NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

दुर्घटना अपडेट : पहिचान हुने अवस्थामा छैनन् शव

काठमाडौं । तारा एयरलाइन्सको सम्पर्कविहीन जहाज मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित सानोस्वारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । १४ हजार पाँच सय फिटमा खसेको जहाज टुक्रा–टुक्रा अवस्थामा भेटिएको हो ।

जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर पाएलगत्तै नेपाली सेना र प्रहरीको टोली उद्धारका लागि घटनास्थल पुगेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार, घटनास्थलमा केही शव भेटिएका छन् । तर शवहरू पहिचान हुने अवस्थामा छैनन् ।

‘जहाज भेटिएकै ठाउँको वरिपरि शव भेटिएका छन् । १२ वटा जति भेटिएको हो कि भन्ने खबर आएको छ,’ उनले भने, ‘तर, सबै टुक्रा–टुक्रा अवस्थामा फेला परेको हुँदा ठीक यति नै भनेर यकिन गर्न सकिने अवस्था छैन । सबै शवलाई काठमाडौं ल्याएर फोरेन्सिक परीक्षण गरेपछि पत्ता लाग्छ ।’

अहिलेसम्म घटनास्थलमा कोही पनि जीवित अवस्थामा नभेटिएको पनि उनले जनाकारी दिए ।

उद्धारको कम सकिनासाथ प्राधिकरणले दुर्घटनाको छानविनका लागि समिति गठन गर्ने कर्णले जनाएका छन् ।

आइतबार जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा पोखराको धवानमार्ग छोडेको ताराको ९ एनएइटी कलसाइनको जहाज सम्पर्कविहिन भएको थियो । जहाजमा चालक दलका सदस्यसहित २२ यात्रु सवार थिए ।