NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

आज आठ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष हामी नारी दिवस मनाउँछौं । महिला हक र अधिकारका नारा पनि दिन्छौं । केही कार्यपत्र प्रस्तुत हुन्छन्, गोष्ठी, सेमिनार पनि होला । तर व्यवहारमा महिलामाथिको हिंसा, विभेद र ज्यादती उस्तै छ ।

केही वर्षपहिले नेपालका महिलावादी संघ–संस्थाहरूले एउटा अभियान चलाएका थिए । त्यो अभियान थियो, गर्भपतनलाई कानूनी मान्यता दिलाउने । अनिच्छित गर्भका कारण असुरक्षित गर्भपतन बढेको र त्यसले बाल मृत्युदर बढाएको दलिल दिँदै थालिएको यो अभियान सफल भयो र गर्भपतनले कानूनी मान्यता पनि पायो । पहिला लुकिछिपी गर्भपतन गराउनेहरूले अब खुला छुट पाए । तर यसको नकारात्मक परिणाम भने झन् भयावह देखियो ।

अहिले अल्ट्रासाउण्डबाट गर्भमा छोरी छ कि छोरा भन्ने स्पष्टै ठम्याउन सकिन्छ । छोराको चाहना राख्ने, छोरालाई वैतरणी तारिदिने सेतु ठान्ने र वंश निरन्तरताको बाहक ठान्ने हाम्रो पितृसत्तात्मक समाजलाई प्रविधि र गर्भपतनको कानूनी मान्यताले झन् सजिलो बनाइदियो । आधिकारिक तथ्यांक त राज्यसँग हुने कुरा आएन, तर विभिन्न रिपोर्टहरूबाट के तथ्य बाहिर आएको छ भने बर्सेनि हजारौं छोरीहरूको गर्भमै हत्या हुन्छ ।

छोरीको जीवन गर्भमै असुरक्षित छ । गर्भमा छोरी भएको थाहा पाएर गर्भपतन गराउने हाम्रो समाजमा गर्भबाहिरका छोरीहरू कसरी सुरक्षित हुन सक्छन ?

मुलुकी अपराध (संहिता), २०७४ अनुसार लिंग पहिचान गरी गर्भपतन गरेमा गर्भपतन गर्ने चिकित्सक र दम्पतीलाई जेल तथा जरिवानाको व्यवस्था छ । संहिताको परिच्छेद १३ मा गर्भ संरक्षणविरुद्धको कसुरमा लिंग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई २ देखि ६ वर्षसम्म कैद वा २० हजारदेखि १ लाख रूपैयाँसम्म जरिवाना हुने उल्लेख छ । तर कानूनको कार्यान्वयन पक्ष भने फितलो छ ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानूनी प्रावधान छ । हाडनाता करणी, शिशु र आमाको ज्यान जानसक्ने खतरा र अन्य विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिन्छ । गर्भपतनले कानूनी मान्यता पाएपछि गर्भपतन गराउनको संख्या बढेको छ । यद्यपि, गर्भपतनको मारमा छोरीहरू नै पर्ने गरेको पाइन्छ । यसको पुष्टि केही वर्षयता जन्मिएका बच्चाहरूमा लैंगिक असमानता देखिनुले पनि गर्छ ।

छोरालाई सर्वश्रेष्ठ मान्ने सोचका कारण नेपालमा मात्र होइन, भारतमा गर्भकै छोरीको हत्या हुने क्रम बढदो छ । भारतको संविधानको अधिनियम ४९९४ अनुसार गर्भधारणपूर्व या पछि लिंग चयन या जन्मनुअघि कन्याको भ्रूण हत्याका लागि लिंग परीक्षणलाई कानूनी अपराध मानिएको छ । तैपनि, भारतमा लाखौं छोरीहरूको गर्भमै हत्या भइरहेकै छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘छोरी बचाऊ, छोरी पढाऊ’ कार्यक्रम ल्याएकाले केही हदसम्म चेतना जागरण भए पनि बढ्दो भ्रूण हत्याको क्रम जारी छ ।

विडम्बना त के भने, बलात्कारपछि पनि बलात्कारीकै पक्षमा फेसबुकमा वकिल र न्यायाधीश बन्नेको लर्को नै लागेको छ । अचम्मको रहेछ हाम्रो समाज र पितृसत्तात्मक सोच

छोराको चाहनामा गर्भमै छोरीको हत्या गर्ने प्रवृत्ति चीन पनि उत्तिकै पाइन्छ । चीन अधिनस्थ हङकङमा रगतबाटै ७ देखि १० हप्तासम्मको भू्रणको लिंग पहिचान गर्न सकिने प्रविधि आइसकेको छ ।

ईश्वरी सिंह

अनलाइन कम्पनीहरूले चीनबाट हङकङसम्म गुप्त रूपमा रगत पठाउने र परीक्षणबाट गर्भमा छोरी भएको खण्डमा भ्रूणमै हत्या गराउने अपराधिक प्रवृत्ति बढदो छ ।

हुन त, चीनले सन् २००२ देखि नै गर्भमै लिंग पहिचानलाई अपराधको कोटीमा राखेका छ । तैपनि, अनेक गिरोहले चीनबाट गर्भवतीको रगतका नमुना पठाउँछन् र गर्भमै छोरीको हत्या गराउँछन् ।

चीनमा सन् १९७० मा एक मात्र बच्चा पाउने नीति लागू भयो । जसले त्यहाँ लिंग भेद ह्वात्तै बढ्यो ।

छोरीहरूको भू्रणमा हत्याको क्रम पनि बढ्यो । सन् २०१५ आएर एक मात्र सन्तानको बञ्देज त हटाइयो, तर छोरीको भ्रूण हत्याको क्रम घटेन ।

भारतमा प्रति एक हजार पुरुष बराबर ९३० महिला छन् । चीनमा प्रति एक हजार पुरुष बराबर ९२० महिला जना छन् । यसैकारण सन् १९७० देखि २०१७ बीचमा चीनमा १ करोड २० लाख छोरीको हत्या भयो, जन्मनुअगावै पेटमै ।

कतिपय मिडिया बलात्कृतको कन्याजाली च्यातिएको विषयलाई हटकेक बनाइरहेका छन् । बलात्कृत चेलीकै अस्मितामा ठेस लाग्नेगरी उनको इज्जतको धज्जी उडाइरहेका छन्

छोरीको जीवन गर्भमै असुरक्षित छ । गर्भमा छोरी भएको थाहा पाएर गर्भपतन गराउने हाम्रो समाजमा गर्भबाहिरका छोरीहरू कसरी सुरक्षित हुन सक्छन ? भन्ने गम्भीर प्रश्न छ ।

मैले पत्रकारिता छाडेको धेरै भयो । लेख्न छोडेको पनि धेरै भयो । तर आज नलेखी मनले मानेन । खासगरी, अभिनेता पल शाहले एक नाबालिग गायिकामाथि गरेको जर्बजस्ती करणीको मुद्दाबारे जुन बहस चलिरहेको छ, त्यसका अनेक दृष्य–परिदृष्य देखेपछि म लेख्न बाध्य भएकी हुँ ।

समाजमा महिलामाथि दिनहुँ बलात्कार हुँदैछ । उनीहरूको आशा, भरोसा, सांच, भावना र शरीर लुटिँदैछ । तैपनि, हाम्रो समाज मौन छ । विडम्बना त के भने, बलात्कारपछि पनि बलात्कारीकै पक्षमा फेसबुकमा वकिल र न्यायाधीश बन्नेको लर्को नै लागेको छ । अचम्मको रहेछ हाम्रो समाज र पितृसत्तात्मक सोच ।

बलात्कारमा परेकी महिलाको इज्जतको धज्जी उडाएर समाजले उपनाम राखिदिन्छ । दोषीमाथि कारबाही हुँदैन र फेरि यस्तै प्रक्रिया दोहोरिरहन्छ । अब आफैं भन्नुस्, हामीले कस्तो समाजको निर्माण गरेका रहेछौं ?

कतिपय मिडिया बलात्कृतको कन्याजाली च्यातिएको विषयलाई हटकेक बनाइरहेका छन् । बलात्कृत चेलीकै अस्मितामा ठेस लाग्नेगरी उनको इज्जतको धज्जी उडाइरहेका छन् ।

बलात्कारीले त दुई–चार पटक बलात्कार गर्‍यो । तर यहाँ कथित सभ्य समाज र कतिपय मिडियावालाहरूले पीडितमाथि मनोवैज्ञानिक रूपमा पटक–पटक बलात्कार गरिरहेका छन् । पीडितका बारेमा जथाभाबी लेखिरहेका छन्, मानौं बलात्कार पनि एउटा ग्ल्यामरस या मनोरञ्जनको विषय हो ।

बलात्कारीले त दुई–चार पटक बलात्कार गर्‍यो । तर यहाँ कथित सभ्य समाज र कतिपय मिडियावालाहरूले पीडितमाथि मनोवैज्ञानिक रूपमा पटक–पटक बलात्कार गरिरहेका छन् । मानौं, बलात्कार पनि एउटा ग्ल्यामरस या मनोरञ्जनको विषय हो

धिक्कार छ कस्तो समाज हो यो ? पीडितलाई न्याय दिनु त कता हो कता अझ पीडककै बचाउ गरिँदैछ । महिला र पुरुषबीच भिन्नता र फरक शिक्षाका कारण चेलीले यो नियति भोग्न बाध्य हुनुपरेको छ । बदनाम हुनुपर्ने त बलात्कारी हो, तर यहाँ पीडितकै बदनाम गरिँदैछ । अझ, कतिपय नायिका नै ‘पल शाह निर्दोष छन्’ भन्दै फलाकिरहेका छन् । कहाँ गयो उनीहरूको नारी संवेदना ? के भोलि कुनै पिपासुले उनीहरूमाथि यस्तै नगर्ला भन्ने कुनै प्रत्याभूति दिनसक्छ यो समाजले ? के सबै नारी यहाँ सुरक्षित छन् ? नारीको अस्मिता संकट परिरहेको बेला कतिपय नारी नै किन पीडकको पक्षमा ? उदेकलाग्दो अवस्था हो ।

समाजमा यसरी दिनानुदिन बलात्कारको घटना किन बढरहेको छ ? बलात्कारका समाचार किन हरेक दिन पढ्न पाइन्छ ? यसबारेमा कतिपय बुद्धिजीवी अनि महिला अधिकारकर्मी भनाउँदाबाटै अचम्मका तर्क सुन्न पाइन्छ । ‘आजकालका केटीहरू छोटा–छोटा लुगा लगाएर तिघ्रा देखाउँदै हिड्न थालेपछि बलात्कार त हुने नै भयो’जस्ता तर्क गर्ने गरिएको छ ।

छोटो लुगा नै बलात्कारका घटना बढ्नुको कारण हो भने विदेशमा पेन्टी र ब्रा मात्र लगाएर केटीहरू स्वतन्त्र भएर हिँड्ने गरेका छन् । समुद्रका किनारमा त केटीहरू नग्न भएरै ‘सन बाथ’ गरिरहेका हुन्छन् । राज्यले त्यहाँ उनीहरूलाई भरपुर सुरक्षा दिएको हुन्छ । कुनै स्त्री छोटो लुगा लगाएर हिँड्नुको अर्थ कुनै यौन पिपासुलाई उनीमाथि बलात्कार गर्ने लाइसेन्स दिएको होइन ।

कुनै स्त्री छोटो लुगा लगाएर हिँड्नुको अर्थ कुनै यौन पिपासुलाई उनीमाथि बलात्कार गर्ने लाइसेन्स दिएको होइन

बलात्कारका घटना बढ्नुको कारण छोटो लुगा होइन, छोटो सोच र मानसिकता हो । समाजले महिला र पुरुषबीच गरेको विभेद र नियम हो । महिलाको स्वतन्त्रतालाई समाजले परम्परागत मान्यता, संस्कार र संस्कृतिको दाम्लोले बाँधेर राख्यो, तर पुरुषलाई स्वतन्त्र छोड्यो । केटाले केटी जिस्क्याउनु, केटीका संवेदनशील अंगहरूमा छुनु, मैत्रीभावले अलिकति केटी नजिक हुनासाथ त्यसलाई यौन सम्पर्ककै ‘ग्रिन सिग्नल’ ठान्नु अधिकांश पुरुषको सोच रहने पर्छ ।

के नियम, कानून र इज्जत बचाउने ठेक्का महिलाको मात्र हो ? वाह हाम्रो समाज, के पुरुषको चाहिँ इज्जत हुँदैन ? मलाई सोध्न मन लागेको छ, तर जवाफ कसले दिनसक्छ र ? पीडितको कन्या योनी च्यातियो भनेर भंगेरे अक्षरमा समाचार बनाउने हे पत्रकार महोदय ? महिलालाई बलात्कार गर्ने पुरुषको चाहिँ केही नच्यातिदो रहेछ ? तपाईंका दृष्टि किन महिलाकै योनीमा मात्र केन्द्रित भएको ? एक–एक केस्रा केलाएर समाचार किन बनाएको ? अरूको छोरी–चेलीलाइ गिद्धे दृष्टि लगाउने र बलात्कार गर्न तम्सिने पुरुषले मात्र एक चोटि आफ्नो घरका चेलीबेटीतिर आँखा घुमाएर हेर्नुस्, जवाफ आफैं पाउँनुहुन्छ ।

बलात्कारका घटना बढ्नुको कारण छोटो लुगा होइन, छोटो सोच र मानसिकता हो । समाजले महिला र पुरुषबीच गरेको विभेद र नियम हो

प्रेमिकाले यौन सम्बन्ध गर्न नमान्दा प्रेमिका नै परिवर्तन गर्ने पुरुषले श्रीमतीचाहिँ ‘भर्जिन’ नै चाहन्छ्न । आफ्नी आमालाई ‘माई लभ’ भन्नेहरू अरूका आमालाई ‘क्या दामी आण्टी’ देख्छन् । आफ्ना दिदी–बहिनीचाहिँ ‘मुटुको टुक्रा’, अरूका दिदी–बहिनीचाहिँ ‘क्या माल’ रे । अरूका श्रीमतीमाथि आँखा गाड्नेहरूले आफ्नो श्रीमतीलाई कसैले न हेरोस् भन्ने चाहन्छन् ।अचम्म छ बा । विवाहअघि नै यौन चाहना राख्नेले किन ‘भर्जिन’ श्रीमती चाहन्छन् ?

बलात्कारका घटनामा धेरैजसो नाबालिकाहरू पर्ने गरेका छन् । नाबालिकासँग सहमतिमा होस् वा फकाएर होस्, बलात्कार गर्नेले सजाय पाउने कुरा कानूनमा उल्लेख छ । किनकि, यो उमेरमा के राम्रो, के नराम्रो, के सही, के गलत भन्ने कुराको ज्ञान हुँदैन । यो उमेरमा नयाँ विषयहरूमा जान्ने चाहना हुन्छ, जसले गर्दा जो कोहीले बालिकालाई फकाउन सक्छन् ।

महिला र पुरुषलाई समान अधिकार नदिएसम्म र महिलाप्रति सम्मानजनक र सम्यक सोच समाजमा विकास नभएसम्म यस्ता घटना बारम्बार दोहोरिन्छ्न्

यो रमाइलो र मनोरञ्जन गर्ने उमेर भएकाले जिन्दगी कति महत्त्वपूर्ण छ भन्ने कुराको ख्याल नै हुँदैन् । उनीहरूमा परिपक्वता नहुने भएकाले जो कसैले प्रलोभन देखाएर यौन शोषण गर्नसक्ने अवस्था हुनसक्छ । यसका लागि बालिकाहरूलाई सानैदेखि यौन शिक्षा दिनुपर्छ । उमेर नपुग्दासम्म विवाह र यौनसम्पर्क गर्नु हुँदैन भन्ने शिक्षा दिनु अपरिहार्य छ ।

हो, हावा, पानी र खानाजस्तै यौन सम्बन्ध पनि आवश्यकता हो भनेर लाज नमानी छोराछोरीलाई ज्ञान दिन आवश्यक छ । तर यौन सम्बन्धलाई कसरी सुरक्षाका साथमा कायम राख्ने भन्ने विषयमा पनि खुलेर कुरा गर्नुपर्छ ।

महिला र पुरुषलाई समान अधिकार न दिएसम्म र महिलाप्रति सम्मानजनक र सम्यक सोच समाजमा विकास नभएसम्म यस्ता घटना बारम्बार दोहोरिन्छ्न् । घटनाहरू दिनदिनै बाहिर आउँछन् । महिला अधिकारकर्मीहरू ठूलो स्वरमा कराउँछन् । बलात्कारमा परेकी महिलाको इज्जतको धज्जी उडाएर समाजले उपनाम राखिदिन्छ । दोषीमाथि कारबाही हुँदैन र फेरि यस्तै प्रक्रिया दोहोरिरहन्छ । अब आफैं भन्नुस्, हामीले कस्तो समाजको निर्माण गरेका रहेछौं ?