NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बालेनलाई कांग्रेस बनाउने प्रयास, संवादमा गगन थापा

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ समग्र स्थानीय तहको निर्वाचनको केन्द्रमा छन् ।

उम्मेदवारीदेखि नै अत्याधिक चर्चामा रहेका उनी महानगरको मतगणना भइरहँदा थप चर्चा र आकर्षणका पात्र बनेका छन् । मतगणनाको शुरुदेखि नै अग्रता लिएका उनी निकटम प्रतिस्पर्धीभन्दा ९ हजारभन्दा बढी मतले अगाडि छन् ।

५ वर्ष महानगर हाँकेको पार्टी एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेस, माओवादीसहितको ५ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार सिर्जना श्रेष्ठभन्दा बालेन धेरै अब्बल देखिएका छन् । स्वतन्त्र उम्मेदवार बालेनका अघि एमाले र सत्ता गठबन्धनका उम्मेदवार ‘फुच्चे’ देखिएका छन् ।

एक्कासी उदाएका यी बालेनले महानगर कसरी हाँक्लान् भन्ने चर्चा भइरहँदा उनलाई कांग्रेसमा स्वागत गर्ने प्रयास सुरु भएको छ । पालिकाको हरेक नीति तथा कार्यक्रम, बजेट, ऐन, नियम, नियमावली स्वीकृतका लागि वडा अध्यक्षहरूको मुख्य भूमिका हुन्छ । स्थानीय तह अर्थात स्थानीय सरकारमा वडाध्यक्षहरूको मन्त्रीको भूमिका हुन्छ । वडा सदस्यहरू नगरसभाका सदस्य हुन् ।

नगरसभा सदस्य र मन्त्रीहरू आफ्नो नभएको मेयरले महानगर कसरी हाँक्लान् भन्ने बहस स्वभाविक हो । कांग्रेसले यही यथार्थता ख्याल गरेर कांग्रेस प्रवेश गरे बालेनलाई सफल बनाउने सिंगो पार्टी होमिने आश्वासन दिएको छ ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार कांग्रेसका तर्फबाट महामन्त्री गगन थापाले बालेनसँग संवाद अघि बढाएका छन् । ‘अहिले नै बालेन कांग्रेसमा प्रवेश गरिहाल्छन् भन्ने छैन, तर हामी संवादमा छौँ । गगनजीसँग भेटघाट भइरहेको छ,’ ती केन्द्रीय सदस्यले भने ।

महानगरमा अझै धेरै मत गन्न बाँकी छ । अन्तिमसम्म के परिणाम आउँछ यकिन भन्न नसकिने नेताहरू बताउँछन् । तर कांग्रेसले भने बालेनले जित्ने निष्कर्ष निकालिसकेको छ ।

बुधबार महामन्त्री थापाले एक सार्वजनिक कार्यक्रममा बालेनले पाइरहेको मतको प्रशंसा गर्दै महानगरवासीको फैसलालाई सम्मान गरेर जानुपर्ने बताएका थिए । बालेनको प्रशंसा गर्दै उनले दलहरूले समीक्षा गर्नुपर्ने र उनीजस्ता युवा महानगरको नेतृत्वमा आउनु सुखद रहेको बताएका थिए ।