NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

वडाध्यक्ष रिजालको टिकटक मोह : वडाध्यक्षको कुर्सीमै बसेर बनाए ‘डाँडाघरे साइली’

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल यतिबेला चर्चामा छन् ।

नगर कार्यपालिकाको पहिलो बैठकमा मेयर बालेन शाहविरुद्ध खनिएपछि उनी चर्चामा आएका हुन् ।

रिजाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । मेयर शाहले नगर कार्यपालिकाको बैठकमा प्रक्रिया नपुर्याएको भन्दै उनी बैठकमै चर्केका थिए । त्यसयता उनी चर्चामा मात्र आएनन् उनका टिकटकसमेत यतिबेला हिट छन् ।

रिजाल दोस्रोपटक वडाध्यक्ष बनेका हुन् । यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा पनि उनी वडा नम्बर १६ मै वडाध्यक्ष बनेका थिए ।

वडाध्यक्ष रिजालले दोस्रोपटक निर्वाचित भएपछि पनि केही टिकटक बनाएका छन् । तर उनका पहिलो कार्यकालका टिकटक भने अहिले भाइरल भइरहेका छन् ।

रिजालले वडाध्यक्षको कुर्सीमै बसेर रोमान्टिक लोक दोहोरी गीतमा टिकटक बनाएका छन् । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वरमा रहेको ‘ओइ डाँडाघरै साइली मैले हत्ते गरेर के गर्ने’ भन्ने चर्चित लोक दोहारी गीतमा टिकटक बनाएका छन् ।

रिजाल वडाध्यक्षको कुर्सीमा बसेका छन् । उनले टल्किने कालो चश्मा र क्याप लगाएका छन् । रिजालले यो गीतमा निकै मेहेनत गरेर अभिनय गरेका छन् ।

अगाडि टेबलमा वडाध्यक्षको नेमप्लेट र पछाडि राष्ट्रिय झण्डासमेत फहराइरहेको छ ।

यतिमात्र होइन रिजालले कार्यकक्षमै अन्य टिकटक पनि बनाएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि भने उनले कार्यकक्षमा बसेर टिकटक बनाएको भेटिएको छैन ।

यस्तै, रिजालले हिन्दी चलचित्रका चर्चित डायलगदेखि उदितनारायण झाको स्वरमा रहेको ‘माया बैगुनी’देखि राजु लामाको ‘भेट हुने दिन’सम्मका टिकटक बनाउन भ्याएका छन् ।

रिजालका टिकटकमा अधिकांशले प्रशंसा नै गरेको पाइन्छ । कतिपयले भने गाली गरिरहेका छन् ।

कतिपयले भने मेयर शाहलाई काम गर्न बाधा गर्न लागेको भन्दै आक्रोश पोखेका छन् ।