NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको ज्यान गयो, १९ बेपत्ता

नयाँ दिल्ली । पश्चिम दिल्लीको बाहिरी इलाका मुन्डका क्षेत्रमा शुक्रबार साँझ एउटा भवनमा लागेको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । दिल्लीको बाहिरी जिल्ला प्रहरी उपायुक्त (डीसीपी) समीर शर्माले पनि घटनाको पुष्टि गरेका छन् ।

भवनमा लागेको आगो निभाइएको र घाइतेहरूको सञ्जय गान्धी र दीनदयाल उपाध्याय अस्पतालमा उपचार भइरहेको बताए । नागरिक रक्षा विभागले सञ्जय गान्धी मेमोरियल अस्पताल भित्र हेल्प डेस्क स्थापना गरेको जानकारी दिएका छन् ।

आगलागी हुँदा भवनमा ७० भन्दा बढी मानिस थिए र प्रहरीले झ्यालका सिसा फुटाएर मानिसलाई उद्धार गर्न डोरी प्रयोग गरेको थियो ।

भारतको राजधानीको पश्चिममा रहेको मुन्डका मेट्रो स्टेशन नजिकै आगो निभाउन करिब २० वटा दमकल प्रयोग गरिएको थियो । सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । प्रहरीले घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरेको छ ।

हेल्प डेस्कका अनुसार हालसम्म १९ जना बेपत्ता भएका छन् । जसमध्ये ४ जना पुरुष र १५ जना महिला रहेका छन् । दिल्लीका डेपुटी चिफ फायर अफिसर सुनील चौधरीका अनुसार अहिलेसम्म २७ शव निकालिएको छ ।

प्रारम्भिक जानकारीमा १४ जनाको मृत्यु भएको खबर आएपनि मृतकको संख्या निरन्तर बढिरहेको छ ।

सोही क्रममा दमकलका एक कर्मचारीका अनुसार धेरैजसो शव भवनको दोस्रो तल्लाबाट निकालिएको छ । उनीहरूको टोलीले सम्पूर्ण भवनलाई नियन्त्रणमा लिएको छ । पहिलो तल्लामा लागेको आगो निभाइएको छ । उनले आगो पूर्णरुपमा नियन्त्रणमा आउन अझै ६ घण्टा लाग्न सक्ने बताए ।