NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

चुनाव चिन्ह : विश्वका कुन देशमा कस्तो अभ्यास ?

काठमाडौं । नेपालभरका स्थानीय तहमा शुक्रबार निर्वाचन हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार र दलीय उम्मेदवार सबैलाई विशेष निर्वाचन चिन्ह प्रदान गरेको छ । उम्मेदवारहरु निर्वाचन चिन्हसहित चुनावी अभियानमा सक्रिय छन् ।

मतदाताले पनि आफ्ना मनपर्ने उम्मेदवारलाई मतदान गर्दा चुनाव चिन्ह नै प्रयोग गर्ने प्रक्रिया नेपालमा छ । नेपालको जस्तै चुनाव चिन्हमार्फत् मतदान हुने प्रणाली भारतमा पनि रहेको छ । त्यहाँ पनि राजनीतिक पार्टीहरुकाे विशेष निर्वाचन चिन्ह हुन्छ ।

निर्वाचनमा मतपत्रमा उम्मेदवारकाे नाम नलेखी चिन्हकाे प्रयाेग गर्नुकाे पछाडि मतपत्रमा उम्मेदवारको नाम पढ्न नसक्ने अशिक्षित मानिसलाई मतदान गर्न सहज बनाउने उद्देश्य रहेकाे छ ।

यसका लागि विश्वका विभिन्न देशमा फरक फरक अभ्यास छन् । कम्बोडियाको डेमोक्रेटिक पार्टीको चुनाव चिन्ह हात्तिको टाउको छ । यस्तै, विश्वको ठूलो प्रजातान्त्रिक देश भारतमा पनि निर्वाचनमा पार्टीका लागि मतदाताले सजिलै पहिचान गर्न सक्ने चिन्हहरु दिइन्छ । जस्तै, निर्वाचनमा भारतमा कांग्रेसको हत्केला, भारतीय जनता पार्टीको कमलको फुल, बंगलादेशको अवामी लिगको डुङ्गाजस्ता सरल र पहिचान योग्य प्रतीकहरु समावेश हुन्छन् ।

ब्राजिलमा पार्टीहरुलाई निर्वाचनमा चिन्हको सट्टा दुई अंकको नम्बरहरु बाँडफाँड गरिन्छ । ती अंक अशिक्षित मतदाताले पनि चिन्न सक्ने गरि बनाइएको हुन्छ ।

इजरायलमा पार्टीहरुलाई एक, दुई, तीन, चार गरेर हिबू्र अक्षरहरु मिलेर बनेको प्रतीक र एक, दुई, तीन वा चार अरबी अक्षरबाट बनेको प्रतीकलाई पार्टीको चिन्हका रुपमा चुनावमा प्रयोग गरिन्छ । यसले सामान्यतया अरबी र हिब्रु भाषाको ज्ञान भएका मतदाताहरुलाई सुविधा दिन्छ ।

चुनावमा डेनिस र आइसल्यान्डिक पार्टीहरुलाई पार्टीको नामको अगाडिको अक्षरबाट चिनिन्छ । अमेरिकामा पनि डेमोक्रेटिक पार्टीको निर्वाचन चिन्ह गधा र रिपब्लिकनको हात्ति रहेको छ ।