NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

बाहुनडाँगीको तेलपानी वनमा १५ वटा जंगली हात्ती, स्थानीयवासीमा त्रास

झापा । मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जंगली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् ।

पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली जोगाउनतिर लागेको स्थानीयवासी शंकर लुइँटेलले जानकारी दिए ।

उनका अनुसार तीनदेखि लगातार विद्युतीय घेराबारा भत्काएर ६० भन्दा बढी हात्ती साँझ पर्ने बित्तिकै भारतीय जङ्गलबाट हूल बाँधेर बाहुनडाँगी आउने र रातभर मकै खाएर उज्यालो हुँदा उतै फर्कने गरेका छन् । शनिबार राति आएकोे हात्तीमध्ये १५ वटा छावासहित तेलपानी सामुदायिक वनमा रहेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले रातभर साइरनसहितको टोलीले हात्ती लखेट्दै आएको बताएका छन् । उनका अनुसार मेची नदी किनारमा हात्तीलाई रोक्न लगाइएको विद्युतीय घेराबाराको बेलैमा मर्मत नुहँदा पनि भारतीय हात्ती हूल बाँधेर नेपाल पस्न थालेका छन् ।

तेलपानी वनमा रहेका हात्तीलाई भने आजै साँझ भारतीय जंगलतर्फ लखेट्ने तयारी गरिरहेको उनले बताए ।