NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कराँची विश्वविद्यालयमा आत्मघाती विस्फोट गर्ने महिला को हुन् ?

कराँची । मंगलबार कराँची विश्वविद्यालयको क्याम्पसस्थित चिनियाँ भाषा केन्द्रनजिकै भएको आत्मघाती आक्रमणमा तीन चिनियाँ शिक्षकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

कराँची सिटिडी इन्चार्ज राजा उमर खट्टाबले मंगलबारको विस्फोट एक महिलाले गराएको आत्मघाती हमला भएको बताए । बलुच चरमपन्थी संगठन, बलुच लिबरेशन आर्मीको एक ब्रिगेडले आक्रमणको जिम्मा लिँदै पहिलोपटक महिला आत्मघाती आक्रमणकारी प्रयोग गरेको बताएको छ ।

प्रतिबन्धित बलुच लिबरेसन आर्मीले जारी गरेको विज्ञप्ति अनुसार कराँची विश्वविद्यालयमा चिनियाँ नागरिकहरूलाई लक्षित गर्ने महिला आत्मघाती आक्रमणकारी शारी बलुच उर्फ ​​बर्मास थिइन् ।

महिला आत्मघाती आक्रमणकारीको बारेमा उनका आफन्त र परिवारबाट फोनमार्फत् बिबिसीले लिएको प्रारम्भिक जानकारी अनुसार उनी बलुचिस्तानको तुर्बत जिल्लाको नजराबाद क्षेत्रकी बासिन्दा थिइन् ।

उनले सन् २०१४ मा अल्लामा इकबाल ओपन युनिभर्सिटीबाट बीएड र २०१५ मा बलुचिस्तान विश्वविद्यालयबाट प्राणीशास्त्रमा एमएससी गरेकी थिइन् । उनी बलुचिस्तानको तुर्बत जिल्लाको सरकारी महिला माध्यामिक विद्यालयमा शिक्षक थिइन् ।

प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मीले दिएको जानकारीअनुसार ती आक्रमणकारीका पति डा हेब्तान बशीर बलुच डेन्टिस्ट हुन् । शारी बलुच दुई सन्तानकी आमा थिइन् । उनका दुवै छोराछोरी करिब पाँच वर्षका छन् ।

उनका एक नातेदारले बताएअनुसार शारी बलुचका चार बहिनी र तीन दाजुभाइ छन् । उनका परिवारका सबै सरकारी सेवामा रहेका छन् ।

प्रतिबन्धित बलुच विद्यार्थी संगठन बिएसओ आजादका एक सदस्यका अनुसार शारीले बलुच संगठनले आयोजना गरेको विरोध प्रदर्शनमा स्वयंसेवकको रूपमा भाग लिएकी थिइन् । तर उनी यसको कुनै पदमा थिइनन् ।

शारी बलुच विगत दुई वर्षदेखि बलुचिस्तान लिबरेशन आर्मीको माजिद ब्रिगेडको सदस्य थिइन् । अहिले माजिद ब्रिगेडमा ठूलो संख्यामा बलुच महिला सहभागी भएको बलुचिस्तान लिबरेशन आर्मीले दाबी गरेको छ ।

शारीको परिवारका कोही पनि सुरक्षाकर्मीको हातबाट जबरजस्ती बेपत्ता वा मृत्यु भएको थिएन, त्यसैले उनले व्यक्तिगत बदलाको कारण यस्तो गरेको अनुमान गर्न सकिँदैन । तुर्बतमा पत्रकार मोहम्मद जुबैरसँग कुरा गर्दै शारीका छिमेकीहरूले भने ‘शारी बलुच स्पष्ट रूपमा शान्त र खुसी जीवन बिताइरहेकी थिइन् । उनी चरमपन्थी संगठनमा संलग्न थिइन् भनेर विश्वास गर्न मुश्किल पर्छ ।’

प्रतिबन्धित संगठन बिएलएका अनुसार शारी बलुच ६ महिनाअघि बलुचिस्तानको केच क्षेत्रबाट कराँची सरेकी थिइन् र डेढ महिनाअघि आफ्नी बहिनीको विवाहमा सहभागी हुन केच फर्किएकी थिइन् । पारिवारिक स्रोतले पत्रकार मोहम्मद जुबैरसँग भने, ‘शारी कहिले प्रतिबन्धित संगठन बिएलएमा सामेल भइन् र उनले किन यो कदम चालिन् भन्ने हामीलाई थाहा छैन ।’

कराँची विश्वविद्यालयमा भएकाे आक्रमणको राष्ट्र संघद्धारा निन्दा

ताजा अपडेट

नेपालवाच विशेष