NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

अस्ट्रेलियामा कामदार अभाव, २ लाख लगिँदै, नेपालको पनि सम्भावना

काठमाडौं । कोरोनाको महामारीका कारण अस्ट्रेलियामा देखिएको कामदार अभाव पछिल्लो समय झन् बढेको छ । अस्ट्रेलियाभर हाल विभिन्न १ सय ५३ पेसामा कामदार अभाव रहेको जनाइएको छ ।

दुई वर्षअघि कोरोना महामारी सुरु भएसँगै गरिएको लकडाउनका कारण अस्ट्रेलियाका अधिकांश क्षेत्रमा कामदारको समस्या भएको थियो । सरकारले अन्तर्राष्ट्रिय सीमा बन्द गरेपछि बर्सेनि लाखौंको संख्यामा आउने अन्तर्राष्ट्रिय विद्यार्थी तथा दक्ष कामदार आउन नपाएका कारण अभाव झन् चर्केको थियो । तर पछिल्लो समय सीमा खुला गरेको सरकारले वर्किङ हमोलिडे भिसालगायतका विभिन्न कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको छ । तर कामदार अभाव भने उस्तै छ ।

सरकारको पछिल्लो तथ्यांकअनुसार ६ राज्य तथा २ टेरिटोरीमा नै विभिन्न पेसामा कामदारको अभाव छ । तीमध्ये दुर्गम क्षेत्रमा अभाव अझै बढी छ । समग्र अस्ट्रेलियामा १ सय ५३ पेसागत क्षेत्रमा कामदार अभाव भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेसनल स्किल कमिसनको तथ्यांकअनुसार अस्ट्रेलियाका अधिकांश राज्य तथा टेरिटोरीका दुर्गम क्षेत्रमा कामदार अभाव चर्को देखिएको छ । जनसंख्याको हिसाबले ठूला न्यु साउथ वेल्स र भिक्टोरियामा २ सय ४३ र भिक्टोरियामा मात्रै १ सय ६५ पेसामा कामदार अपुग छ ।

समस्या बढेसँगै दुई ठूला राज्य भिक्टोरिया र न्यु साउथ वेल्सका प्रमुखले केन्द्र सरकारसँग मिलेर समस्या समाधान गर्न पहल सुरु गरेका छन् ।

भिक्टोरिया तथा न्यु साउथ वेल्समा शिक्षा, स्वास्थ्य तथा निर्माणलगायत क्षेत्रमा कामदारको ठूलो अभाव छ ।

त्यस्तै अस्ट्रेलियाको उद्योग समूहले पनि सरकारलाई स्थायी दक्ष आप्रवासीको तहलाई आगामी दुई वर्षका लागि बढाउन अनुरोध गरिसकेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विजनेस काउन्सिलले स्थायी आप्रवासको संख्या आगामी आर्थिक वर्षका लागि २ लाख २० हजार पुर्याउन सरकारलाई गत महिना नै सुझाव दिएको थियो , जसमा १ लाख ५४ हजार दक्ष कामदारको संख्या तोकिनुपर्ने मा काउन्सिलको छ ।

अस्ट्रेलियाको गृह मन्त्रालयका अनुसार सन् २०२२–२३ मा आप्रवासी कार्यक्रमअन्तर्गत १ लाख ६० हजार जना भित्राउने जनाइएको छ । त्यसमध्ये एक लाख ९ हजार ९ सय जनालाई जनशक्ति अभाव कम गर्न ल्याइने र अन्य पारिवारिक भिसा कार्यक्रमअन्तर्गत भित्राइने जनाइउको छ ।

अस्ट्रेलियाले केही महिनाअघि भारतसँग वार्षिक एक हजार कामदारलाई वर्किङ होलिडे भिसा दिने सहमति गरिसकेको छ । सन् २०२४ देखि सुरु हुने भनिएको कार्यक्रमअन्तर्गत १८ वर्षदेखि ३० वर्षसम्मका भारतीय नागरिकले अधिकतम एक वर्षका लागि वर्किङ, होलिडे भिसा पाउनेछन् ।

नेपाल सरकारले पनि पहल गरेको खण्डमा यस्ता कार्यक्रममा सहभागी हुनसक्ने सम्भावना रहेको अध्यागमन क्षेत्रका जानकारहरूको भनाइ छ । तर लामो समयसम्म राजदूत पद खाली रहने तथा कूटनीतिक पहल नभएकाले अस्ट्रेलियाको प्राथमिकतामा नेपाल भने छैन, आजको कान्तिपुर दैनिकमा खबर छ ।