर नबोलेको भन्ने समाचार गलत भएको बताएका छन् ।

नेपालवाचसँग कुरा गर्दै भट्टले विचारमा असहमति हुँदैमा त्यो मान्छेसँग बोलचालै बन्द गर्ने आफ्नो संस्कार नभएको बताएका हुन् । घटनाबारे ब्याख्या गर्दै एमाले सचिव भट्टले प्रचण्डको आँखा मालाले छोपिँदा देखादेख नभएको बताए ।

उनले भने, ‘प्रचण्डजीको गला भरिएर आँखै छोप्ने गरी माला थियो । उहाँ सरासर भित्र आउनु भयो । म त्यहीँ थिए । तर मलाई देख्नुभएन ।’
भट्टले प्रचण्डलाई भेट्न पनि नसकेको बताए । ‘उहाँका आँखा मालाले छोपिएका थिए । फेरि कार्यकर्ता र पत्रकार मित्रहरूबाट घेरिनु भएको थियो । त्यसले गर्दा उहाँले मलाई देख्दै देख्नु भएन ।’

प्रचण्डले गाली गर्दै हिँडे पनि मैले एक शब्द पनि नराम्रो भनेको छैन । उहाँले त मलाई गाली गर्न एक शब्द पनि बाँकी राख्नुभएको छैन । खुलामञ्चबाटै गाली गर्नुभएको छ । तर, गाली नगर्ने संस्कारमा हुर्केको मान्छे म हिजो सँगै हिडेको मान्छेसँग भेट्दा बोल्दै नबोल्ने भन्ने हुँदैन ।

प्रचण्डसँग जम्काभेट हुँदा पनि बोलचाल भएन भनेर सार्वजनिक समाचारबारे लेखराजले नेपालवाचसँग टेलिफोनमा गरेको कुराकानी :

प्रचण्डसँग भेट हुँदा पनि बोल्नु भएन भनेर समाचार सार्वजनिक भइरहेको छ, तपाईँले उहाँलाई भेटेर पनि नबोलेको हो ?

प्रचण्डसँग भेट भएर पनि म नबोलेको भनेर अहिले समाचारहरू आइरहेको रहेछ । वास्तवमा त्यस्तो भएको होइन । प्रचण्ड आउने भएपछि त्यहाँ उहाँको पार्टीले पत्रकार सम्मेलनको तयारी गरेको थियो । एयरपोर्टबाट आएर ढोकाबाट भित्र छिर्नेबित्तिकै कार्यकर्ता र पत्रकारले छप्पक्कै छोपे । र प्रचण्डजी उहाँहरूसँग कुरा गर्न थाल्नुभयो । त्यही बेला प्लेनले उडान समय भयो भनेर बोलाइरहेको थियो । म निस्कनु पर्यो । भएको यत्ति हो । उहाँसँग बोल्नै नहुने भन्ने मेरो संस्कारभित्रको कुरा होइन ।

त्यसो भए दुवैजना बोल्न नचाहेको भन्ने सत्य होइन ?

त्यस्तो होइन । मलाई लाग्छ प्रचण्डजी ले पनि मलाई देख्नुभएन । किनभने उहाँ भिआइपी कक्षमा छिर्ने बत्तिकै पत्रकार र कार्यकर्ताले घेरेर पत्रकार सम्मेलन हुने ठाउँमा लगिहाले । मैले प्रचण्ड भित्र छिरेको त देखेँ । तर कार्यकर्ताले छपक्कै छोपेको ठाउँमा जाने अवस्थै थिएन ।

प्रचण्ड भिआइपी कक्षा छिर्दा तपाईँ पनि त्यहीँ हुनुहुन्थ्यो होइन र ?

म त्यहीँ बसिरहेको थिएँ । उहाँ चाहिँ विमानस्थलबाट भिआइपी कक्षमा आउने ढोकाहुँदै सिधै पत्रकार सम्मेलन हुने ठाउँमा पुग्नुभयो ।ढोकाबाट भित्र छिर्दा प्रचण्डको आँखै छोप्ने गरी माला थियो । त्यहाँबाट सरासर पत्रकार सम्मेलन हुने ठाउँमा गएर माला निकाल्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँहरूको पत्रकार सम्मेलन शुरु भयो । यसरी देखादेख नै नभएको मान्छेसँग बोलचाल नै भएन समाचार लेखिएछ । राजनीतिमा बोल्दै नबोल्ने भन्ने हुँदैन । उहाँले गाली गर्दै हिँडे पनि मैले एक शब्द पनि नराम्रो भनेको छैन । उहाँले त मलाई गाली गर्न एक शब्द पनि बाँकी राख्नुभएको छैन । खुलामञ्चबाटै गाली गर्नुभएको छ । तर म एउटा संस्कारमा हुर्केको मान्छे । गाली नगर्ने संस्कारमा हुर्केको मान्छे म हिजो सँगै हिडेको मान्छेसँग भेट्दा बोल्दै नबोल्ने भन्ने हुँदैन ।

उसोभए मौका मिल्दा प्रचण्डसँग बोल्न समस्या छैन ?

कुनै समस्या छैन । उहाँलाई भेट्न जाउँ–जाउँ लाग्ने गरी न्यास्रो पनि लागेको छैन । भेट्दा नबोल्ने गरी केही भएको पनि छैन । कुनै कुरामा असहमति हुँदैमा हिजो संँगै हिडेको साथीसँग भेट्दा पनि नबोल्ने भन्ने चाहिँ हुँदैन ।

धनगढीमा प्रचण्ड र लेखराजबीच जम्काभेट : बोलचाल के अभिवादनसमेत आदानप्रदान भएन