मोटरसाइकल दाइजो नदिए बेहुली लैजान्न भन्ने बेहुला पक्राउ
झापा । मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने भनेर बिहेको जग्गेमै दबाब दिएको अभियोगमा बेहुला पक्राउ परेका छन् । पक्राउ पर्ने बेहुला झापा गाउँपालिका-४ का २८ वर्षीय डेबिट चौधरी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।
उनका अनुसार मेचीनगर-१५ निवासी पुष्पलाल राजवंशीको छोरीसँग चौधरीको शुक्रबार विवाहको दिन थियो । बिहे सकेर बेहुली अन्माउने बेलामा चौधरीले मोटरसाइकल दाइजो नदिए बेहुली नलैजाने अड्डी कसेका थिए ।
आर्थिक अवस्था कमजोर रहेका बेहुलीका बुवा पुष्पलालले सम्झाउँदासमेत नमानेपछि विवाह कार्यक्रम बिथोलिएको थियो । अहिले नै दाइजो मागेर तनाव दिनेसँग म बिहे गर्दिन भनेर बेहुलीले भनेपछि पुष्पलालले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरी टोलीले बेहुला बनेका चौधरीलाई जग्गेबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । हाल आरोपितलाई धुलाबारी इप्रकाको हिरासतमा राखिएको छ ।
पुष्पलालको घरमा शुक्रबार दुई छोरीको एकैदिन विवाह थियो । अर्की छोरीको विवाह दाइजो बेगर नै सम्पन्न भएको छ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ को दफा ७४ मा विवाहमा कुनै लेनदेन गर्न नहुने कानुनी व्यवस्था छ ।
लेनदेन भन्नाले दाइजोसमेत बुझिन्छ । यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ ।
ताजा अपडेट
-
सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
-
रेमिट्यान्सलाई उत्पादनमुखी बनाउन आवश्यक : चेम्बर निर्वतमान अध्यक्ष मल्ल
-
एक किलो सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ
प्रतिक्रिया