NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाँचदलीय गठबन्धनलाई सेती नदीमा बगाउने ओलीको चेतावनी

काठमाडौं । विपक्षीप्रति कटाक्ष गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई सेती नदीमा बगाउने चेतावनी दिएका छन् ।

चुनावी सभालाई सोमबार पोखरामा सम्बोधन गर्दै ओलीले विपक्षी दलमाथि अशोभनीय टिप्पणी गर्दै सेतीमा बगाउने चेतावनी दिएका हुन् ।
वैशाख ३० मा गठबन्धनका बाँदरहरूले मतपत्र च्यातेर, चपाएर, मतपेटीको लुटेर धाँधली गर्न सक्नेतर्फ सचेत रहन ओलीले आग्रह गरे ।

‘गठबन्धनमा पाँच वटा बाँदर छन् । तिनीहरूले यसपट जसरी पनि चुनाव जित्छौं भनेका छन्’, ओलीले गठबन्धन नेताप्रति लक्षित गर्दै भने, ‘आफ्ना मान्छेमात्र राखेर, मतपत्र च्यातेर, बाकस साँटेर बत्ति निभाएर धाँधली गर्न सक्छन् । त्यसतर्फ तपाईं सचेत रहनोस् । यिनीहरूको कुनै भविष्य छैन । वैशाख ३० पछि सेती नदीमा बगाउने हो ।’

सभामा ओलीले गठबन्धन दलका चुनाव चिन्हप्रति ब्यंग्यसमेत गरेका छन् । उनले सूर्यमात्र यस्तो चिन्ह हो जुक कहिल्यै नष्ट नुहने बताए ।
कुन दललाई के भने ?

नेपाली कांग्रेसको चुनाव चिन्ह नै हराइसकेकाले उनीहरूका कार्यकर्ता मुटुमाथि हात राखि पिर मानेर बस्नुपरेको टिप्पणी गरेका छन् । ‘कांग्रेस विचार, सिद्धान्त र योजनाबिहीन पार्टी भइसकेको छ । उसका कार्यकर्ताले रुखमा भोट हाल्न पाउँदैन । उनीहरूले कलम, गिलास, अण्डा, बाल्टिनमा भोट हाल्छन् । गणेशमान र किसुनजीले त्यसै पार्टी छोडेका रहेनछन् । बीपी पनि अहिलेसम्म बाँचेको भए उनले पनि कांग्रेस छोडिसक्थे ।’

त्यस्तै उनले माओवादी केन्द्र भाँडो नभइ विर्कोमात्र भएको टिप्पणी गरेका छन् । ‘गठबन्धनमा माओवादी केन्द्र रहेको छ । त्यो पनि केन्द्र हो र ? प्रचण्डपथ कहाँ गयो ? भाँडोजति एमालेमा आइसक्यो बाँकी बिर्कोमात्रै छ । अझै पनि प्रचण्डलाई चिन्नुभएको छैन भने ढिला नगरी एमालेमा आउनुहोस् ।’

यसैगरी ओलीले एकीकृत समाजवादी पार्टीलाई मसी नभएको कलम भनेर टिप्पणी गरेका छन् । ‘एउटा कलम भन्ने पार्टी छ । यसो निमोठ्यो भने निभ भाँचिन्छ । रिफिलको मसि सकिएपछि कलमको कुनै अर्थै छैन ।  मसिबिनाको कलमले के काम गर्छ ?’