NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आत्मघाती बम विस्फोटमा महिलाको इतिहास

इस्लामाबाद । प्रतिबन्धित बलुच लिबरेसन आर्मीले आत्मघाती बम विस्फोटमा पहिलोपटक महिलाको प्रयोग भएको दाबी गरेको छ तर महिलाको प्रयोग गरेर विस्फोट गराउने यो पहिलो संगठन भने होइन ।
पाकिस्तानमा आतंकवादी आक्रमणमा धेरै समूहले महिलालाई अघि सारेका छन् । आजभन्दा झन्डै २२ वर्ष अगाडि सन् २००० को नोभेम्बर ६ मा पाकिस्तानको प्रमुख उर्दू पत्रिकामध्ये एक नवा-ए-वक्तको कराँचीस्थित कार्यालयमा बम विस्फोट भएको थियो । यसलाई पाकिस्तानमा भएको पहिलो आत्मघाती विस्फोट भनिएको थियो । यो आक्रमण एक महिलाद्वारा गरिएको थियो । विस्फोटमा पत्रिकाका तीन कर्मचारीसहित ४ जनाको ज्यान गएको थियो ।
यस्तै सन् २००५ मा सुरक्षा बलले गरेको अपरेशनका क्रममा आरिफा बलुच र सबा बलुचलाई चरमपन्थी संगठन लश्कर ए झांगवीका लागि आत्मघाती आक्रमणको तालिम लिएको आरोपमा पक्राउ गरेको थियो ।
सन् २०१० को डिसेम्बरमा ख्वैबर पख्तुनख्वाको कबायली जिल्लास्थित बाजौडमा विश्व खाद्य कार्यक्रममार्फत् स्थानीय व्यक्तिलाई खाना वितरण भइरहेको समयमा महिला आक्रमणकारीले आत्मघाती बम विस्फोट गरेकी थिइन् । त्यस आक्रमणमा ४३ जना मारिएका थिए भने १०० भन्दा धेरै घाइते भए ।
त्यही वर्ष १२ वर्षीया अफगान शरणार्थी बालिका मिना गुलले सुरक्षा अधिकारीसमक्ष तालिबानले आत्मघाती विस्फोट गराउन तालिम दिइरहेको स्वीकार गरेकी थिइन् । साथै उनले महिलालाई तालिम दिने ठेगाना बारे पनि सुरक्षाकर्मीलाई जानकारी दिएकी थिइन् ।
त्यस्तै, सन् २०११ को जुन २५ मा डेरा स्माइल खानस्थित प्रहरी चौकीनजिकै एक महिलाले विस्फोट गराएकी थिइन् । सन् २०१२ मा जमात ए इस्लामीका पूर्व प्रमुख काजी हुसेन अहमदलाई लक्षित गरी एक महिलाले आत्मघाती विस्फोट गरेकी थिइन् । यस आक्रमणमा अहमद बाँच्न सफल भए । यो आक्रमणको जिम्मेवारी तहरिक ए तालिबान पाकिस्तान (टिटिपी) ले लिएको थियो ।
सन् २०१३ मा क्वेटामा सरदार बहादुर खान विश्वविद्यालयको बसलाई निशाना बनाएर लश्कर ए झांगवी संगठनकी महिलाले नै आत्मघाती बम पड्काएकी थिइन् । उक्त आक्रमणमा २५ जना मारिएका थिए ।
दक्षिण एशियाली आतंकवादी पोर्टलका अनुसार सन् २००२ देखि २०१७ को बीचमा पाकिस्तानमा ४५० आत्मघाती आक्रमण भएका छन्, जसमध्ये ६ वटा आक्रमण महिलाले गरेका हुन् । यसबाहेक इस्लामिक स्टेट आइएसको समूहले सिरियामा इस्लामिक राज्यको स्थापनाको दाबी गर्दै पाकिस्तानबाट केही महिलालाई सिरिया लिएर गएका थिए ।
मंगलबार कराँची विश्वविद्यालयमा चिनियाँ शिक्षकसहित ४ जनाको ज्यान जाने गरी भएको आक्रमण पनि शारी बलुच नाम गरेकी महिलाले गरेको पुष्टि भएको छ ।
बलुच पृथकतावादी संगठनले महिला आक्रमणकारीको प्रयोग गरेको पहिलोपटक भएको बताए पनि सन् २००८ मा बलूच लिबरेशन आर्मीले महिलामार्फत् नै विस्फोटक पदार्थले बजारमा विस्फोट गराएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष