NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी पर्दा माओवादीकी रेनुलाई फाइदा, एमालेलाई बेफाइदा !

काठमाडौं । सत्ता गठबन्धनमा भएको सहमतिले स्थानीय तहको निर्वाचनमा चितवनस्थित भरतपुर महानगरपालिकाको मेयरको उम्मदेवार यसपटक पनि माओवादीकै पोल्टामा पर्यो । तर २०७४ मा जस्तै फेरि पनि माओवादीलाई मेयरमा भोट हाल्ने नसक्ने कांग्रेसभित्रको असन्तुष्टिदेखि बागी उम्मेदवारीसम्म अघि बढ्यो । कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्रका रुपमा मेयरमा उम्मेदवारी दिए । जसले देखिने गरी सत्ता गठबन्धनलाई हानी र एमालेलाई फाइदा हुने साेझाे हिसाब देखिन्छ ।

यसको सोझो हिसाब निकाल्दा कांग्रेसको भोट मेयरमा रेनुलाई नजाने र एमालेका विजयी सुवेदी सहजै देखिन्छ कि भन्ने देखिन्छ । तर गहिरिएर विश्लेषण गर्ने हो भने अवस्था बाहिर प्रचार भएको जस्तो नहुनेसम्मको हिसाब निकाल्न थालिएको छ । कांग्रेसबाट बागी उम्मेदवार पर्नुले बाहिर एमाले खुशी जस्तो देखिएको छ । तर बागी उम्मेदवार नहुँदा नै आफ्नो लागि ठूलो फाइदा पुग्ने आन्तरिक समीक्षा एमालेको छ ।

भरतपुरमा अघिल्लोपटक १ लाख ५० हजार मतदाता थिए । यसपटक ३५ हजार थपिएका छन् । जसमा १ लाख ४० हजार हाराहारी भोट खस्न सक्छ । मेयरमा बागीसहितका उम्मेदवार हुँदा ५० प्रतिशत मतले जित्ने अवस्था हुनेछैन । कम्तिमा ५५ प्रतिशत बढी भोट ल्याउनुपर्छ ।
गत निर्वाचनमा पनि भरतपुरको मेयरमा कांग्रेसका उम्मेदवार थिएनन् । तर उम्मेदवारी फिर्ता लिए पनि कांग्रेसको पक्षमा सात हजार भोट खसेको थियो ।

अध्यक्षमा माओवादीकी रेनुल दाहालले २०३ मतको झिनो अन्तरले जित्दा ४३ हजार एक सय २७ मत ल्याएकी थिइन् । एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । राप्रपाका बद्रि तिमल्सिनाले मेयरमा ल्याएको मत ६ हजार ८ सय ४२ थियो । तर बद्रि अहिले माओवादीमा प्रवेश गरेका छन् । राप्रपाले उपमेयर लिएर एमालेलाई मेयरमा सघाए पनि विभाजित राप्रपाको पहिलेजति भोट नआउने बताइन्छ ।

माओवादीले गत चुनावमा वडा तहमा २० हजार मत कटाएको थियो । काग्रेस र एमाले दुवैको ३८ हजार मत वडामा आएको थियो । यो पाँच वर्ष मेयर बन्दा थुप्रै कांग्रेस कार्यकर्ता माओवादीमा प्रवेश गरेको बताइन्छ । प्रभाव पारेरै हजाराैं काग्रेस कार्यकर्ता माओवादीमा प्रवेश गराइएकाे भन्दै कांग्रेसका सिनियर नेताले प्रश्न उठाउँदै अाएका छन् ।  यतिमात्रै होइन बाबु प्रचण्डको पहुँचमासमेत बजेट खन्याएर चितवनमा सडक, तटबन्ध जस्ता पूर्वाधारमा केही देखिने काम गरिएको छ । यसले स्वतन्त्र मतदातालाईसमेत आकर्षित गर्ने बताइन्छ ।

विकासमा भरतपुरले रेनुको कार्यकालमा धेरै प्रगति गरेको दाबीसमेत गरिएको छ । कांग्रेस र विपक्षीलेसमेत देखिने गरी भरतपुरमा परिवर्तन आएको स्वीकार्दै आएका छन् । यसबाट पनि रेनुले पार्टीका पक्षमा झण्डै ३५ हजार मत खसाल्ने हिसाब छ । कांग्रेसका बागी उठ्दा पनि कांग्रेसको बढीमा ४० प्रतिशतसम्म मत काट्न सक्ने बताइन्छ । यस्तोमा यो मत एमालेमा जाने छैन । स्वतन्त्रका पौडेलको पक्ष वा रुखमा झर्न सक्ने बताइन्छ ।

अर्कोतिर पहिले भरतपुरमा मेयर र उपमेयरमा मात्रै तालमेल थियो । यसपटक २९ मध्ये कांग्रेसले २० वटा वडा आफूले लिएको छ । ९ वटा वडा माओवादी, नेकपा एकीकृत समाजवादीसहितले लिएका छन् । उपमेयर पनि कांग्रेसकै भागमा छ ।

अर्कोतिर माओवादीलाई जिताउने विषयलाई सत्तारुढ दलले प्राथमिकतामा राखेको छ । बागी उम्मेदवारीलाई फिर्ता गराउन गृहमन्त्री, मन्त्रीसहितका नेता लगाएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले निक्कै जोडबल गर्दै आएका थिए । तर पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेस नेतृत्व असफल भएको छ । उम्मेदवारी फिर्ता नलिएपछि उम्मेदवार बनेका पौडेल, प्रस्तावक र समर्थक पनि पार्टीबाटै निकालिएका छन् ।

गठबन्धनको पक्षमा भोट हाल्न चितवन कांग्रेसले पटकपटक अपिल गरेको छ । उपमेयर र दुई तिहाइ बढी वडामा कांग्रेसका उम्मेदवार भएपछि रेनुलाई दिने भोट सबै पार्टीले कारवाही गरेका पौडेलको पक्षमा नजाने बताइन्छ ।

बागी उम्मेदवार खडा भएपछि रेनु हार्न सक्ने भएपछि जित्न सत्ता गठबन्धनलाई बढी मेहनत गर्न पाउँदाको फाइदा पनि हुनेछ । कांग्रेसबाट बागी उम्मेदवार नपरेको भए कांग्रेसको भोटलाई लिएर सत्ता गठबन्धन र माओवादी ढुक्कको स्थितिमा हुन सक्ने थिए । कांग्रेसबाट मेयरमा उम्मेदवार नहुँदा असन्तुष्ट मत एमालेमा जान सक्ने सम्भावना धेरै थियो । तर कांग्रेसमा जतिसुकै तनाव भए पनि बागी उम्मेदवार भएपछि असन्तुष्ट मत एमालेमा जानबाट रोकिएको छ । बरु बागीले गर्दा जसरी पनि जित्नुपर्ने गरी अभियान थाल्ने र माहोल बनाउने समय सत्ता गठबन्धनका कांग्रेस र माओवादीलाई मिलेको छ ।

भोलिको राजनीतिक भविष्यको चिन्ता र चासो देखाएर पनि राजनीतिक भविष्यको लागि पनि गठबन्धनप्रति इमान्दार बन्नुपर्ने नभए पार्टीबाटै निकालिनुपर्नेसम्मको चेतावनी र दबाब बढाउन सक्ने देखिन्छ । चितवन कांग्रेसका पुराना र कुनै समय प्रभाव जमाएका नेतामाथिको पार्टीबाटै निष्कासनले यस्तै देखाउँछ । यसैले पनि बागी र एमालेको पक्षमा कांग्रेसबाट भोट झार्ने गरी अभियान गर्न कांग्रेसका वडा तहसम्मका नेतालाई कठिन हुने देखिएको छ ।

‘पहिलेको चुनावमा कांग्रेसको उम्मेदवार नहुँदा पनि सात हजार भोट आएको थियो । फेरि यसपटक कांग्रेसका बागी देखिएका छन् । उनी बागी देखिंदा कांग्रेसको असन्तुष्टको भोट एमालेमा भने नजाने भयो’ चितवन कांग्रेसका एक नेता भन्छन्, ‘यसपटक माओवादीले पनि भोट बढाएको छ । कांग्रेसको पनि भोट बढेको छ । कांंग्रेसको भोटको ३३ प्रतिशत मत बागीले काटे पनि बढीमा १५ हजारसम्म मत काटिन सक्छ । यस्तोमा माओवादीकै रेनुले जित्ने सम्भावना बढी देखिन्छ ।’ सत्ता गठबन्धनको तर्फबाट कांग्रेस, माओवादी, एमाले फुटेर बनेको नेकपा एस, जसपाको भोट पनि रेनुलाई खस्दा यसको फाइदा हुन सक्नेछ । कांग्रेसबाट बागी नभएको भए असन्तुष्टको मत एमाले जाने हुँदा रेनुलाई झन् गाह्रो हुन सक्ने अवस्था बताइने गरेको छ ।

गठबन्धनलाई रेनुको जित अति आवश्यक

सत्ता गठबन्धनले स्थानीय तहको चुनाव मात्रै हेरेका छैनन् । आगामी प्रदेश सभा र संघीय संसदको चुनाव पनि हेरेका छन् । २०७४ सालमा एमाले र माओवादी मिल्दा कांग्रेसको अवस्था दयनीय भएको थियो । त्यसैले यसपटक कांग्रेसले माओवादीलाई एमालेको कित्तामा पुग्न नदिन भरतपुरसहितका धेरै स्थानीय तहमा तालमेल गरेर जिताएरै छोड्ने प्रण गरेको छ ।

किनकी भरतपुरमा यसपटक रेनुलाई जिताउन नसक्ने हो भने माओवादी गठबन्धनबाट बिच्कने खतरा धेरै छ । यसैले देउवाले बागी उठे पनि जसरी पनि रेनु जित्ने गरी अभियान चलाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेका छन् । यस्ताे सर्कुलर कांग्रेसको तल्लो पंक्तिसम्म पुगिसकेको छ ।

कांग्रेसमा १४ औं महाधिवेशन यसै वर्ष भएको छ । सभापति देउवा अझै ५ वर्ष यही पदमा रहनेछन् । यस्तोमा स्थानीय तहपछिका प्रदेश र संघीय निर्वाचन पनि देउवाले गराउनेछन् । यी चुनावमा टिकट बाँड्दा देउवा नै हावी हुनेछन् । अर्कोतिर सुरुमा असन्तुष्ट भए पनि डा. शेखर कोइराला पक्षले बागी र विद्रोही नबनी सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ । पार्टीमा बागी र विद्रोही बन्दा राजनीतिक भविष्य नै धरापमा पर्न सक्ने अवस्था कांग्रेसमा देखिएको छ । यसैले केही पुराना नेतालाई छोड्ने हो भने पार्टीमा भविष्य देख्ने र युवा नेताले बागीको पक्षमा भोटको लागि अपिल नगर्ने चितवनका ती नेता बताउँछन् ।

‘लगातार दुईपटक माओवादीलाई भोट हालेर जिताउनु कांग्रेसका लागि राम्रो होइन । तर, हामीले मेयरमा माओवादीले भोट हाल्दा उपमेयरमा माओवादीले पनि कांग्रेसलाई भोट हाल्नुपर्ने हुन्छ । अर्कोतिर २० वटा वडामा कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेकालाई जिताउन पनि माओवादीले भोट हाल्नुपर्नेछ’ ती नेता भन्छन्, ‘यस्तोमा माओवादी जित्ने भो भनेर मात्रै भएन । कांग्रेसका पनि जित्दैछन् भनेर हेर्नुपर्ने हुन्छ । होइन यसै गरी बागी र विद्रोही बनिरहने हो भने भोलिको राजनीतिक भविष्य भएका नेताको पनि करियर सकिन सक्छ । यसैले धैर्य गर्नु नै सबैको हितमा छ ।’ तर संगठनमा एमाले एकदमै बलियो बनेको छ । पाँच दल एकातिर भए पनि बलियो संगठन भएको एमालेले राप्रपाको समेत बलमा सत्ता गठबन्धनलाई दरिलो टक्कर दिनेछ । मेयरमा एमाले मेयरका उम्मेदवार विजय सुवेदी लाेकप्रिय हुनुकाे फाइदा एमालेलाई छ ।

यद्यपी पार्टीबाट निकालिएको झोकमा कांग्रेसका बागी पौडेल पक्षले अन्ततः एमालेलाई भोट हाल्ने गरी चुनावका दिनसम्म समीकरण बन्यो भने भरतपुरको कथा बेग्लै हुनेछ ।