NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते
विगतका स्थानीय तहका अनुकरणीय अभ्यास

एक्साभेटरको बिगबिगीबीच रोजगार सृजना गर्न डोजर प्रयोगमा रोक लगाउने स्थानीय तह

काठमाडौं । निर्वाचन सकिएसँगै संघीय सरकारका पहिलो स्थानीय तहका राम्रा कामको पनि समीक्षा पनि हुन थालेको छ । यो पाँच वर्षको अवधिमा केही स्थानीय तहले साँच्चै नै उल्लेख्य काम गरेको पाइएको छ । स्थानीय तहहरूलाई बदनाम गरेको मुख्य विषय बनेको थियो एक पालिका एक डोजर । डोजरे विकासले आलोचना खेपिरहँदा दाङको बंगलाचुली गाउँपालिका भने यसको अपवाद रह्यो ।

यो अवधिभर अधिकांश स्थानीय तहले आफ्नो सबैभन्दा ठूलो धनराशी सडकमा खर्चिए । त्यसको लागि सार्वधिक खरिद भएको चिज हो एक्साभेटर । स्थानीय तह निर्वाचनअघिसम्म हरेक वर्ष ४-५ अर्ब मूल्य बराबरको एक्साभेटर खरिद हुँदै आएको थियो । तर, संघीय सरकारको पहिलो स्थानिय निर्वाचन भएपछि नेपालमा एक्साभेटरको संख्या ह्वात्तै उकालो लागेको तथ्यांक्ले देखाउँछ ।

गएको पाँच वर्षमा नेपालमा ४३ अर्ब रूपैयाँ बराबरको ५ हजार ५ सय ६९ वटा एक्साभेटर खरिद गरिएको तथ्यांक छ ।
एकातिर प्रतिफल नआउने र उपयोगिता नभएका सडकमा ठूलो बजेट खर्च भइरहेको छ भने अर्कातिर स्काभेटरले सडक निमार्ण गर्दा स्थानीयहरू बेरोजगार बनेका छन् ।

स्थानीय सरकारहरू ‘डोजरे विकास’मा केन्द्रित भएको आलोचना भइरहँदा दाङको बंगलाचुली गाउँपालिका भने यसमा अपवाद साबित भएको छ । उक्त गाउँपालिकाले डोजर र एक्साभेटरको प्रयोग रोक्ने प्रयास गरेको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७-७८ देखि यस्तो व्यवस्था लागू गरेको हो ।

गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष यमुना थापामगरका मान्छेबाट सम्भव नहुने काममा मात्र डोजर र एक्साभेटर प्रयोग गर्ने नीति लिएको बताउँछिन् ।

‘अहिले समग्र विकासमा ७५ प्रतिशत जनश्रमदानबाट भइरहेको छ,’ थापा मगर भन्छिन्, ‘मानिसबाट सम्भव नहुने २५ प्रतिशत जति काममा मात्र डोजर-एक्साभेटर प्रयोग गरिन्छ ।’ आफ्नो कार्यकालभर उपभोक्ता समितिमार्फत विकासका योजनाहरूमा स्थानीयहरूलाई नै श्रममा लगाइ काम गराएको उनले जानकारी दिइन् ।

खासगरी कोरोना महामारीका कारण रोजगारी गुमाएका आफ्ना नागरिकहरूलाई रोजगारी दिन यस्तो व्यवस्था गरिएको उपाध्यक्ष थापा मगर बताउँछिन् ।

स्थानीय तहको पाँच वर्षको कार्यकालमा अधिकांश जनप्रतिनिधिको नजर एक्साभेटरमा गएको तथ्यांकले नै देखाउँछ ।

उक्त गाउँपाकिलाले भने अवधिभर एक्साभेटर खरिद गरेन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डेका अनुसार यो अवधिभर एक्साभेटर आवश्यक हुँदा ठेक्कामा काम लगायो । तर, एक्साभेटर नहुँदा काम नै अवरुद्ध भने भएन । ‘हालसम्म मानविय श्रमले नै काम भइरहेको अवस्था छ,’ उनले भने, ‘तर, केही वृहत काम गर्नुपर्दा एक्साभेटरबिना सम्भव नहुँदा आवश्यकता पनि महसुस भएको छ ।

पहाडी भू–भाग, र बाटाहरू अवरुद्ध भएकाले आवश्यक हो कि भन्ने भएको हो ।’ हाल उक्त गाउँपालिकामा गठबन्धनतर्फका मेयर तुलसीराम पुन गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् ।