NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भरतपुरमा ७४ हजार मतगणना सकियो

भरतपुर । भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को मतगणना जारी रहँदै गर्दा सो सङ्ख्यामा गणना सकिएको हो ।

मतगणना जारी रहेको अवस्थामा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । महानगर प्रमुखमा नेकपा (माओबादी केन्द्र) का रेनु दाहालले नेकपा (एमाले) का विजय सुवेदीलाई पाँच हजार ५९० मतान्तरले पछि पारेका छन् । दाहालले २८ हजार ८०८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार २१८ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९८ मत प्राप्त गरे ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १३ हजार ९९ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३१ हजार १२१ मत प्राप्त गर्दा गुरुङले १८ हजार २२ मत प्राप्त गरे । यस्तै गणना जारी रहेका वडामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

गणना सकिएका वडामा कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, एमालेले वडा नं ३, ११ र १२, नेकपा (एकीकृत समाजवादी) ले ७ र ९ तथा माओवादीले वडा नं १३ मा विजयी हासिल गरेको छ । भरतपुर महानगरमा २९ वडा छ ।