NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

विराटनगरमा मेयरसहित बहुमत स्थान एमालेले जित्छ : लालबाबु पण्डित

काठमाडौं । राजनीतिक र आर्थिक रूपले महत्वपूर्ण मानिएको विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन र विपक्षी एमालेबीच चुनावी तीव्र प्रतिस्पर्धाले चुनावी माहोल तातिएको छ ।

विपक्षी एमालेले यसपटक मेयर, उपमेयरसहित बहुमत स्थानमा जितेर इतिहास रच्ने रणनीतिमा छ । सत्ता गठबन्धनले विगतको विरासतलाई जोगाउने र बढी भन्दा बढी वडा आफ्नो पक्षमा सुनिश्चित गर्ने दाउमा छ ।

विराटनरमा गठबन्धनबाट नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाएको छ । एमालेबाट महानगर कमिटीका अध्यक्ष सागर थापालाई बनाइएको छ । एमालेबाट उपमेयरमा शिल्पा कार्की रहेकी छ भने गठबन्धनबाट अमरेन्द्र यादव उपमेयरमा उठेका छन् ।

१९ वडा रहेको यो महानगरपालिकामा एमालेलाई जिताउनको लागि पूर्वमन्त्री तथा स्थायी कमिटी सदस्य लालबाबु पण्डित ४२ दिनदेखि विराटनगरमै सक्रिय छन् । यसपटक बहुमत स्थानसहित प्रमुख र उपप्रमुख जितेर इतिहास रच्ने रणनीतिका साथ जनताको घरदैलो अभियानमा रहेका छन् ।

‘मैदान छोड्ने कुरै आउँदैन । म इतिहास रच्न ४२ दिनदेखि मैदानमा छु’, पण्डितले भने, ‘विपक्षी गठबन्धनभित्र विवाद भएकाले उठ्न सक्ने अवस्था छैन । विपक्षीका उम्मेदवार अरबपति हुन्, राजनीति जानेको व्यक्ति होइनन् । उनीहरूसँग विचार छैन । एमालेले बहुमत स्थानमा जितेर इतिहास रच्छ ।’

को हुन् एमाले उम्मेदवार थापा ?

एमालेले केन्द्रीय नेताहरूलाई पन्छाउँदै जुनियर नेता थापालाई महानगरमा मेयरको टिकट दिएको छ । उमेरले ४६ वर्ष लागेका उनी विराटनगरमा लोकप्रिय नेता मानिन्छन् । विराटनगर–४ जामुनगाछी मा उनको घर रहेको छ । थापा स्कुले जीवनदेखि नै अनेरास्ववियुमा आबद्ध रहेका थिए । २०४६ सालदेखि औपचारिक रुपमा विद्यार्थी राजनीतिमा होमिएका थिए । स्नाकोत्तर गरेका थापाले विराटनगरको चर्चित क्याम्पस महेन्द्र मोरङको दुई पटक स्ववियु सभापति भए ।

नेकपा एमाले महानगर कमिटी इन्चार्ज हुँदै संयोजक र अध्यक्ष भई लगातार १२ वर्षदेखि विराटनगर महानगरको नेतृत्व थापाले गरेका छन् । २०७४ सालको निर्वाचनमा मेयरको आकांक्षी रहेका थापा नेता विनोद ढकालले टिकट पाएपछि उनी पछी हटेका थिए । तर, उनी तत्कालिन कांग्रेसका नगरसभापति भीम पराजुलीसँग पराजित भएका थिए । थापाले महेन्द्र मोरङको स्ववियु निर्वाचन जित्नु अघि पराजुली स्ववियु सभापनि थिए ।

कसले मार्ला बाजी ?

पण्डितको दावी अनुसार गठबन्धनबाटै विपक्षी उम्मेदवारलाई भोट आउने छैन । त्यसको फाइदा सिधै एमालेलाई हुनेछ । विराटनगरमा गत वर्षको तुलनामा १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन् ।

२०७४ सालको चुनावमा ५३ हजार २२५ जना महिला र ६० हजार ५३६ जना पुरुष गरी कूल एक लाख १३ हजार ७६१ मतदाता थिए । अहिले उक्त संख्या बढेर महिला मतदाता ६२ हजार ६१८ र पुरुष मतदाता ७० हजार ५२४ गरी कूल एक लाख ३३ हजार १४२ पुगेको निर्वाचन आयोगले जनाएको छ ।

गत निर्वाचनमा विराटनगरमा प्रमुख र उप्रमुख दुवै कांग्रेसले जितेको थियो । कांग्रेस उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवारले १७ हजार ३२१ ल्याएका थिए । दुई उम्मेदवारबीचको मतान्तरण ५ हजार ७१० रहेको छ । संघीय समाजवादीले १४ हजार ९२८ मत ल्याएका थिए । राप्रपाले पाएको मत ५ हजार ५२४ मत पाएका थिए । ०७४ को निर्वाचनमा एमाले र माओवादीबीच तालमेल भएको थियो ।

वडतार्फ कांग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा जितेको थियो । त्यस्तै संघीय समाजवादी फोरमले १२, १३, १४, १५, १७ र १८ मा विजयी भएको थियो । एमालेले २, ५ र ११ वडा जितेको थियो । स्वतन्त्रका उम्मेदवारले १० र १९ र माओवादी केन्द्र ६ नम्बर वडामा विजयी भएको थियो । कांग्रेसभित्र देउवा र कोइरालाबी पक्षबीचको विवादका कारण अन्तिममा वरिष्ठ नेताहरूलाई पछि पार्दै शेखर पक्षका कोइरालाले टिकट पाएका छन् । कोइरालाले टिकट पाएपछि निर्वतमान मेयर पराजुली पदबाट राजीनामा दिइसकेका छन् । पराजुलीको असन्तुष्टिले नागेशलाई अप्ठ्यारो पार्न सक्छ ।

कांग्रेसभित्र शेखर पक्ष पहिल्यैदेखि वाम–लोकतान्त्रिक गठबन्धनको विपक्षमा रहेकाले त्यसको असार गठबन्धनको उम्मेदवारलाई पर्ने आंकलन एमालेको छ । एमालेको केन्द्रीय नेता पण्डित झण्डै दुई महिनादेखि विराटनगरमै बसेर महानगरबासीसँग घुलमिल भएका छ । आफ्ना उम्मेदवारलाई विजयी बनाउन रातदिन सक्रियतापूर्वक लागेका छन् । पण्डित विराटनगरका चुनावी कमाण्डरसमेत हुन् । पार्टी विभाजन भएकाले त्यसको प्रत्यक्ष असर एमालेलाई पनि पर्न सक्छ । तर अन्य पार्टीबाट धेरै नेता तथा कार्यकर्ता एमाले प्रवेश गरिसकेकाले क्षतिपुर्ति असुल भइसकेको पण्डितको दावी छ ।

कांग्रेसले माओवादी, जसपा र एकीकृत समाजवादीसँग सहकार्य गरेकाले गठबन्धनका उम्मेदवार सहजै जित्ने अनुमान छ । गठबन्धनले गत निर्वाचनमा पाएको मत जोड्दा ४० हजार बढी देखिन्छ । गठबन्धनले सहज जित निकाल्न विगतको मतभारलाई कायमै राखि थपिएका करिब २० हजार मतदातालाई आकर्षित गर्नुपर्ने देखिन्छ । एमालेले आफ्नो जित सुनिश्चित गर्न नयाँ मतदातासहित विपक्षी मतदातासमेतको मन जित्नुपर्ने चुनौती देखिन्छ ।