NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

तारा एयरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

विस्तृत विवरण आउन बाँकी

काठमाडौं । तारा एयरलाइन्सको आइतबार बिहानबाट सम्पर्कविहीन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको सम्पर्कविहीन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् । उनका अनुसार, विमान दुर्घटना भएको स्थानबारे जानकारी पाएपछि नेपाली सेनाको टोली अहिले त्यसतर्फ जाँदै छ ।

सैनिक प्रवक्ता सिलवालले दुर्घटनाग्रस्त विमानको तस्बिरसमेत सार्वजनिक गरेका छन् । जसमा पहाडमा ठोक्किएर दुर्घटना भएको विमानका पार्टपुर्जा क्षतविक्षत अवस्थामा असरल्ल छन् । केही भाग जलेका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तारा एयरको विमान आइतबार बिहान जोमसोमका लागि उडेको केहीबेरमा नै सम्पर्कविहीन भएको थियो ।

आइतबार दिनभर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य गरे पनि विमानको अवस्था पत्ता लाग्न सकेको थिएन ।

विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए ।