NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सरकार अल्पमतमा पर्ने डरले रोकियो मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रिपरिषदमा पठाउने एकीकृत समाजवादीको निर्णय तत्काललाई थाती रहने भएको छ । एकीकृत समाजवादीका मन्त्रीको हेरफेरले अन्य दलमा पनि असर गर्ने र असन्तुष्टि बढेर वार्षिक बजेट पारित गर्न गाह्रो हुने देखिएपछि सत्ता गठबन्धनका नेताहरू पछि हटेका हुन् । बजेट पारित नभएर सरकार अल्पमतमा पर्छ ।

बालुवाटारमा सोमबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णयपछि एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा उत्पन्न विवादबारे छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्कमल दाहालले अहिले मन्त्री हेरफेर गर्दा अरू पार्टीमा पनि प्रभाव पर्ने भन्दै तत्कालका लागि निर्णय रोक्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।

देउवा र दाहालले बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्दा सरकार सुरक्षित हुने बताएका थिए । त्यसपछि अध्यक्ष नेपाल बजेट पारित गरेर मात्रै मन्त्रिपरिषद् हेरफेर गर्न सहमत भएको त्यहाँ सहभागी एक नेताले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।

एकीकृत समाजवादीमा विवाद रहेको र जसपा फुट नजिक रहेको सूचनापछि प्रधानमन्त्री देउवाले बहुमत सुरक्षित गर्न लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउन गृहकार्य गरिरहेका छन् । बजेट पारित नहुँदासम्म मन्त्रिपरिषद् हेरफेर नहुने भएपछि जसपा पनि फुटबाट तत्काललाई जोगिएको छ । मन्त्रिपरिषद् हेरफेर रोकिएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूलाई बोलाएर सम्झाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष