NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

श्रीमानले यातना दिएर घाइते भएकी महिलाको मृत्यु

काठमाडौं । श्रीमानले मलद्वारमा दौरो घुसाएर घाइते एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

पाँच दिनअघि गम्भीर घाइते अवस्थामा चितवनको भरतपुर अस्पतालमा भर्ना भएकी गीता माझीको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले गएराति ११ बजे माझीको निधन भएको जानकारी दिए ।

रक्सीको लतमा फसेका श्रीमान्को आक्रमणबाट गम्भीर उनको सोमबार मात्रै शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनी शौचालय गएकी थिइन् । तर राति एक्कासि मुटुमा समस्या आएको र मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रहरीले गीताका श्रीमान् चितवनको खैरहनी नगरपालिका–१० रामचन्द्र माझीलाई हिरासतमा राखेको छ । उनले रक्सी खाएर ज्यालामजदुरी गरेर परिवार पाल्दै आएकी श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । आर्थिक अवस्था कमजोर भएपछि विभिन्न संस्थाको सहयोगमा उनको उपचार भइरहेको थियो ।

रामचन्द्रविरुद्ध अहिलेसम्म किटानी जाहेरी परेको छैन । जाहेरी दिने मानिस नभएपछि प्रहरीले आफ्नै प्रतिवेदनका आधारमा मुद्दा चलाउने तयारी गरेको छ ।

गीताका तीन छोरी छन् । यीमध्ये एकको विवाह भइसकेको छ भने दुई नावालक छन् ।