NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

भरतपुर महानगरमा उच्च सुरक्षा सतर्कता, देउवा र ओलीका गृहनगर संवेदनशीलमा

काठमाडौं । पाँच दिनपछि हुने स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका उच्च सुरक्षा सतर्कता अपनाइने भएको छ ।

निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले सुरक्षा निकायसँगको समन्वयमा निर्वाचन सुरक्षालाई विशेष महत्व दिएको छ । सुरक्षा निकायले तयार पारेको निर्वाचन सुरक्षा रणनीतिमा भरतपुर महानगर उच्च सुरक्षा संवेदनशील भएका पालिकाको पहिलो सूचीमा छ ।

यो महानगरपालिकालाई सत्ता गठबन्धन र नेकपा एमालेले अत्याधिक महत्व दिएकाले पनि सुरक्षा संवेदनशील पालिकाको रुपमा राखिएको छ । आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन जस्तोसुकै घटना हुन सक्ने भन्दै त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको निर्वाचन आयोग स्रोतले जनाएको छ । यस्तै गठबन्धनको उम्मेदवारविरुद्ध नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको र त्यसबाट सत्तागठबन्धन प्रभावित हुन सक्ने पनि देखिन्छ । यसैले भरतपुरमा सुरक्षा सतर्कता थप बलियो बनाउनु नपर्ने भएको हो । निर्वाचन नजिकिँदै जाँदा जित्नकै लागि पार्टीका प्रतिनिधिहरूले अप्रिय कदम चाल्नसक्नेमा सजग हुनुपर्ने भएकोले पनि सुरक्षा निकायले थप सतर्कता अपनाएको छ ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताको अत्याधिक चासो र चिन्ता छ ।

केही दिनअघि सत्ता गठबन्धनले भरतपुरमा संयुक्त चुनावी सभा गरेको थियो । सभामा माओवादी अध्यक्ष प्रचण्डले सत्ता मेयरमा रेनु दाहाल नजिते देश दुर्घटनामा पर्ने चेतावनी दिएका थिए । चितवन प्रचण्डकोसमेत निर्वाचन क्षेत्र भएको जिल्ला हो । प्रचण्डले पनि यहीबाट मतदान गर्दैछन् । यसैले भरतपुरमा उनकी छोरीसमेत रहेकी रेनुको जितलाई सत्ता गठबन्धनले प्रतिष्ठाको विषय बनाएको छ ।

भरतपुरको जितहारले सत्ता गठबनधनदेखि आगामी प्रदेशसभा र संघीय संसद्को चुनावी समीकरणमै फरक पर्ने देखिएको छ । यसैले ७५३ स्थानीय तहमध्ये सत्ता गठबन्धनको लागि भरतपुर सबैभन्दा प्राथमिकतामा परेको छ । २०७४ सालमा जित्दाजित्दै हारेको भन्दै एमालेले पनि भरतपुरलाई उच्च प्राथमिकतामा राखेको छ ।

कांग्रेसका बागीले तनाव

मेयरमा माओवादीको उम्मेदवार भए पनि भरतपुरमा कांग्रेसको बलमा जित्नुपर्ने अवस्था छ । तर भरतपुरमा कांग्रेसभित्रको असन्तुष्टि बागी उम्मेदवारीसम्म देखिएको छ । जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएपछि सत्ता गठबन्धनमा हलचल नै आएको छ । उनले कांग्रेसको २० औं हजार भोट काटे रेनु हार्ने जोखिम धेरै हुनेछ । यसैले अन्तिमसम्म पनि उनको उम्मेदवारी फिर्ताको लागि सत्ता गठबन्धनका नेताले निरन्तर प्रयास गरेका थिए । तर सफल हुन सकेनन् ।

भरतपुर सुरक्षा संवेदनशीलतामा पर्नुको अर्को कारण हो । अघिल्लो स्थानीय तहको निर्वाचनमा मतपत्र च्यातिनु । रेनु दाहाल हार्न सक्ने भन्दै माओवादीका प्रतिनिधिले मतपत्र च्यातेकोले १९ नम्बर वडामा पुनः मतदान भएको थियो । जुन मतदानपछि रेनु २०३ मतको साँघुरो अन्तरले जित्न पुगेको थिइन् । तर एमालेले भरतपुरमा आफूहरूले जितेको दाबी गर्दै आएको छ । यसैले एमाले यसपटक हार मान्नेवाला छैन ।

लगातार दुईपटक मेयरमा हसिया–हथौडामा भोट हाल्नुपरेको प्रतिशोध कांग्रेसका कार्यकर्तालाई छ । तर पार्टीले संस्थागत रुपमा आधिकारिक उम्मेदवारको पक्षमा मत हाल्न पटकपटक अपिल गर्दै आएको छ । आगामी राजनीतिक सहकार्य र गठबन्धनलाई जोगाउन पनि सत्ता पक्षले दबाब महशुस गरेपछि भरतपुर यसपटक सुरक्षा संवेदनशीलतामा सबैभन्दा अगाडि देखिएको हो ।

यस्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका, एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकालाई सुरक्षा संवेदनशील पालिकाको सूचीमा राखिएको छ ।