NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

को हुन् ६ महानगरका उपमेयरमा भिड्न लागेका प्रमुख दलका १२ उम्मेदवार ?

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि ७५३ वटै पालिकामा उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराइसकेका छन् । अहिले देशभर उम्मेदवारहरू विरुद्ध परेको उजुरीमाथि आयोगले छानबिन गरिरहेको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार वैशाख १५ गते मनोनयन भएको उम्मेदवारबारे छानविन गरी पहिलो चरणको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यसैगरी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यसपटक देशभर मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन र विपक्षी एमाले हुने देखिन्छ । गठबन्धनले महानगरसहित देशैभर तालमेल गरेको छ । एमालेले भरतपुर महानगरसहित केही स्थानीय तहमा मात्र गठबन्धन गरेको छ । उसले राप्रपा, लोसपालगायत दलसँग चुनावी तालमेल गरेको छ । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् । ७५३ स्थानीय तहसहित ६ हजार ७४३ वडामा नयाँ नेतृत्व चुनिंदै छन् ।

स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरबारे जति चर्चा भएका छन्, त्यति नगरपालिका र गाउँपालिकाबारे भएको छैन । त्यस्तै ६ महानगरमा मेयरका उम्मेदवारबारे पर्याप्त चर्चा भइरहेको छ । तर सँगै उममेयरबारे पर्याप्त चर्चा भइरहेको छैन ।

काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरका उम्मेदवार सुनिता डंगोलबारे राजनीतिक दलदेखि मिडियासम्म व्यापक चर्चा पाइन् । लिपी क्वीनका नामले चिनिएकी डंगोलले आठ खम्बे विकास मोडेलसहित वैशाख २ मा काठमाडौंको मेयरका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेकी थिइन् ।

उनी कुनै पार्टीमा आबद्ध नभएपनि उनको परिवार एमाले पृष्ठभूमिको भएको बुझिएको छ । काठमाडौंको लगनटोलकस् स्थायी बासिन्दा रहेकी उनी काठमाडौंको कला, संस्कृति र जात्राहरूलाई भर्चुअल प्रविधिमार्फत विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन् । उनले मानविकी तथा सामाजिक संकायमा स्नातकोत्तर गरेकी छिन् ।

डंगोलको जतिमात्रामा चर्चा भयो तर गठबन्धनबाट उम्मेदवार रामेश्वर श्रेष्ठबारे खासै चर्चा छैन । चर्चामा छैनन् । सत्ता गठबन्धनको भागबण्डामा काठमाडौंको उपमेयर नेकपा एकीकृत समाजवादीले पाएको छ । समाजवादीबाट उम्मेदवार बनेका श्रेष्ठ सम्मानित नेता झलनाथ खनाल निकट मानिन्छन् । उपमेयरमा वडाध्यक्ष ईश्वरमान डंगोल, सर्वोत्तम डंगोललगायतलाई पछि पार्दै खनालको दबाबमा श्रेष्ठ उम्मेदवार बन्न सफल भएका हुन् ।

२०४२ सालमा तत्कालीन नेकपा मालेमा आवद्ध भएका श्रेष्ठ पार्टीको वडा कमिटी सचिव हुँदै जिल्ला कमिटी सदस्य बनेका हुन् । उनी तत्कालीन नेकपामा काठमाडौं महानगर अध्यक्ष बनेका थिए । अहिले नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र काठमाडौं महानगरको इन्चार्ज छन् । काठमाडौंका स्थायी बासिन्दा रहेका उनी ३० वर्षदेखि कम्युिनष्ट राजनीतिमा सक्रिय छन् ।

त्यस्तै ललितपुरमा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्य एमाले महानगर कमिटी अध्यक्ष हुन् । माओवादी पृष्ठभूमिबाट आएकी शाक्य नेकपा विघटनसँगै एमालेमा गएकी हुन् । गत निर्वाचनमा उनलाई माओवादी केन्द्रले उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उनको मतदात सूचीमा नाम नभएपछि चुनावी प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् । एमाले उपाध्यक्ष बादल निकट रहेकी शाक्य २०५६ देखि माओवादी आन्दोलनमा लागेकी थिइन् ।

काठमाडौं महानगरपालिकामा एमालेबाट उपमेयरका उम्मेदवार सुनिता डंगोलबारे राजनीतिक दलदेखि मिडियासम्म व्यापक चर्चा पाइन् । लिपी क्वीनका नामले चिनिएकी डंगोलले आठ खम्बे विकास मोडेलसहित वैशाख २ मा काठमाडौंको मेयरका लागि स्वतन्त्र उम्मेदवार घोषणा गरेकी थिइन्

शाक्य एमालेमा लागेपछि यसपटक गठबन्धनबाट माओवादीले बाबुराजा बज्राचार्यलाई उपमेयरको उम्मेदवार बनाएको छ । गठबन्धनको भागबण्डामा ललितपुर कांग्रेसले पाएपछि माओवादीबाट मेयरका आकांक्षी दिनेश महर्जन र सरोज डंगोल पछि हटेका थिए । बज्राचार्य माओवादी केन्द्रको ललितपुर महानगर कमिटीको अध्यक्ष एवं जिल्ला समन्वय समितिका सदस्य हुन् । शान्ति प्रक्रियामा आएपछि उनी माओवादीमा आबद्ध भएका हुन् ।

चितवनको भरतपुर महानगरमा गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका चित्रसेन अधिकारी भरतपुर–२१ का निर्वतमान वडाध्यक्ष हुन् । अहिले उनी कांग्रेसको भरतपुर महानगर समितिका सभापति छन् ।

त्यस्तै एमाले गठबन्धनबाट उम्मेदवारी दिएका हिमाला गुरुङ राप्रपाकी जिल्ला उपाध्यक्ष हुन् । झापामा एमाले विरुद्ध गठबन्धनसँग सहकार्य गरेको राप्रपाले चितवनमा भने एमालेसँग सहकार्य गरेको छ ।

त्यस्तै पोखरा महानगरमा गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका कांग्रेसकी कोपिला रानाभाट २०३५ सालदेखि नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीति सुरू गरेकी थिइन् । उनी नेपाल महिला संघकी वडा सभापति हुँदै अहिले कस्की जिल्ला समितिको सभापति हुन् । गण्डकी प्रदेश समितिका कोषाध्यक्षसमेत रहेकी उनी ०३६ सालदेखि राजनीतिक आन्दोलनमा सक्रिय रहँदै आएकी छिन् ।

एमालेबाट उम्मेदवारी दिएकी मञ्जु गुरुङ गत निर्वाचनमा उपमेयर निर्वाचित भएकी थिइन् । मेयर बन्ने आकांक्षा राखेकी गुरुङले आफूभन्दा तल्लोतहका नेता दिपक पौडेललाई मेयरको टिकट पाएपछि असन्तुष्ट रहेकी थिइन् । उनी अहिले एमालेका केन्द्रीय सदस्य रहेका छन् । पौडेललाई मेयरको टिकट दिएपछि पार्टीभित्रै तीव्र असन्तुष्टि जनाएपछि पौडेलको टिकट खोसिएको थियो । अहिले एमालेबाट पोखराको मेयरमा कृष्ण थापा रहेका छन् । उनले उपमेयरमै चित्त बुझाएकी छिन् ।

त्यसैगरी वीरगञ्जमा गठबन्धनबाट उपमेरमा उम्मेदवारी दिएका कांग्रेसका इम्तियाज आलम कांग्रेस जिल्ला सचिव एवम् नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् । भागबण्डामा वीरगञ्ज जसपालाई परेपछि कांग्रेसबाट आलमले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले गठबन्धनबाट लोसपाका नेता पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् । उनको राजनीतिक योगदान र सक्रियताबारे खासै चर्चा भएको देखिंदैन ।

त्यस्तै विराटनगरमा गठबन्धनबाट उपमेयरमा उम्मेदवारी दिएका अमरेन्द्र यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । माओवादी पृष्ठभूमिका रहेका उनका बुवा जसपाका कार्यकारिणी अध्यक्ष हुन् । अमरेन्द्र स्कुल पढ्दै गर्दा उनका बुवा भूमिगत भएका थिए । लामो समय अमेरिका र बेलायत बसेका अमरेन्द्र ३४ वर्षका भएका छन् । उनी भूमिगत कालमा भारतको पटनामा बसेर पढेका थिए । मधेश आन्दोलनमा उनको सक्रिय सहभागिता रहेको थियो ।

एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा कार्की कोशी अस्पताल विकास समितिका सदस्य हुन् । कार्कीले लाभको पदबाट राजीनामा नदिएको भन्दै उनीविरुद्ध उजुरीसमेत परेको थियो । तर उनले राजीनामा दिएपनि स्वीकृति प्रक्रियामा केही ढिलाई भएको कोशी अस्पतालका नित्तिम मेडिकल सुपरीटेण्डेन्ट डाक्टर यज्ञराज खरेलले जानकारी दिए । कार्कीलाई ओली नेतृत्वको सरकारले २२ असार, २०७७ मा सदस्यमा नियुक्ति दिएको थियो ।

महानगरमा सत्तापक्ष र प्रतिपक्ष गरी जम्मा १२ मध्ये पाँच जना मात्र उपमेयरमा महिला प्रतिस्पर्धी रहेका छन् । महानगरमा ६ मध्ये गठबन्धनको तर्फबाट कोपिला एक जना महिलाले मात्र उपमेयरमा प्रतिस्पर्धा गर्दै छिन् । कांग्रेसको तर्फबाट उनले पोखरामा उम्मेदवारी दर्ता गराएकी हुन् ।

यसैगरी विपक्षी एमाले गठबन्धनले ६ मध्ये ४ जनालाई महिला उम्मेदवारलाई प्रतिस्पर्धामा उतारेको छ । काठमाडौं, ललितपुर मञ्जली, पोखरा र विराटनगरमा एमालेबाट क्रमशः सुनिता, मञ्जली र शिल्पाले उपमेयरमा उम्मेदवारी दिएका छन् । चितवनको भरतपुरमा एमाले गठबन्धनबाट राप्रपाले हिमालालाई उम्मेदवार बनाएको छ ।

गठबन्धनबाट

काठमाडौं : महानगरमा सिर्जना सिंह (मेयर, कांग्रेस), रामेश्वर श्रेष्ठ (उपमेयर, एकीकृत समाजवादी)
ललितपुर : चिरिबाबु महर्जन (मेयर, कांग्रेस), बाबुराजा बज्राचार्य (उपमेयर,माओवादी केन्द्र)
पोखरा : धनराज आचार्य (मेयर, एकीकृत समाजवादी), कोपिला रानाभाट (उपमेयर, कांग्रेस)
भरतपुर : रेनु दाहाल (मेयर, माओवादी), चित्रसेन अधिकारी (उपमेयर, कांग्रेस)
वीरगन्ज : राजेशमान सिंह (मेयर, जनता समाजवादी), इम्तियाज आलम (उपमेयर, कांग्रेस)
विराटनगर : नागेश कोइराला (मेयर, कांग्रेस), अमरेन्द्र यादव (उपमेयर, जनता समाजवादी)

एमाले गठबन्धनबाट

काठमाडौं : केशव स्थापित (मेयर), सुनिता डंगोल (उपमेयर)
ललितपुर : हरिकृष्ण व्यन्जनकार (मेयर), मञ्जली शाक्य (उपमेयर)
पोखरा : कृष्ण थापा (मेयर), मन्जुदेवी गुरूङ (उपमेयर)
भरतपुर : विजय सुवेदी (मेयर), हिमाला गुरूङ (उपमेयर, राप्रपा)
वीरगन्ज : विजय सरावगी (मेयर), पुरूषोत्तम झा (उपमेयर, लोकतान्त्रिक समाजवादी)
विराटनगर : सागर थापा (मेयर), शिल्पा कार्की (उपमेयर)