NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कस्तो छ देउवाको कोर टिम ?

काठमाडौं । वी.पी. कोइराला, गिरिजाप्रसाद कोइराला परिवारको ‘लिगेसी’ विरुद्ध कृष्णप्रसाद भट्टराईको धाप पाएपछि नेपाली कांग्रेसको राजनीतिमा छोटो समयमा स्थापित पात्र हुन् शेरबहादुर देउवा । गिरिजाप्रसाद कोइराला पहिलो पटक २०४८ सालमा प्रधानमन्त्री हुँदा देउवालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए । तर, २६ भदौ ०५२ सम्म आइपुग्दा उनै देउवा प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन पुगे । प्रधानमन्त्रीको कुर्सीमा आसिन हुँदा उनी ४९ वर्षका थिए । देउवा प्रधानमन्त्रीको कुर्सीमा पुग्नुमा भट्टराई र गणेशमान सिंहको योगदान महत्वपूर्ण थियो ।

किनकी उनीहरुले गिरिजाप्रसाद कोइरालाको पेलान् झेल्नका लागि देउवालाई अघि सारेका थिए । जब कि त्यसअघि देउवा कोइाला कोटरीमै थिए । नत्र कोइरालाले उनलाई गृह मन्त्री बनाउने नै थिएनन् । महत्वकांक्षी देउवा २०४८ सालयता सधैं सत्ता र शक्तिमा छन् । उनलाई पाँचपटकसम्म प्रधानमन्त्री बन्ने अवसर मिलिसकेको छ । कोइराला विरासतलाई पल्टाउँदै उनी १३ औं महाधिवेशनबाट सभापतिमा जित्न सफल भइसकेका छन् ।

आफ्नो समूहलाई जबर्जस्त रुपमा संरक्षण र परिचालन गर्न सक्ने खुबीका कारण देउवा शक्ति आर्जनमा सफल भएको मानिन्छ । रामचन्द्र पौडेल नेतृत्वको संस्थापनमा दर्जनौं गुट उपगुटका हाँगा मौलाउँदा तुलनात्मक रुपमा देउवाले आफ्नो टिमलाई एकढिक्का नै राख्दै आएका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचन सामुन्नेमा मुल कांग्रेससँग एकता गरेयता देउवा गुट ‘एकढिक्का’ छ भनेर बुझिन्थ्यो । उनको गुटको बोली, अडान र तर्क एउटै सुनिन्थ्यो । समूहको भावनाभन्दा बाहिर गएर कुनै नेताले सार्वजनिक टिप्पणीसमेत गर्दैनथे ।

तर, १३ औं महाधिवेशनदेखि १४ औं महाधिवेशनको पूर्व सन्ध्यासम्म आइपुग्दा देउवा समुह न एकढिक्का छ न एउटै लयमा छ । उमेरले ७५ वर्षको नेटो काटिसकेका देउवा राजनीतिक हिसाबले समेत उत्तरार्धमा छन् । यही बेला उनको टिममा चरम उकुमुकुस देखिन थालेको छ । पार्टी सभापतिमात्रै होइन, अप्ठ्यारो अवस्थामा प्रधानमन्त्री बनेका देउवा टिमको लय यतिखेर एउटै हुनुपर्ने हो । तर, आफ्नो राजनीतिक अस्तित्वको लडाईंमा रहेका उनको टिमका नेताहरूमा महत्वकांक्षाले चरम बेमेल देखिएको छ ।

‘देउवाजी प्रधानमन्त्री हुनुहुन्छ । पार्टी सभापति हुनुहुन्छ । तर, उहाँको कोर टिम नै देखिंदैन । प्रधानमन्त्री बनेको एक महिना बितिसकेको छ । मन्त्री छैनन् । सचिवालय छैन’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘बरु प्रचार गरिने कोर टिम भित्रै लफडा छ । कोर टिम पहिले जस्तो एकढिक्का छैन । विभाजित छ । टिममा चरम बेमेलको स्थिति छ ।’

पहिले एउटै बोली बोल्ने नेताहरुको श्रृखलावद्ध असन्तुष्टि र सभापतिको बचाउमा उनीहरु नउत्रिनुले देउवा एक्लिंदै गएको टिप्पणी आचार्यको छ ।

‘विमलेन्द्र निधि देउवा टिममा हुन्जेल सबैलाई मिलाएर राखेका थिए । तर, अहिले कोर टिम को हो भन्नेमै समस्या देखिन्छ । महामन्त्री र प्रवक्ताले नै सभापतिको रक्षा गरेको देखिंदैन’ आचार्य थप्छन्, ‘बैठकमा पनि देउवा निकटका नेताहरु विभाजित देखिएका छन् । महामन्त्री बचाउमा नलाग्ने, सहमहामन्त्री डा.प्रकाशशरण महतले संरक्षण गर्ने जस्ता दृश्य देखिएका छन् । यस परिस्थितिले देउवा विस्तारै एक्लिंदै जान थालेका हुन् भन्ने देखिन्छ ।’

हुन पनि आफैंले मनोनित गरेका उपसभापति एवं नजिकका विश्वासपात्र विमलेन्द्र निधि देउवासँग निकै टाढा पुगिसकेका छन् । अर्का पुराना सहयोगी गोपालमान श्रेष्ठको साथ पनि पहिलेको जस्तो देखिदैन् ।

१३ औं महाधिवेशनमा ५० भन्दा बढी जिल्लामा सभापति देउवा पक्षले जितेको थियो । तर अहिले उनलाई साथ दिने जिल्ला सभापति २७ आसपासमात्रै भएको बताइन्छ । १३ औं महाधिवेशनमा जित्नका लागि साथ दिएका अर्जुननरसिंह केसी, केवी गुरुङ, चन्द्र भण्डारीसहितका आधार दर्जन केन्द्रीय नेताले देउवाको साथ छोडिसकेका छन् । देउवालाई सभापतिमा जिताउन निर्णायक देखिएका कृष्णप्रसाद सिटौलासमेत उनीसँग सन्तुष्ट छैनन् ।

यद्यपी संगठनमा साढे पाँच वर्षसम्मको पकड, महाधिवेशन प्रयोजनको लागि क्रियाशील सदस्यता बाड्दाको चलाखी, विजय कुमार गच्छदार, सुनिलकुमार थापा, कुमार खड्कासहित अन्य पार्टीबाट आएका नेता कार्यकर्तालाई समायोजनमा सदस्यता दिंदा गरेको चलाखीले देउवा संगठनात्मक रुपमा धेरै कमजोर भने भइसकेका छैनन् ।

देउवापछि विरासत हत्याउने आरजुको योजना

माथि नै उल्लेख भइसक्यो, देउवा उमेरले ७५ वर्ष पुगिसकेका छन् । त्यसैले १५ औं महाधिवेशनबाट आफू कसरी स्थापित हुने भन्ने चिन्ता र चासोमा देउवा पक्षकै नेताहरु लागेका छन् ।

‘देउवा क्याम्पमा अहिलेको लागि होइन्, १५ औं महाधिवेशनको लागि टसल हो । निधिले सभापतिमा लड्ने भनेपछि अर्को पटकका लागि दाबेदारी गर्न अरु नेताहरुबीच प्रतिस्पर्धा छ’ कांग्रेसको राजनीतिलाई नजिकबाट बुझ्ने पत्रकार विन्दुकान्त घिमिरे भन्छन्, ‘अहिले पूर्णबहादुर खड्काले उप–सभापति, डा.प्रकाशशरण महतले महामन्त्री पाउँछन् । तर, १५ औं मा देउवापछि को हावी हुने भन्ने टसल अहिले देखिन थालेको छ ।’

देउवापछि कांग्रेसमा आरजु राणा स्थापित हुने बाटोमा छिन् । भनिरहनै परेन, जो देउवाकै धर्मपत्नी हुन् । आरजुलाई पार्टी नेतृत्वमा पुग्ने ग्राउन्डसमेत चाहिएको छ । आरजुको गतिविधिले निधिदेखि महामन्त्री खड्कासम्म उनीसँग सशंकित छन् ।

‘विमलेन्द्र निधि देउवा टिममै बस्दा १५ औं महाधिवेशनमा अर्को रामचन्द्र पौडेल हुने हुन् । त्यसैले उनले अहिले नै बाटो तताएर सभापतिमा लड्ने घोषणा गरेका छन्’ घिमिरे भन्छन्, ‘यता आरजुले ग्राउन्ड बनाउँदै छिन् । पूर्णबहादुर खड्का उपसभापति भए अर्कोपटक आरजुलाई गाह्रो हुन सक्छ । त्यसैले आफ्ना लागि ग्राउन्ड बनाउन खोज्दा देउवा टिममा चरम बेमेल र असन्तुष्टि देखिएको हो ।’

आरजुलाई देउवापछि स्थापित गर्ने प्रयत्न भइरहेको उनको तर्क छ । ‘सभापतिमा अहिले दाबेदारी नगरे रामचन्द्र पौडेलको अहिले जे हालत हो । निधिको पनि त्यही हालत हुन्छ । किनकी रामचन्द्र पौडेल कांग्रेसमा सक्रिय हुँदा शशांक, शेखर, सुजाता राजनीतिमा थिएनन । तर, कोइराला परिवारका उनीहरुले नै अहिले पौडेललाई चुनौति दिइरहेका छन्’, घिमिरेको कथन छ, ‘१४ औं महाधिवेशनमा शेरबहादुरलाई जिताएपछि १५ औं मा आरजुलाई लडाउने बाटो खोजिनेछ । यस्तोमा निधिले पनि ठाउँ पाउने छैनन् । मन्त्री चयन र सल्लाहकार चयनमा आरजुले त्यो अभ्यास गरिसकिन् । त्यसैले पहिले जस्तो देउवा क्याम्प एकढिक्का छैन ।’

हुन् पनि आरजुले आफ्ना लागि ग्राउन्ड तयार पार्नैका लागि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएको चर्चा गरिन्छ । ‘आरजुले बालुवाटारबाट कांग्रेसमात्रै होइन, सरकार नै चलाइरहेकी छन् । मन्त्री चयनले पनि त्यही देखाउँछ’ कांग्रेस उच्च स्रोत भन्छ, ‘अब बन्ने मन्त्री र पार्टीमा दिइने भूमिका आरजुलाई नै बलियो बनाउने हुनेछ ।’

१५ औं महाधिवेशनमा आरजुले आफ्नो प्रतिस्पर्धी पुर्णबहादुर खड्कालाई मानेको बताइन्छ । प्रकाशशरण महतबाट भने उनले आफूलाई खतरा महसुस गरेकी छैनन् । ‘पूर्णबहादुर खड्का राजनीतिक रुपमा निक्कै चतुर छन् । त्यसैले अहिले आरजु उनीसँग डराएको देखिन्छ’ स्रोत भन्छ, ‘आरजुले विश्वास गर्ने प्रकाशशरण महतको उमेरले पनि समय छ । उनी १६ औं महाधिवेशनसम्म कुर्न सक्छन् । त्यसैले आरजुकै डिजाइनमा देउवा टिममा खैलाबैलाको अवस्था छ ।’ निधिले पनि आरजुको चरम महत्वकांक्षा बुझेरै यसैपटक सभापतिको दाबेदारी गरेको बुझ्न गाह्रो छैन । हिजो २७ साउनमा पनि बुढानिलकण्ठस्थित देउवाको निजी निवासमा महामन्त्री पूर्णबहादुर खड्का र सह–महामन्त्री डा. प्रकाशशरण महतबीच सभापति एवं प्रधानमन्त्रीको प्रसंशा गरिएको भिडियोलाई लिएर आरोपप्रत्यारोप चलेको थियो ।

खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजालमा देउवाबारेको भिडियोले झन् बदनाम गराउने बताएका थिए । तर, सह–महामन्त्री महतले पार्टी सभापतिलाई मानमर्दन हुने गरी भिडियोबारे सामाजिक संजालमा लेखेको, विरोध गरेको भन्दै खड्कासँग विवाद गरेका थिए ।

निधि देउवा समूहमा नफर्किए आगामी दिनमा को हावी हुने भन्ने प्रतिस्पर्धा देउवा निकटका नेतामा देखिन्छ । यस्तै प्रतिस्पर्धाकाबीच आफ्नो लागि ग्राउन्ड तयार गर्न आरजुले अहिलेदेखि नै देउवा टिमलाई भिडाएर त्यसको फाइदा लिन खोजेकी छन् । देउवा शक्तिमै हुँदा आफ्नो लागि पार्टीको उच्च तहमा ठाउँ बनाउन नसके पछि स्थापित हुन गाह्रो हुने बुझाई आरजुको छ ।

निधि नहुँदा अब के होला ?

देउवा नेविसंघमा सभापति हुँदा २०२७/२८ सालदेखिका सारथी हुन् विमलेन्द्र निधि । देउवा सभापति भएको ६ महिनापछि निधि नै नेविसंघको सभापति भएका थिए । त्यसयता निधिले सधै देउवालाई नजिकबाट साथ दिंदै आएका थिए । तर, उनी बाहिरिनेवित्तिकै को हावी हुने भन्ने टसल देखिएको छ ।

निधि मात्र होइन, देउवासँग उनका नजिकका अर्का नेता गोपालमान श्रेष्ठ पनि टाढिएका छन् । उनले पनि सभापतिमा आफ्नो उम्मेदवारी रहने दाबी गरिसकेका छन् ।

देउवाले सभापतिमा उठ्छु भनेर बोलाएको क्षेत्रगत केन्द्रीय सदस्यको बैठकमा केही समय अघि श्रेष्ठ र निधि दुवै गएनन् । नेता श्रेष्ठले त केही दिन अघि नेता प्रकाशमान सिंहलाई भेटेरै आफूलाई पनि निधि, डा. शशांक कोइरालासहितको अभियानमा सहभागी गराउन आग्रह गरेका थिए ।

विश्लेषक आचार्य पनि कांग्रेसमा आरजु हावी भइसकेको बताउँछन् । ‘उमेश श्रेष्ठको स्वास्थ्य राज्यमन्त्रीमा विवादास्पद नियुक्तिमा आरजु हावी भएको देखिन्छ’ आचार्य भन्छन्, ‘सँगै जनअपेक्षा अनुकूल कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा ल्याएर सकारात्मक काम गर्न खोजेको पनि देखिन्छ । यो भनेको देउवा टिमभित्रै द्वन्द्व छ भन्ने हो ।’

को हुन् सम्भावित कोर टिमका नेता ?

निधि बाहिरिएपछि वरिष्ठ नेतामा विजयकुमार गच्छदार देउवासँग निकट देखिन्छन् । तर बालुवाटार जग्गा प्रकरणमा लागेको मुद्दाले उनलाई राजनीतिक जीवनमा सक्रिय बनिरहन सहज देखिंदैन । निधिका भरपर्दो विकल्प गच्छदार हुन नसक्ने होइनन् । उनीसँग आफैंले पार्टी चलाएको अनुभव पनि छ । कार्यकर्ता र संगठित शक्ति पनि धेरै छ । यद्यपि देउवाको राजनीतिक लाभका लागि निधिले जसरी पकड जमाएर काम गर्न गच्छदारको निम्ति अनुकूल समय छैन यसबेला ।

महामन्त्री पूर्ण बहादुर खड्का आफैंमा झोकी स्वभावका छन् । थोरै असन्तुष्टि भए पनि उनी प्रतिक्रिया दिइहाल्छन् । केपी ओलीसँग सुशील कोइराला प्रधानमन्त्रीमा उम्मेदवार बनेपछि खड्का सहमहामन्त्रीबाट राजीनामा दिएका थिए । केही दिन अघि गण्डकीमा दोबाटे विश्वकर्मालाई मन्त्री नबनाएको र केन्द्रमा उमेश श्रेष्ठलाई मन्त्री बनाएकोप्रति सामाजिक संजालमा लेखेरै खड्काले आक्रोश पोखे । यी घटनामा देउवाले माफी नै माग्नुपर्ने उनको भनाइ थियो । देउवाको बढाइचढाइ गरिएको भिडियोलाई लिएर त उनी सहमहामन्त्री डा. प्रकाशशरण महतसँग विवादमै उत्रिए । तैपनि निधि टाढिएपछि राजनीतिक सुझबुझ भएका खड्का नै देउवालाई सबैभन्दा नजिकबाट सल्लाह र सुझाव दिने नेता हुन् । तर, उतारचढावपूर्ण उनको शैलीले उनी निरन्तर यो भूमिकामा रहिरहन सक्छन् भन्न सकिन्न ।

सहमहामन्त्री महत भने देउवाको हरेक कदमको बचाउमा उत्रिने नेतामा पर्छन् । उनलाई आरजुकोसमेत नजिकबाट साथ छ । तर, उनी खड्का जत्तिको चलाख छैनन् । यद्यपी देउवाका नराम्रा कदम र अप्ठ्यारोमासमेत साथ दिनुपर्ने मान्यता राख्छन् महत ।

देउवाको कोर टिममा पर्ने अर्को नाम हो, ज्ञानेन्द्रबहादुर कार्की । उनी देउवा सरकारमा कानुनमन्त्री छन् । तर, देउवा कमजोर रहेको पूर्वी नेपालमा पकड भए पनि उनलाई धेरै चलाख र सक्रिय नेताको रुपमा लिइदैन । यद्यपी देउवालाई सहयोग गर्ने मामिलामा इमान्दार बन्ने उनको परिचय हो ।

युवामाझ लोकप्रिय नेता विश्वप्रकाश शर्मा देउवाका अर्का नजिकका र विश्वासिला नेता हुन् । तार्किक, सक्रिय र क्षमतावान नेता शर्मा भूमिकाको हिसाबले पनि देउवाको घेरा नाघ्न सक्दैनन् । उनी पाकेको मात्र पस्किने नेताको रुपमा परिचित छन् । जसले उनको क्षमता खास रुपमा प्रयोग नभएको बताइन्छ । यद्यपी सभापतिका गलत कदम र पार्टीलाई क्षति हुने कुरामा शर्मा देउवालाई सच्याउने भूमिकासमेत देखाउन तयार हुन्छन् ।

देउवाका अर्का सारथी गृहमन्त्री बालकृष्ण खाँण हुन् । तर, यिनको स्वभाव चित्त नबुझे पनि टाँसिएर बस्ने खालको छैन । उनको विगत नै यस्तो छ । ‘देउवालाई नजिकबाट साथ दिए पनि खाँण असन्तुष्ट हुँदा गृहमन्त्रीसमेत छोड्न सक्ने नेता हुन्’ कांग्रेस स्रोत भन्छ, ‘गिरिजाले प्रकाशरण महतलाई नेविसंघको अध्यक्ष बनाउन खोज्दा गणेशमानले खाणलाई बनाएका थिए ।’ तर पछि खाणले गणेशमानलाई नै छाडे । पछि गिरिजाले खाणलाई तरुण दलको सदस्य र अध्यक्षसमेत बनाइदिए । तर उनी गिरिजालाई छोडेर पछि शेरबहादुर देउवा क्याम्पमा लागे । इतिहास जस्तो भए पनि खाँण देउवातिर प्रतिवद्ध र संगठनमा बलियो पकड भएका नेता हुन् । सभापति शेरबहादुर देउवापछि व्यक्तिगत भोट र संगठनमा पकड खाँणकै रहेको बताइन्छ । उनी देउवा पछिका बलिया नेता हुन् । गृहमन्त्री भए पनि उनी महामन्त्रीका बलिया दाबेदार हुन् ।

देउवा टिममा भए पनि सहमहामन्त्री महत र खाँणबीच को सिनियर भन्ने प्रतिस्पर्धा सधैं चल्ने गर्छ । महामन्त्रीको उम्मेदवार चयन गर्दा महत र खाँणबीच फेरि टक्कर पर्ने देखिन्छ । किनकी महत महामन्त्रीका लागि स्वत: दाबेदार छन् । महामन्त्रीका लागि अर्को टिमबाट उम्मेदवार ल्याए खाँण असन्तुष्ट बन्न सक्छन् । साथै प्रवक्ता विश्वप्रकाश शर्मा पनि महामन्त्रीका लागि उत्तिकै बलिया दाबेदार हुन् ।

एनपी साउद पनि संगठना बलिया पकड भएका नेता हुन् । उनको पकड र कार्यकर्ताको जालो ७७ वटै जिल्लामा रहेको बताइन्छ । तर, नेता रमेश लेखकसँग यिनको चरम टक्कर छ ।

देउवाका अर्का विश्वासपात्र हुन्, रमेश लेखक । तर, नेता लेखकलाई कर्मचारी जस्तो नेताको रुपमा चित्रित गरिन्छ । यद्यपी सुदुरपश्चिमको राजनीतिमा देउवाका रोजाई लेखक नै हुन् । राजनीतिक सुझबुझ भएकाले पनि प्राविधिक कठिनाई आउँदा देउवाले लेखकलाई सधैं सम्झने गरेका छन् ।

‘रमेश लेखक कर्मचारी मानिन्छन् । उनी देउवाका निम्ति भानु देउवा जस्तै हुन्’ कांग्रेस स्रोत भन्छ, ‘उनको आफ्नै बलियो संगठन छैन । तर, कानुनी पृष्ठभूमि भएकोले अप्ठ्यारोमा देउवाले साथ खोज्छन् । सुदुरपश्चिममा क्षेत्रीको मात्रै सहयोगले राजनीतिमा पकड हुँदैन । त्यसैले ठकुरी र बाहुनहरुको साथ लिन पनि देउवाले लेखकलाई रोजाइमा राख्छन् ।’

गुट बाहिर कसका कुरा सुन्छन् देउवा ?

गुटभन्दा बाहिर देउवाले अप्ठ्यारो र प्राविधिक विषयमा साथ खोज्ने नेतामा कृष्णप्रसाद सिटौला र डा. मिनेन्द्र रिजाल पर्छन् । प्राविधिक विषय आउनासाथ देउवाले यिनीहरुलाई आफ्नो निवासमा बोलाएर छलफल गर्दै आएका छन् ।

प्रधानमन्त्री बनेपछि छैन औपचारिक सचिवालय

पार्टीमा कोर टिममा उतारचढाव व्यहोरिरहेका देउवाले प्रधानमन्त्री चयन भएपछि औपचारिक रुपमा सचिवालयसमेत विस्तार गरेका छैनन् । जम्मा पाँच मन्त्रीबाट एक महिनादेखि काम गर्दै आएका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल र महान्याधिवक्तामा खम्मबहादुर खातीले मात्र नियुक्ति पाएका छन् । त्यसबाहेक यसअघिकै स्वकीय सचिव भानु देउवाले सचिवालयको काम गर्दैछन् । प्रेस संयोजकमा अघिल्लोपटक प्रधानमन्त्री हुँदा काम गरेका गोविन्द परियारको सहयोग छ ।परराष्ट्र मामिलामा डा. दिनेश भट्टराईले देउवालाई सहयोग गरिरहेका छन् ।
सम्बन्धित समाचार

कस्तो बन्दैछ देउवाको सचिवालय ?

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८, २०:०२:००