NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

काेराेना भाइरस : अमेरिकाको सहयोग प्रस्तावमा उत्तर कोरियाले जवाफ दिएन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि खोप प्रस्ताव गरे पनि उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । पहिलोपटक उत्तर कोरियाले आधिकारिक रुपमा कोरोना संक्रमणको घटना भएको पुष्टि गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार देशका करिब २५ लाख मानिस ‘ज्वरो’को चपेटामा छन् र उत्तर कोरियामा राष्ट्रव्यापी लकडाउन घोषणा गरिएको छ । त्यहाँ संक्रमण परीक्षण सुस्त गतिमा भइरहेको र खोपको आपूर्ति पनि सीमित भएकाले अवस्था निकै गम्भीर भएको विश्वास गरिएको छ ।

बाइडेनले दक्षिण कोरियाको भ्रमणका क्रममा पत्रकार सम्मेलनमार्फत् उत्तर कोरियालाई सहयोग गर्ने प्रस्ताव गरे पनि जवाफ नपाएको बताएका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग विज्ञप्ति जारी गर्दै बाइडेनले भनेका छन्, ‘हामीले खोप उत्तर कोरियालाई मात्र नभई चीनलाई पनि प्रस्ताव गरेका थियौं ।

तर, अहिलेसम्म कुनै प्रतिक्रिया पाएका छैनौं ।’ दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि अहिलेसम्मकै ठूलो राहत प्याकेजमा हस्ताक्षर गरेका छन् ।

सैन्य, आर्थिक र मानवीय सहयोगसहितको यो प्याकेज करिब ४० अर्ब डलरको छ । यसैबीच, राष्ट्रपति बाइडेनले उत्तर कोरियाली शासक किम जोङ उनसँग प्रत्यक्ष वार्ताका लागि आफू भेट्न तयार रहेको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति योलले पनि राष्ट्रपति बाइडेनसँग दक्षिण कोरियामा थप अमेरिकी लडाकु विमान, क्षेप्यास्त्र र सेना तैनाथ गर्ने सम्भावनाबारे छलफल गरेका छन् ।