NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनलाई हराउँदै धनगढीको मेयर बनेका हमाल को हुन् ?

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनलाई परास्त गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।

कांग्रेसका नृपबहादुर ओडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । ओड धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । उनले अघिल्लो निर्वाचनमा हमाललाई २ हजार ७ सय मतान्तरमा पराजित गरेका थिए ।

यसपटक हमालले २६ हजार ८६५ मतका साथ जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी ओडले १४ हजार ८१७ मतमात्र पाए ।

यहाँ एमालेका रणबहादुर चन्द तेस्रो भए । उनले हासिल गरेको मत ९ हजार ११५ छ ।

यस्तो छ पृष्ठभूमि :

हमालको जन्म २०२० सालमा कैलालीको तत्कालीन मनिकापुर गाविसको झन्झटपुरमा भएको थियो । उनले धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए ।

उनले उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे । प्रमाणपत्र तहसम्मको अध्ययन गरेका हमाल भारत्तोलनका राष्ट्रिय खेलाडी पनि हुन् ।

धनगढीमा टिनको वाकस बनाउन सुरु गरेर उनी व्यवसायतिर होमिए । यसले उनलाई पछि उद्यागी–व्यवसायीको परिचय दिलायो ।

हमालले नेपाल उद्योग वाणिज्य संघ कैलालीको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य रहेर १४ वर्ष काम गरे ।

धनगढीको विमानस्थललाई कालोपत्रै बनाउन हमालले एक रुपैयाँ अभियान चलाए । रवीन्द्र मिश्रले नयाँ पार्टी खोलेको केहीपछि उनी विवेकशील साझा पार्टीमा लागे ।

हमाल विवेकशील साझाको सुदूरपश्चिम संयोजक थिए । त्यहाँबाट राजीनामा दिएर उनी धनगढीको मेयरमा स्वतन्त्र चुनाव लडेका थिए ।

उनले आफूले भ्रष्टाचार नगर्ने र धनगढीको नमुना विकास गर्ने एजेण्डा अघि सारे । त्यसलाई जनताले पत्याएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष