NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

पाँच वर्षअघि नै काठमाडौंको मेयर बन्ने सपना देखेका थिए बालेनले

काठमाडौं । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर काठमाडौं महानगरका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन यतिबेला निकै चर्चामा छन् । सांगीतिक क्षेत्रमा र्यापरको नामले चिनिएका शाहले सुरूमा काठमाडौंमा मेयरको उम्मेदवारी घोषणा गर्दा कसैले पत्याएका थिएनन् ।

मिडियामा शाहको बारेमा फाट्ट–फुट्ट चर्चा भएपनि अग्रपंक्तिमा छाएका थिएनन् । ‘स्टक्चरल’ इन्जिनियरसमेत रहेका ३४ वर्षे उनै शाह अहिले विपक्षी दलहरूका लागि भारी भएको छ ।संघीय राजधानी रहेको देशकै पुरानो काठमाडौं महानगरमा पुराना शक्ति कांग्रेस र कम्युनिष्टहरूको पक्कडलाई धक्का दिँदै उनले मतान्तरणलाई फराकिलो बनाउँदै लगेका छन् । यो समाचार तयार पार्दासम्म बालेनले ४ हजार एक सय ४९ मत प्राप्त गरिसकेका छन् ।

राजनीतिक मैदानमा आफ्नो कुनै प्रतिस्पर्धी नभएको दाबी गरेका एमालेका उम्मेदवार केशव स्थापित उनै शाहलाई पछ्याइरहेका छन् । स्थापितले २ हजार एक सय ४८ मत ल्याएका छन् । तेस्रो स्थानमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनी १ हजार ९ सय ३४ मतसहित स्थापितसँग प्रतिस्पर्धा गर्दै छिन् । ३२ वडा रहेको काठमाडौंमा अहिले १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

बालेनले निरन्तर अग्रता कायमै राखेपछि अहिले उनका समर्थकहरू मतगणना स्थल राष्ट्रिय सभागृह बाहिर उनको पक्षमा नाराबाजी गरिरहेका छन् । यतिबेला समाजिक संजाल फेसबुक, ट्वीटर मिडियादेखि चोक–चोकसम्म उनैको चर्चा ह्वात्तै चुलिएको छ । ‘हेभीवेट’ मानिएका उनका प्रतिस्पर्धी उम्मेदवार र समर्थकहरू अहिले मौन देखिएका छन् । शाहको चर्चा चुलिदै जाँदा उनले पाँच वर्षअघि सामाजिक सञ्जालमा राखिइएको ‘स्टाटस’ फेला परेको छ ।

उनले राखेको ‘स्टाटस’ हेर्दा त्यतिबेला नै आफू काठमाडौंको मेयरमा उम्मेरदवारी दिने तयारी गरिसकेको देखिन्छ ।

त्यसअघि स्थानीय तहको निर्वाचनमा बालेन आफूले मत नदिएको बताउँदै लेखेका छन्– ‘म उम्मेदवार थिइनँ । मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेको हुँ । ‘स्ट्रक्चरल इन्जिनियरिङ’मा स्नातकोत्तर गर्दै छु । मलाई देश कसरी विकास गर्नुपर्छ थाहा छ । मेरो देश म विकास गर्छु । मलाई अरू कसैको भर लाग्दैन ।’

उनले यो ‘स्टाटस’ सन् २०१७ मा लेखेका हुन् । यदि बालेन काठमाडौंको मेयरमा निर्वाचित भए पाँच वर्ष अघि देखेको र वाचा गरेको कुरा पुरा गर्ने स्थानमा उनी पुग्दैछन् ।