NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

जित्दा काँधमा बोकेर घुमाएका स्थापितलाई मेयर शाक्यबाट धोका !

काठमाडौं । संघीय राजधानीसमेत रहेको देशकै पुरानो काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार रहेका केशव स्थापित आफू जित्नेमा शतप्रतिशत ढुक्क देखिन्छन् । महानगरका ठूल्ठूला समस्यालाई पनि अति सामान्यीकरण गरी रोचक र ठट्यौली पाराले आफ्ना योजना सुनाउने गरेका स्थापित काठमाडौंका पूर्वमेयरसमेत हुन् ।

विपक्षी पाँचदलीय गठबन्धनका साझा उम्मेदवार सिर्जना सिंहसँग सामना गरिरहेका स्थापितलाई पछिल्लो आफ्नै अभिव्यक्ति भारी पर्दै गएको छ । कहिले ‘मि टु’ त कहिले महिलामाथि अभद्र व्यवहार देखाएको त कहिले विपक्षी उम्मेदवारमाथि जातीय द्वैष फैलाएको आरोप उनले खेपिरहेका छन् । यद्यपि यस्ता आरोपले आफूलाई केही फरक नपर्ने उनको जिकिर छ ।

पछिल्लो समय उनलाई पार्टीभित्रै मेयर शाक्य र रामवीर मानन्धर पक्षबाटसमेत असहयोग भइरहेको बुझिएको छ । १२ वैशाखमा उम्मेदवारी दर्ता गर्न स्थापित र उपमेयरका उम्मेदवार सुनिता डंगोल तामझामसहित निर्वाचन अधिकृतको कार्यलय राष्ट्रियसभा गृहमा पुग्दा मेयर शाक्य पछिल्लो सिटमा बसेर आफूनिकटसँग गफिइरहेका थिए । त्यतिबेला शाक्यले आफ्ना उम्मेदवारको विषयमा सञ्चारकर्मीलाई कुनै प्रतिक्रियासमेत दिएनन् ।

स्थापितले आफ्ना योजनाका कुरा सुनाउँदा शाक्य मलिन अनुहार लगाएर बसिरहेका देखिन्थे । वैशाख १७ गते निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेपछि उम्मेदवार स्थापित र डंगोल दैनिकजसो घरदैलो कार्यक्रममा व्यस्त छन् । तर स्थापितलाई सहयोग गर्ने हिसाबले मेयर शाक्यबाट कुनै गतिविधि नभएको विश्वस्त स्रोतको भनाई छ ।

स्थापितको घरदैलो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायतका नेताहरू देखिएपनि मानन्धर र शाक्यको उपस्थिति देखिएको छैन । भलै, शाक्य मेयर भएका कारण आचारसंहिता लागु हुने सार्वजनिक कार्यक्रममा सहभागी नभएको उनी निकटले बताएका छन् ।

‘कसले जित्छ कसले हार्छ त्यो वैशाख ३० गते मतदाताले फैसला गरिहाल्छन् । स्थापितलाई व्यक्ति विशेषबाट असहयोग भयो भन्ने कुरा बाहिरी हल्ला र अनुमान हो । उम्मेदवारले पनि जित्नेगरी तयारी गरेकै होला’, एक नेताले भने, ‘पार्टीको उम्मेदवार भएपछि पार्टीले सहयोग गर्ने हो । व्यक्तिले सहयोग गरेर केही हुँदैन ।’

त्यस्तै मेयरका आकांक्षी रहेका मानन्धरपनि आफ्ना उम्मेदवारका पक्षमा घरदैलो कार्यक्रम देखिएका छैनन् । उम्मेदवार स्थापितलाई असहयोग भएको विषयमा चासो राख्दा त्यसमा कुनै सत्यता नभएको उनले बताए ।

‘सबैले आ–आफ्नो हिसाबले सहयोग गरेका छन् । महानगरबाहेक अन्य नगरपालिकाका उम्मेदवारको पक्षमा पनि भोट माग्नुपर्ने हुन्छ । त्यसकै शिलशिलामा म केही व्यस्त छु’, उनले भने, ‘हाम्रो उम्मेदवारको विपक्षमा पाँचदलीय गठबन्धन रहेकाले केही चुनौति भएपनि जित्ने आधार धेरै छ ।’

काठमाडौंको मेयर बन्नकै लागि वाग्मती प्रदेशसभा सदस्यबाट राजीनामा दिएका स्थापितले मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धरलाई पछि पार्दै मेयरको टिकट पाएका थिए । ०७४ को निर्वाचनमा पनि उनी मेयरमा आकांक्षी थिए तर शाक्यले टिकट पाएपछि उनी पछि हटेका थिए । स्थापितले मेयरको टिकट पाउनुअघि नेपालवाचसँगको कुराकानीमा आफ्ना धेरै योजना सुनाउँदै पार्टीले टिकट दिए विपक्षीको मतभन्दा दोब्बर ल्याएर जित्छु भनेका थिए । यदि टिकट नपाए पार्टीकै उम्मेदवारलाई जिताउन लागिपर्छु भनेका थिए । उनले मेयर शाक्यबारे छोटो प्रतिक्रिया दिँदै भनेका थिए–‘शाक्यलाई मैले नै १०१ योजना बनाएर दिएको हुँ । उहाँलाई मैले काँधमा राखेर जिताएको पनि हुँ तर उहाँले काम गर्न सक्नुभएन । यो पटक पनि उहाँ उठ्नुभयो भने एमालेले हार्छ ।’

स्थापितले दाबी गरे जस्तै पार्टीले उनलाई पत्याएको छ । पार्टीलाई जिताउने दायित्व उनकै काँधमा छ । आफूलाई मेयर शाक्यबाट नै असहयोग भएको संकेत स्थापितल १८ वैशाखमा एमाले निकट मजुदर संगठन जिफन्टले गरेको कार्यक्रममा देखाएका थिए । कार्यक्रममा अध्यक्ष केपी ओलीतर्फ हेर्दै उनले शाक्यको नामै नलिइ महानगरमा केही नगरेको टिप्पणी गरेका थिए ।

‘मैंले केहीकेही मान्छेलाई देख्या छु, मेयर भएर ६ महिनासम्म कहाँ भनेको सगुन खान भन्छ । के खाको पनि थाहा छैन । सगुन भनेको अण्डा खाछ । माछा खाछ । ठूल्ठूला कुरा गर्या छ । जितेको भोलिपल्ट बिहान ६ बजेदेखि राति १२ बजेसम्म एक दिनको ‘सेलिब्रेसन’ हुन्छ । सगुन लिएर जति आउने त्यही दिन आउनुपर्यो । मेरो आमा जस्तो दिदी हुनुहुन्छ । उहाँलाई ढोग गरेपछि सकियो । कसैले अण्डा दियो भने म अरुलाई दिन्छु । अण्डा खाएपछि मेयर मरिहाल्यो नि । खानेबानी लागेपछि धेरै खान मन लाग्छ । खाँदा होस पुर्याउनु पर्यो नि । ‘सेलिब्रेसन’को भोलिदेखि काम गर्ने हो । ९९ दिन आमनागरिकको पीडा सुन्ने हो’, मे दिवसमा शाक्यप्रति इंगित गर्दै स्थापितले भनेका थिए ।
पार्टी अध्यक्षकै अगाडि स्थापितले दिएको उक्त अभिव्यक्तिले मेयर शाक्य थप आक्रोशित भएको र अपमान महसुस उनी निकट नेता बताउँछन् ।

स्थापित तिनै व्यक्ति हुन् जसले ०७४ मा शाक्यको घोषणापत्र तयार गर्नेमात्र गरेनन्, विजयी भएपछि काँधमा बोकेरसमेत हिँडेका थिए । पाँच वर्षपछि काँधमा बोकेका तिनै शाक्यले आफूलाई असहयोग गरेको स्थापितले ओलीकै अगाडि खुला रुपमा बताएका थिए ।