NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कोइराला प्रभावित विराटनगरमा कांग्रेसका नागेश र एमालेका सागरबीच कसले मार्ला बाजी ?

काठमाडौं । कांग्रेसको पकड रहेको र तल्लो तहसम्मै प्रभाव जमाएका डा. शेखर कोइरालानिकट नेताले यसपटक विराटनगरमा भिडेरै टिकट हत्याए । पछिल्लो समय कांग्रेसभित्र हार्ड लाइनरको रूपमा देखा परेका नेता डा. शेखर कोइराला पक्षले अन्तिमसम्म भिडेर नागेश कोइरालालाई मेयरको टिकट दिलाएको थियो ।

गठबन्धनको विपक्षमा देखिएका कोइरालाले आफ्नै रोजाइमा कोइरालालाई मेयरको उम्मेदवार बनाएपछि उनको विरोधको स्वर एकाएक मत्थर हुन पुग्यो । टिकट पाएपछि उनले सत्ता गठबन्धनको पक्षमा भोट हाल्न सार्वजनिक अपिल जारी गरे । देशभर कांग्रेसले एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै आएका कोइराला पक्षले अहिले कम्युनिष्टहरूसँगको सहकार्यमा चुनाव जित्ने दौडमा रहेका छन् ।

कांग्रेसको यो निर्णयसँगै निवर्तमान मेयर भीम पराजुलीले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका छन् । मेयरका आकांक्षी रहेका प्रभावशाली नेता डा. डिला संग्रौला प्रतिस्पर्धाबाट बाहिरिइन् । उनले घरदैलोसमेत थालिसकेकी थिइन् । सभापति देउवाले अमृत अर्याललाई मेयरको टिकट दिन खोजेका थिए । तर शेखरको अडानलाई देउवाले यसपटक मानिदिए ।

१४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर पराजित भएयता संस्थापन इतर पक्षको नेतृत्व शेखरले गर्दै आएका छन् । कृष्णप्रसाद कोइरालाका कान्छीपटिका केशव–नोनापुत्र हुन् शेखर । पेशाले चिकित्सक हुन् उनी । ०४७ पछि कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् ।
विपक्षी एमालेबाट मेयरमा महानगर कमिटी अध्यक्ष सागर थापा उम्मेदवार बनेका छन् । थापा हेवी उम्मेदवार नभएपनि महानगरभित्र राम्रो जानकारी भएको नेताका रूपमा लिएका छन् । यसपटक एक्लै इतिहास पल्टाउने दाउमा रहेको एमालेले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितलाई चुनावी कमाण्डर बनाएको थियो । पण्डितले आफै रिक्सा चलाएर घरदैलो कार्यक्रम गरेका थिए । पण्डितको घरदैलो कार्यक्रमले एमालेको पक्षमा कतिको जनमत बढेको स्पष्ट खुल्न बाँकी छ । देशभरको उम्मेदवारको लेखाजोखा गर्दा विराटनगरमा दुई उम्मेदवार नै युवा रहेको बताइन्छ ।

यस्तो छ ०७४ को चुनावी नतिजा

विराटनगर कोइरालाहरूको प्रभावशाली क्षेत्र मानिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले कस्तो असर पार्छ भन्ने कुराले आगामी निर्वाचनमा विशेष अर्थ राख्नेछ । ०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा प्रमुख र उप्रमुख दुवै कांग्रेसले जितेको थियो । कांग्रेस उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याइ विजयी भएका थिए । पराजुली त्यतिखेर पनि शेखर क्याम्पकमै उम्मेदवार थिए । तर १४ औं महाधिवेशनसमम आइपुग्दा उनले देउवा पक्षबाट केन्द्रीय सदस्य जिते ।

उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले १७ हजार ३२१ ल्याएका थिए । संघीय समाजवादीले १४ हजार ९२८ मत ल्याएका थिए । राप्रपाले पाएको मत ५ हजार ५२४ मत पाएका थिए । त्यस्तै उपप्रमुखमा कांग्रेसकै इन्दिरा कार्की २० हजार १४६ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले ११ हजार ५२४ मत ल्याएका थिए । फोरम लोकतान्त्रिकका उम्मेदवारले १० हजार ५३६ मत पाएका थिए । राप्रपाले ४ हजार १०२ मत ल्याएका थिए ।

१९ वडा रहेको यस महानगरमा कांग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा जितेको थियो । त्यस्तै संघीय समाजवादी फोरमले १२, १३, १४, १५, १७ र १८ मा विजयी भएको थियो । एमालेले २, ५ र ११ वडा जितेको थियो । स्वतन्त्रका उम्मेदवारले १० र १९ र माओवादी केन्द्र ६ नम्बर वडामा विजयी भएको थियो । निर्वतमान मेयर पराजुलीको असन्तुष्टिले नागेशलाई अप्ठ्यारो पार्न सक्छ । किनकी नागेश जुनियर रहेको भन्दै उनको आलोचना भइरहेको छ । नागेश तरुणको जिल्ला अध्यक्ष, पार्टीको जिल्ला कोषाध्यक्ष, सचिव हुँदै जिल्ला उपसभापति भएका नेता हुन् ।

वैशाख ३० मा हुने निर्वाचनमा असन्तुष्ट समूहले साथ नदिए विराटनगरमा गठबन्धनका साझा उम्मेदवार पराजित हुन सक्छन् । पार्टी विभाजन भएपनि प्रमुख प्रतिपक्षी दल एमालेको महाधिवेशन पछि संगठन मजबुत बनेको छ । उसले माओवादी, एकीकृत समाजवादी, जसपा लगायत दलहरूबाट नेता तथा कार्यकर्ता प्रवेश गराएर क्षतिपूर्ति असुल गरेको दावी गर्दै आएको छ ।

आगामी दिनमा सम्भावित चुनावी परिणाम

गत निर्वाचनमा १९ वडा मध्ये ७ वडामा मात्र कांग्रेस विजयी भएको छ । ६ वडामा संघीय समाजवादी फोरम विजयी भएको थियो । त्यस्तै ३ वटा वडामा एमाले, २ वटा वडामा स्वतन्त्र र १ वटा वडामा माओवादी केन्द्र विजयी भएको थियो । यसपटक एमाले विभाजन भएर बनेको नयाँ दल एकीकृत समाजवादी र राजमोसमेत गठबन्धनमा रहेका छन् ।

कांग्रेसले माओवादी, जसपा र एकीकृत समाजवादीसँग सहकार्य गरेकाले गठबन्धनका उम्मेदवार सहजै जित्ने अनुमान छ । गठबन्धनले गत निर्वाचनमा पाएको मत जोड्दा ४० हजार बढी देखिन्छ । गत निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भएको थियो । यसपटक एमाले एक्लै चुनावी मैदानमा भिडेको छ ।

गत निर्वाचन परिणामले कांग्रेसभित्र असन्तुष्ट पक्षले अन्तघार्त गरेपनि गठबन्धनले सहजै जित निकाल्न सक्ने देखिन्छ । अन्तिम अवस्थामा एमालेले राप्रपासँग सहकार्य गरेपनि एमालेलाई चुनाव जित्न मुस्किल देखिन्छ । यद्यपि थपिएका नयाँ मतदाताले कसलाई मतदान गर्छन् भन्ने कुराले मतपरिणामलाई प्रभावित पार्न सक्छ । यो सँगै उम्मेदवारको लोकप्रियता, पार्टीको घोषणापत्र र गत पाँच वर्षमा जनप्रतिनिधिले गरेका कामको आधारले पनि मतदाता विभाजित हुन सक्छन् ।