NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

गोकुल बाँस्कोटाको गृहनगरमा गठबन्धनबाट मेयरको उम्मेदवार नेकपा एसलाई

काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाको गृहनगर काभ्रे मण्डन देउपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार माधव नेपालको एकीकृत नेकपा समाजवादीले पाएको छ । सत्ता गठबन्धनकाे तर्फबाट काभ्रेको मण्डन देउपुर नगरपालिकाको मेयर एमालेबाटै फुटेर बनेको नेकपा एसलाई दिइएको हो । उपमेयर कांग्रेसले लिएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मण्डन देउपुरमा तत्कालीन एमालेबाट टोकबहादुर वाइबा विजयी भएका थिए । वाइबा मेयरमा ७६४६ मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेसका अच्युत पौडेलले ६ हजार ३ सय १९ मत ल्याएका थिए । माओवादीकी रिता गौतमले २२५९, नेमकिपाका पूर्णसिंह तामाङले ३३४ र राप्रपाका रामकृष्ण सापकोटाले ३२८ मत ल्याएका थिए ।

तर एमाले विभाजन भएपछि वाइबा नेकपा एसमा प्रवेश गरेका छन् । एमालेमा हुँदा जिल्ला अध्यक्ष भएका वाइबा नेकपा एसका काभ्रे जिल्ला अध्यक्ष हुन् । बनेपा, पनौतीका केही वडा, मण्डन देउपुरसहितका स्थानीय तह गोकुल बास्कोटाकै चुनावी क्षेत्र हुन् । यी क्षेत्रमा सत्ता गठबन्धनले मिलेर उम्मेदवार उठाएका हुन् । गठबन्धनले यी क्षेत्रमा जिते बाँस्काेटाकाे निम्ति अब हुने संघीय चुनाव कठिन हुन सक्ने छ ।

गोकुल बाँस्कोटाको नगरपालिकामा एमालेबाट जितेका वाइबा नेकपा एसमा, के होला एमालेको अवस्था ?

उपाध्यक्षमा एमालेकी निर्मला शाही ७५०१ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी कांग्रेसकी राधिका ढकालले ६१६० मत प्राप्त गरेकी थिइन् ।
१२ वडामध्ये एमालेले ८ र कांग्रेसले चारवटा वडा जितेका थिए । जसमा वडामा १ मा एमाले, २ मा कांग्रेस, ३ मा एमाले जितेका थिए ।
गोकुल बाँस्कोटाले भोट हाल्ने वडा भने ४ हो । यो वडामा एमालेका भुवनप्रसाद बजगाईं ५३० मतसहित विजयी भए । प्रतिद्वन्द्वी माओवादीका तुलसीप्रसाद नेपालले ३७९, कांग्रेसका रेवतीप्रसाद तिमल्सिनाले १९३ मत ल्याएका थिए । यो वडामा माओवादी र कांग्रेस मिलेको भए ५७२ मत हुन्थ्यो । जुन मतले गोकुलकै वडामा एमाले पराजित हुन सक्ने थियो ।

एमालेको प्रभाव रहेका धुलिखेल बनेपा र पनौतीमा पनि एसलाई प्राथमिकता

काभ्रेमा बनेपा, पनौती र धुलिखेल नगरपालिका पनि एमालेको प्रभाव रहेको क्षेत्र हो । गत निर्वाचनमा यी तीनवटै तहमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो ।

यसपटक सत्ता गठबन्धनले बनेपाको मेयर कांग्रेस, उपमेयर समाजवादीले लिने गरी टुंग्याएको छ । धुलिखेलमा नेकपा एसले मेयर र कांग्रेसले उपमेयर पाएका छन् । पनौतीमा कांग्रेसले मेयर र समाजवादीले उपमेयर पाएको छ । यी तीन नगरपालिका एमालेका बलिया पकड रहेका क्षेत्र हुन् । यसै क्षेत्रमा एमालेको भोट काट्ने गरी गठबन्धनले नेकपा एसलाई प्राथमिकता राखेको हो ।