NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आचारसंहिता मिचेर सरावगीद्वारा धर्मशालालाई जग्गा दान !

वीरगञ्ज । नेकपा एमालेका वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार विजयकुमार सरावगीले निर्वाचन आचारसंहिताविपरीत मतदाता प्रभावित पार्न धर्मशालालाई जग्गा दान गरेका छन् । कतिपय वडामा साडीलगायत लत्ता कपडा बाँडेको आरोप पनि उनीमाथि छ ।

आइतबार महानगरपालिकाको वडा नं. १ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा सरावगीले धर्मशाला निर्माणका लागि जग्गा दान दिने प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचन आचारसंहिता लागू भएपछि उम्मेदवारले दान, दक्षिणा र प्रलोभन देखाउन मिल्दैन । उम्मेदवारले मतदाता प्रभावित पार्नसक्नेतर्फ मध्यनजर गरेर आयोगले आचारसंहितामा यस्तो प्रावधान समेटेको हो ।

आइतबार नै वीरगञ्ज महानगरपालिका– ५ मा सरावगीले साडी वितरण गरेको आरोप प्रतिस्पर्धी दलले लगाएका छन् । वडाध्यक्षका उम्मेदवार प्रदीप चौरसियासँग मिलेर सरावगीले महिलाहरुलाई साडी वितरण गरेको बताइए पनि यसको पुष्टि हुन भने बाँकी छ ।

निर्वाचन प्रचारप्रसारमा पनि सरावगीले आचारसंहिता मिचेका छन् । निर्वाचन आचारसंहिताको परिच्छेद २ को ५ (ख) १ मा एउता उम्मेदवारले बढीमा सात बार्इ सातको विज्ञापन एक पटक एउटा मात्र पत्रपत्रिकामा प्रकाशित गर्न पाइने व्यवस्था छ । तर सरावगीले त्यसको वेवास्ता गर्दै पटक–पटक मतदातालाई आफूलाई जिताउन आह्वान गर्दै विज्ञापन प्रकाशित गरिरहेका छन् ।

मेयरमा निर्वाचित भएपछिका चार वर्षमा सरावगीले कहिल्यै आमा खुवाउने औंसीका दिन आमाहरूलाई सम्मान गरेको महानगरपालिकाका स्थानीयलाई सम्झना छैन । तर उनले यस पटक आमाको मुख खुवाउने दिन आमाहरूलाई सम्मान गरेका छन् । वीरगञ्जका स्थानीयले मतदाता प्रभावित पार्नकै लागि मेयर छँदा नसम्झिएका आमाको सम्मानमा कार्यक्रम राखेको आरोप लगाएका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेकोबारे सरावगीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा स्थापित हुन सकेन ।

महानगरपालिकाका एमाले उम्मेदवारले धर्मशालालाई जग्गा दान गरि आचारसंहिता उल्लंघन गरे पनि निर्वाचन आयोगले ध्यान नदिएको आरोप जनता समाजवादीलगायतले लगाएका छन् ।