NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

एक क्रूर शासक, जो मान्छेका मासु खान्थे

इदी अमिन दादा । सन् १९७० को दशकका युगाण्डाका राष्ट्रपति । उनी क्रूर र निरंकुश मात्र थिएनन्, नरभक्षी नै थिए । स्वयं मान्छेका मासु खान्थे । मानव सभ्यताकै कलंक यिनलाई विश्वले युगाण्डाली कसाइ भनेर चिन्छ ।

अफ्रिकाको स्वतन्त्रतापछिका तानाशाहहरूमध्ये उनी सबैभन्दा कुख्यात हुन् । अमिनले सन् १९७१ मा एक सैन्य विद्रोहमार्फत् त्यहाँको सत्ता कब्जा गरेका थिए । त्यसपछि लगातार ८ वर्ष उनले त्यहाँ शासन गरे । यो अवधिमा उनले झण्डै ५ लाख मानिसको त जीवन नै समाप्त पारिदिए । सन् १९७९ मा युगाण्डाका राष्ट्रवादीहरूले उनलाई अपदस्थ गराए । देशमा बस्न सक्ने अवस्था नरहेपछि उनी बाध्य भएर निर्वासनमा गए ।

यी कुख्यात अमिनको जन्म सन् १९२३ मा कोबोकोनजिकै भएको थियो । यो क्षेत्र अहिले युगाण्डाको पश्चिम नाइल प्रान्तमा पर्छ । सानै उमेरमा बुबाले छाडेपछि उनी आमासँग हुर्किएका थिए । अमिन त्यस क्षेत्रमा बसोबास रहेको सानो इस्लामी जनजाति काकवा समूहका सदस्य थिए ।

युगाण्डामा बेलायती उपनिवेश थियो । १९६४ मा अमिनले त्यहाँको सेनामा आफ्नो करिअर सुरु गरेका थिए । सेनामा उनको प्रवेश भान्छेका रूपमा भएको थियो । ५ वर्षपछि सन् १९६९ मा उनी अधिकृत बन्न सफल भए ।

उनी आलोचना सुन्नै चाहँदैनथे । जतिले विरोध गर्ने हिम्मत गर्थे, ती सबै यिनको शिकार हुन्थे। आफ्नो क्रूर शासनमा बाधक बनेका न्यायाधीश, सरकारी अधिकारीदेखि पूर्वप्रधानमन्त्रीसम्मको उनले प्राणपखेरु उडाए । एक तथ्यांकअनुसार अमिनको शासनकालमा युगाण्डामा पाँच लाख मानिस मारिएका थिए

दोस्रो विश्वयुद्धमा आफूलाई सेनामा भर्ना हुन बाध्य पारिएको र बर्मा अभियानमा संलग्न भएको दाबी उनले गरेका थिए । तर कागजातमा युद्ध समाप्त भएपछि मात्रै उनी सहभागी बनेको देखाउँछ ।

६ फिट ४ इन्च अग्ला अमिन अश्वेत थिए । उनी खेलाडी पनि हुन् । सन् १९५१ देखि १९६० को दौरानमा युगाण्डाको हेभी वेट बक्सिङ च्याम्पियन र पौडी खेलाडीको छवि उनले बनाएका थिए । भान्छेका रूपमा सेना प्रवेश गरेका उनी अधिकृत, मेजर जनरल, कमाण्डर हुँदै तत्कालीन युगाण्डाका शासक मिल्टन ओबोटेलाई पदच्यूत गराएर उनको स्थान लिन सफल भए । त्यसका लागि उनले सैन्य विद्रोह गराएका थिए । यो सन् १९७१ को कुरा हो । `

अमिनको कार्यकालमा युगाण्डालाई धर्तीकै नर्क मानिन्थ्यो । उनलाई मानव इतिहासकै क्रूर शासक मानिन्छ ।

सन् १९७९ मा तान्जानिया र अमिनविरोधी युगाण्डाली सेनाले उनको शासनलाई पूर्णविराम लगाइदियो । अमिनको क्रूरता र तानाशाहीको कथा समाप्त भयो । आफ्नै कर्मका कारण देश छाडेर उनी कहिले लिबिया त कहिले साउदी अरबको शरणमा पुगे । यही क्रममा सन् २००३ मा उनको मृत्यु भयो । तर पनि उनको क्रूरताको कथा सुन्दा आज पनि मानिसहरू चकित हुन्छन् ।

अमिन कतिसम्म क्रूर र अमानवीय थिए भने लडाइँको क्रममा घाइते साथीलाई मारेर खायो भने भोकमरीबाट बचिन्छसम्म भन्न भ्याउँथे

 

जातीय उत्पीडन

सन् १९७२ मा अमिनले युगाण्डाबाट निर्वासित व्यक्तिको घुसपैठको जवाफी कारबाहीका रूपमा ओबोटे समर्थकका सेनाको हत्या गरे । उनीहरू मुख्य रूपमा अछोली तथा लांगो जातीय समूहका सदस्य थिए । सन् १९७१ को जुलाईमा जिन्जा र म्बारारा बैरकोमा लांगो र अछोली सैनिकको हत्या गरेका थिए । सन् १९७२ को सुरुवातीमा करिब ५००० हजार अछोली लांगो सैनिक तथा यसभन्दा दुईगुणा बढी नागरिक बेपत्ता भएका थिए । बेपत्ता हुनेमा जातीय समूह, धार्मिक नेता, पत्रकार, कलाकार, वरिष्ठ कर्मचारी, न्यायाधीश, वकिल, समलैंगिक, छात्र एवं वुद्धिजीवी, आपराधिक संदिग्ध र अन्य मुलुकका नागरिक थिए । हिंसाको माहोलमा अन्य मानिसलाई आपराधिक प्रयोजन वा इच्छाअनुसार मारिएको थियो ।

अमिनले हेलेनप्रति चासो देखाएपछि उनलाई अमिनका अंगरक्षकहरूले कम्पाला इन्टरनेसनल होटलको स्विमिङ पुलबाट उठाएर लगे र उनका प्रेमी माइकललाई गोली हानेर मारे । हेलेनलाई पछि पेरिसमा रहेको युगाण्डा दूतावासमा पठाइएको थियो

जातीय राजनीतिक र वित्तीय कारकबाट प्रेरित यी हत्या अमिनले आफ्नो शासनको ८ वर्ष जारी राखे । मारिएका व्यक्तिको संख्या यकिन छैन । र पनि एम्नेस्टी इन्टरनेसनलको सहयोगबाट निर्वासित संगठनले संकलित अनुमानअनुसार ५ लाख मानिस मारिएका थिए । आफ्नो क्रूर शासनमा बाधक बनेका न्यायाधीश, सरकारी अधिकारीदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई उनले छाडेनन् ।

अमिनका सहयोगी थिए, मुअम्मर गद्दाफी । उनले युगाण्डाबाट एसियालीहरूलाई निष्कासन गर्न अमिनसँग आग्रह गरे । सन् १९७२ को अगस्टमा अमिनले आर्थिक युद्धको घोषणाजस्ता नीतिहरू बनाएर एसियाली र युरोपेलीहरूको सम्पत्ति जफत गर्ने अभियान छेडे । त्यहाँ सन् १९७२ अगस्ट ७ मा अमिनले ६० हजार एसियालीलाई देश निष्कासनका लागि आदेश जारी गरे । उनले देश छोड्न ९० दिनको समय दिएका थिए ।

पछि यो आदेश संशोधन गरेर डाक्टर, वकिल र शिक्षकलगायतका व्यक्तिबाहेक अन्य ८० हजारलाई देश छोड्न भने । यीमध्ये बेलायती पासपोर्ट भएका धेरै थिए ।

उनीहरू बेलायत गए । बाँकी व्यक्तिहरू अष्ट्रेलिया, क्यानडा, भारत, केन्या, पाकिस्तान, स्विडेन, तान्जानिया र अमेरिका पुगे । अमिनले एसियाली मूलका मानिसको सम्पत्ति व्यापार जफत गरेर ती सबै सम्पत्ति आफ्ना समर्थकलाई दिएका थिए ।

अमिनको क्रूरताबारे विश्वमा कैयन पुस्तक नै लेखिएका छन् । अमिनका पुराना सेवक मोसेस अलोगाले युगाण्डाबाट केन्या भागेपछि एउटा भयानक कथा सुनाएका थिए । यो कथा युगाण्डामा रहेका मदनजीत सिंहले आफ्नो किताब ‘कल्चर अफ द सेपल्करे’मा लेखेका छन् । अलोगाले बताएअनुसार अमिनको पुरानो घर कमाण्ड पोस्ट्को एउटा कोठा सधैं बन्द रहन्थ्यो । सफा गर्नका लागि त्यो कोठाभित्र ममात्रै पस्न पाउँथे । अमिनकी पाचौं पत्नी सारा क्योलाबा त्यस कोठाबारे जान्न उत्सकु थिइन् । उनले एक दिन त्यो कोठा खोल्न लगाइन् । कोठाभित्र दुईवटा रेफ्रिजेरेटर राखिएको थियो । त्यो रेफ्रिजेरेटरमा क्योलाबाका पूर्वप्रेमी संगीतकार गिटाको टाउको राखिएको उनले देखिन् ।’

साराका प्रेमीजस्तै अमिनले धेरै महिलाका प्रेमीलाई मारेका थिए । जसमध्ये औद्योगिक अदालतका प्रमुख माइकल कालाबी काग्वाकी प्रेमिका हेलेन ओग्वाङप्रतिको प्रेम पनि एक थियो । अमिनले हेलेनप्रति चासो देखाएपछि उनलाई अमिनका अंगरक्षकहरूले कम्पाला इन्टरनेसनल होटलको स्विमिङ पुलबाट उठाएर लगे र उनका प्रेमी माइकललाई गोली हानेर मारे । हेलेनलाई पछि पेरिसमा रहेको युगाण्डा दूतावासमा पठाइएको थियो । उनी त्यहाँबाट भाग्न सफल भइन् ।

मानव सभ्यतामा कलंकको टीका लगाइदिएका अमिनको क्रूरता ८ वर्षभन्दा लामो टिक्न सकेन । सन् १९७९ मा युगाण्डाका राष्ट्रवादीहरूले उनलाई धूलो चटाइदिए । आफ्नै कर्मका कारण देश छाडेर उनी कहिले लिबिया त कहिले साउदी अरबको शरणमा पुग्नुपर्यो

अमिनको समयमा स्वास्थ्यमन्त्री रहेका हेनरी केइम्बाले एउटा किताब ‘अ स्टेट अफ ब्लडः द इन्साइड स्टोरी अफ इदी अमिन’ मा उनको क्रूरताबारे लेखेका छन् ।

उनले लेखेका छन्, ‘अमिनले आफ्ना दुष्मनलाई मार्ने मात्रै होइन, उनीहरूको शवमाथि पनि बर्बरतापूर्ण व्यवहार गर्थे । युगाण्डाका मेडिकल समूदायबीच यो कुरा सामान्य छ । मुर्दाघरमा राखेका शवको कलेजो, नाक, ओठ, गुप्ताङ्ग गायब हुन्थे । सन् १९७४ को जुनमा परराष्ट्र सेवाका एक अधिकारी गाडफ्री किगालालाई गोली हानेर हत्या गरी आँखा निकालिएको थियो ।’

अमिनले कतिपय अवस्थामा आफूले मारेका शवसँग केही समय एक्लै बिताउन चाहने बताउँदै आएका थिए । केइम्बा लेख्छन्, ‘धेरैपटक अमिनले राष्ट्रपति र अरूलाई मानव मासु खाएको बताए । मलाई याद छ, सन् १९७५ अगस्टमा अमिनले आफ्नो जाइर भ्रमणबारे केही वरिष्ठ अधिकारीलाई बताइरहेका थिए । उनले भनिरहेका थिए, ‘त्यहाँ बाँदरको मासु खान दिइएको थियो । तर त्यो मान्छेको जति मिठो थिएन । लडाइँको क्रममा घाइते साथीलाई मारेर खायो भने भोकमरीबाट बचिन्छ ।’

त्यस्तै उनले एकपटक चिकित्सकहरूसँग भनेका थिए, ‘चितुवाको भन्दा मान्छेको मासु मिठो हुन्छ ।’

यसबाहेक केन्याका पूर्वराष्ट्रपति जोसेफ ओलिटाको जीवनीमा आधारित फिल्म राइज एण्ड फल अफ इदी अमिनले युगाण्डाका तेस्रो राष्ट्रपति नरभक्षणमा संलग्न रहेको देखाएको छ ।