NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

भरतपुरमा रेनुलाई ९ हजारको अग्रता, विजय पराजयको बाटोमा

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले झण्डै ९ हजार मतको अग्रता लिएकी छिन् । जारी मतगणनामा दाहालले ९ हजारको अग्रता बनाएकी हुन् । उनले ३९ हजार ४७२ मत ल्याएकी छिन् ।

एमालेका विजय सुवेदीको मत ३० हजार ६९० आएको छ । भरतपुरमा एक लाख मतगणना गरिएको छ । १ लाख २७ हजार मत खसेकोमा अब २८ हजार हाराहारी मत गन्न मात्रै बाँकी छ ।

भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार एक सय १५ मत ल्याएका छन् । माओवादीकी रेनुसँग असहमत भएको मत एमालेका उम्मेदवारलाई जान रोकिएपछि अन्ततः उनकै उम्मेदवारी रेनुको लागि फाइदाजनक र भन्दा एमालेको लागि घाँडो देखिएको हो ।

किनकी पौडेलको बागी उम्मेदवारी नपरेको भए स्वतन्त्रको भुइँकटहरमा खस्ने असन्तुष्ट धेरै मत एमालेका सुवेदीलाई जान सक्ने थियो । तर पौडेलले दाहाललाई टक्कर दिने गरी मत ल्याउन नसकेको तर एमालेमा जान सक्ने भोट रोकिदिए । अन्ततः यसले माओवादीलाई सहज हुने देखिएको हो ।

अर्कोतिर वडाध्यक्षमा एमालेले भोट पाए पनि मेयरमा भने रेनुले उल्लेख्य मत पाएकी छिन् । एमालेको प्रभाव रहेको वडामासमेत रेनुले एमालेकाे भन्दा धेरै भोट पाए पछि एमालेले नै अब भरतपुरमा जित्न नसकिने हिसाब निकालेको बुझिएको छ ।

यस्तोमा अब रेनु विस्तारै जिततर्फ अग्रसर हुन थालेको र विजय पराजयतिर लम्केकाे विभिन्न संचारमाध्यमले दाबी गर्न थालेका छन् ।