NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मतदाता धम्क्याउँदै प्रचण्ड र आरजु

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको अभिव्यक्तिको आलोचना भएको छ । दाहालले छोरी रेनुले भरतपुरमा नजिते देश दुर्घटनामा पर्ने भन्दै मतदाता तर्साउन खोजेका थिए भने आरजुले आफ्नो दलले नजितेका पालिकामा बजेट नै नपठाउने धम्की दिएकी थिइन् ।

सत्ता गठबन्धनले बिहीबार भरतपुरमा गरेको सभामा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाललगायत शीर्ष नेताले बोलेका थिए । दाहालले रेनु र चित्रसेनको टिम विजयी भए आफू निकै उत्साहित हुने र यो गठबन्धनलाई १०, १५, २० वर्ष लैजाने बताएका थिए । तर, कांग्रेस मतदातातर्फ लक्षित गर्दै उनको भनाइ थियो, ‘हँसिया हथौडामा भोट हाल्दिनँ भन्नुभयो भने, मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ, तर देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गर्नेहरूले दिनुपर्नेछ ।’

दाहालको यो अभिव्यक्तिको सबैतिरजस्तै चितवनमा पनि विरोध भएको छ । मतदातालाई धम्क्याउनु सह्य नहुने चितवनकी कानुन व्यवसायी फूलमाया रानाभाटको भनाइ छ । ‘गठबन्धनको औचित्य छ भने जनतालाई राम्रोसँग बुझाउनुपर्नेमा कसैको जितहारमा देशको भविष्य जोडिन्छ भन्नु अनुचित हो । आफूलाई मत नदिए देश दुर्घटनामा पर्छ भन्ने भाषा धम्कीपूर्ण छ, यो सह्य छैन,’ उनले भनिन् ।

चितवनका अर्का कानुन व्यवसायी वरिष्ठ अधिवक्ता धर्मराज आचार्य दाहालको भाषणमा मतदातालाई घुक्र्याएको, धम्क्याएको संकेत देखिएको बताउँछन् । ‘मत दिने, नदिने मतदाताको रोजाइको विषय हो, नेताहरूले मतदातालाई मनाउने हो, यथार्थ बताउने हो,’ आचार्य भन्छन्, ‘मैले पनि दाहालको भाषण समाचार र टीभीमा सुनें । उहाँजस्तो नेताले कुनै चिह्नमा मत नदिए देश नै दुर्घटनामा जान्छ नभनेको भए राम्रो हुन्थ्यो ।’

अर्का कानुन व्यवसायी जगन्नाथ भण्डारीले दाहालले मतदाता तर्साउने उद्देश्यले नै त्यसरी बोलेको बताउँछन् ।

बिहीबार नै डडेलधुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवापत्नी आरजुले कांग्रेसले हारेका नगरपालिकामा पैसा नपठाउने अभिव्यक्ति दिइन् । ‘जहाँ हाम्रो मेयर नै हुन्न त्यहाँ हामी किन पैसा पठाउँछौं रु कसले पैसा पठाउने ?’ डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकामा आयोजित सभामा राणाले गरेको भाषणको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले कांग्रेसबाट विद्रोह गरेर एमालेको सहयोगमा उम्मेदवार भएकाहरूलाई लक्षित गर्दै भनेकी थिइन्, ‘अहिले पार्टी सिष्टम छ, पाँच दलको गठबन्धन छ, भोलि विकास बजेट आवश्यक पर्‍यो भने करुवावाला (बागी समूहको चुनाव चिह्न) को फोन कसले उठाउँछ ? कसले मान्छ उनीहरूले भनेको ? कांग्रेसले जित्यो भने शेरबहादुर दाइ, आरजु भाउजूलाई फोन गरेर समस्या भन्न सक्नुहुन्छ तर करुवावालाको फोन कसले उठाउने ? उनीहरूलाई कसले पत्याउने ? कांग्रेसले उनीहरूले भनेर बजेट हाल्दैन, जहाँ कांग्रेसको मेयर हुँदैन त्यहाँ हामीले बजेट किन हाल्ने ?’

कांग्रेसबाट विद्रोह गरेर कांग्रेस (बीपी) को चुनाव चिह्न करुवाबाट निर्वाचन लडिरहेका उम्मेदवारलाई लक्षित गर्दै राणाले यस्तो अभिव्यक्ति दिएकी हुन् । उनको थप भनाइ थियो, ‘करुवा, सरुवा, हरुवाहरूलाई भोट नहाल्नुस्, कांग्रेसलाई मत दिनुहोस्, विकास हामी गर्छौं ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।