NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

तल्लोस्तर र अश्लिल गाली गर्नेमा पूर्वप्रधानममन्त्रीदेखि कांग्रेसका महामन्त्रीसम्म

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख भएको शब्दावलीलाई लिएर प्रमुख राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताबीच सामाजिक सञ्जालमा ‘प्रोक्सी वार’ चलेको छ । लोकतन्त्र दिवसको अवसर पारेर वैशाख ११ गते स्थानीय तह निर्वाचनका लागि कांग्रेसले ८४ पृष्ठको घोषणापत्र जारी गरेको थियो ।

घोषणापत्र सार्वजनिककरण कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उत्तेजनाको व्यापारी भएको टिप्पणी गरेका थिए । पूर्वमन्त्री भैसकेका र आफूलाई लोकतान्त्रिक पार्टी दावी गर्ने थापाले विपक्षी दलको नेतालाई उत्तेजनाको भाषामा उछित्तो काट्ने काम गरे ।

‘एमाले नेतृत्वको सरकार र स्थानीय जनप्रतिनिधिले जथाभावि ‘भ्यू टावर’ बनाएर राज्य कोषको दुरुपयोग गरेको छ’ थापाले ओलीको आलोचना गर्दै भने, ‘ओली अहंकार बोकेको उत्तेजनाको व्यापारी हो । त्यस्तो अलोकप्रिय काममा कांग्रेसले हात हाल्दैन ।’ ओली नेतृत्वको सरकारले ५ वर्षको स्वर्णिम अवसरलाई त्यतिकै खेर फालेको भन्दै कांग्रेसले आफ्नो घोषणापत्रको सुरुवाती खण्डमा नै आलोचनात्मक टिप्पणी गरेको छ ।

तर ओली पनि के कम, गगनको भन्दा निर्मम प्रत्यारोपमा उत्रिए । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा वैशाख १३ गते काठमाडौंमा सम्बोधन गर्दै ओलीले कांग्रेसको घोषणापत्र ‘पागलहरूको प्रलाप’ भएको टिप्पणी गरे । तीनपटक प्रधानमन्त्री भइसकेका र संसदको सबैभन्दा ठूलो दल नेताले आफ्ना प्रतिस्पर्धी राजनीतिक दलको घोषणापत्रमा लेखेको विषयलाई लिएर तल्लोस्तरको अभिव्यक्ति दिएपछि कांग्रेसका नेताहरू झन् आगो हुन पुगे ।

‘कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्तावेज मान्न सकिंदैन । त्यो पागलहरूको प्रलाप हो’, उनले प्रश्न गरे, ‘जथाभावी गाली गर्ने, तथानाम शब्दबाहेक केही छैन, कसरी राजनीतिक दस्तावेज हुन्छ ? खाली धारे हात लगाको छ । पाँच वर्ष खेर गयो । केही गरेन । उत्ताउलो विकास गर्यो भनेको छ । त्यो घोषणापत्रमा वैयक्तिक ढंगले व्यक्तिलाई किटेर गाली गरेको छ ।’

कांग्रेसको घोषणापत्र पागलहरूको प्रलाप हो : केपी ओली

ओलीको अभिव्यक्तिबाट रुष्ट बनेको कांग्रेसका नेताहरूले ओलीलाई मानसिक सन्तुलन गुमेको प्रतिक्रिया दिए । ओलीको अभिव्यक्तिबारे कांग्रेसका उपसभापति धनराज गुरुङले एक अन्तर्वार्तामा भनेका छन्, ‘आफू पागल भएकाले अन्य सबैलाई पागल देख्नु स्वभाविक हो । ओलीको दिमागी हालत खराबी छ ।’

बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ओलीले कांग्रेसको घोषणापत्र विषयवस्तुमा चुनौती दिन नसकेको तर आफ्नो आलोचना देखेपछि आक्रोशित भएको बताए । थापाले ओलीलाई ‘लजिक नभइ म्याजिक’ मनपर्ने भएकाले कांग्रेसको घोषणापत्रको विरोध गरेको टिप्पणी गरे । ओलीले भन्ने गरेको समृद्धि र कांग्रेसले भनेको समुन्नतको नारामा धेरै फरक भएकाले फुर्सदको बेला ट्युसन पढाउने थापाले अभिव्यक्ति दिएका थिए ।

‘ओलीको समृद्धिमा अहंकारको ‘भ्यू टवार’ छ, हाम्रो सम्मुनतको आइडियामा ‘भ्यू टावर’बाट देखिने मानिसका दुःख हल गर्ने उपाय छ’, ओलीमाथि महामन्त्री थापाले टिप्पणी गरे, ‘फुर्सदको बेलामा बालकोटमा गएर ट्युसन पढाउँछु ।’

आफूहरूले बा मान्ने नेता र पार्टीमाथि गगनले आक्रोशपूर्ण भाषण गरेपछि ओलीका विश्वासपात्र नेता महेश बस्नेत उस्तै आक्रामक हुन पुगे । उनले त अश्लिल गालीको शैलीमा गगनमाथि आक्रोश पोख्नसमेत भ्याए ।

थापाको अभिव्यक्तिलाई लिएर पूर्वमन्त्री एवं एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले आपत्तिजनक भल्गर शब्द नै लेख्न भ्याए । बस्नेतले यस्ता अभिव्यक्ति अनौपचारिक रूपमा आफ्ना साथी सर्कलमा प्रयोग गरेका शब्दावली होइन, उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा महामन्त्री थापाबारे आपत्तिजनक टिप्पणी गरेका छन् । पूर्वमन्त्री तथा विपक्षी पार्टीका महामन्त्रीबारे बस्नेतको टिप्पणीमा सामान्य शिष्टता र राजनीतिक संस्कारसमेत देखाएका छैनन् । बस्नेतको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा धेरैले आपत्ति जनाएका छन् । एमालेकै नेता कार्यकर्तालेसमेत विरोध गरेका छन् ।

यस्तो छ महामन्त्री थापामाथि बस्नेतको टिप्पणी :

‘टिकट वितरण प्रक्रियामा, आर्थिक लेनदेन, धाँदली, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगायत जिल्लामा कुटाकुट गर्ने उम्मेदवार अनि प्रचाण्डेग्रेस , माधबाग्रेस, उपेन्द्रग्राग्रेंस हुन नसकेर देशभर बागी विद्रोही हाल्ने साथीहरूलाई सम्झाउन छाडेर, ब्रेक फेल भएको, भिरको ओरालो हिडेको कांग्रेसलाई ठीक ठाउँमा ल्याउन छाडेर बा र गुरु सरहका नेतालाई ट्युसन पढाउन मन लागेछ मेरो मित्र गगन जिलाई । बोको बड्यो भने मुखमा …… गर्छ भन्थे, हो रहेछ ।’

यस्तै पूर्वकानुनमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले महामन्त्री थापालाई एक जना बबुरो बर्बराएको अभिव्यक्ति दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा आफ्नो स्टाटस राख्दै तामाङले ओलीलाई बालकोट गएर ट्युसन पढाउन आए ज्यालाचाहिँ के दिने होला भन्दै पब्लिकसँग सुझाव मागेका छन् । तर एमालेकै कार्यकर्ताले जिम्मेवार नेताले हलुका टिप्पणी गरेको भन्दै तामाङको आलोचना गरेका छन् । ‘एक जना बबुरो बर्बराउँछ र भन्छ, “केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउँछु।“ साँच्चै ट्युसन पढाउन आयो भने ज्याला (ट्युसन फी) त दिनु नै पर्ला । ज्याला चाहिँ के दिने होला ? लौ न बताईदिनु होला कमसेकम हामीलाई सजिलो हुनेछ ।’

यसैगरी एमाले प्रचार विभागले त कांग्रेसको घोषणापत्रमा पृष्ठ १७ मा लगातार रूपमा एमालेविरुद्ध विषबमन गरिएको फेहरिस्त देखाएको छ । बुधबार प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ओलीबारे ४२ स्थानमा उल्लेख गरेको प्रतिक्रिया दिएका छन् ।

यस्तो छ एमाले प्रचार विभागले जारी गरेको ५ बुँदे टिप्पणी :

१. हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ । कम्युनिस्टका नाममा खडा भएका बुख्याँचाहरुहरुको बुईं चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट, कार्यक्रमिक रुपमा एजेन्डाविहीन र राजनीतिक रुपमा बेइमानीको चरमचुलीमा पुगेका उसको विरोधाभाषपूर्ण दावी, कुतर्क र हास्यापद आत्मश्लाघाहरु पढ्दा थाहा हुन्छ ।

२. कांग्रेसको घोषणापत्रमा १७ पृष्ठ लगातार रुपमा नेकपा (एमाले)का विरुद्धमा विषबमन गरिएको छ । आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीका बारेमा यति धेरै उल्लेख गर्दैन । आफ्ना एजेन्डा, कार्यक्रम र विचारहरु नभएपछि नेकपा (एमाले) को विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ । कांग्रेसको घोषणापत्रमा नेकपा (एमाले) को नाम २३ ठाउँमा उल्लेख छ ।

३. घोषणापत्रमा आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ८ ठाउँमा उल्लेख गरेको कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम ४२ ठाउँमा उल्लेख गरेको छ । आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित भएको यसभन्दा अर्को नमुना के खोज्नुपर्ला र ?

४. शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशनमा पनि आफ्नो नाममा होइन, ‘मैले हारेँ भने ओली आउँछ’ भन्दै केपी ओलीका नाममा चुनाव लड्नुभएको थियो । यसपटक पनि कांग्रेसले आफूसँग कुनै एजेन्डा नभएकाले नै होला, केपी ओलीका नाममा स्थानीय निर्वाचन लड्ने घोषणा गरेर आफ्नो औचित्यमाथि आफैँ प्रश्न खडा गरेको छ ।

५. कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन्, प्रतिद्वन्द्वी हुन् । यस अर्थमा आलोचना, विरोध र खण्डनलाई अन्यथा मान्नुपर्दैन । तर, कांग्रेसले घोषणापत्रमा एमाले र अध्यक्ष ओलीका बारेमा जे जस्तो शब्दहरु प्रयोग गरेको छ, यो पार्टी बैचारिक रुपमा त टाट पल्टेकै छ, शिष्टताका हिसाबले पनि असान्दर्भिक, उत्तेजक र अतिवादीहरुको हातमा पुगेछ भन्ने देखिन्छ । ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्ने जस्ता भाषा शहरतिरका बाख्रापालकहरुले त के सर्पपालकहरुले पनि प्रयोग गर्नु नपर्ने हो ।
अनि यस्तो घोषणापत्रलाई ‘प्रलाप’ नभनेर राजनीतिक दस्तावेज मान्न सकिन्छ ?

कांग्रेस प्रवक्ताले भने, ‘एमाले अध्यक्ष ओलीको अभिव्यक्ति आपत्तिजनक’