NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

सेतो र खैरो ब्रेडमध्ये कुन स्वस्थकर ?

काठमाडौं । हामी स्वास्थ्यमा विशेष ख्याल राख्छौं । यसका लागि हामी हरेक खानेकुराले स्वास्थ्यमा कतिको प्रभाव पार्छ भन्ने जान्न चाहन्छौं । घरघरको बिहानीको खाजामा खाइने ब्रेड (पाउरोटी) स्वास्थ्यमा कतिको प्रभावकारी छ भनेर जान्न जरुरी छ । ब्रेड विभिन्न प्रकारका हुन्छन् ।

आजकाल बजारमा गँहुदेखि फापरको ब्रेडसम्म पाइने गरेको छ । के सबै ब्रेड हाम्रो स्वास्थ्यका लागि उपयुक्त हुन्छन् ? आजकाल व्यक्ति सेतो ब्रेडभन्दा बढी खैरो ब्रेडलाई आफ्नो खाजामा लिन मन पराउँछन् ।

भारतीय आयुर्वेदिक डाक्टर अबरार मुल्तानी सेतो ब्रेडमा घातक पोटासियम ब्रोमेट र पोटासियम आयोडाइड हुने बताउँछन्, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ ।

वातावरण तथा विज्ञान केन्द्रको एक अध्ययनले सबै प्रकारको ब्रेडमा कार्सिनोजन्स केमिकल हुने र यसले क्यान्सर तथा थाइरोइडजस्ता समस्या निम्त्याउने बताएको छ ।

अध्ययनका लागि लिइएका नमुना रोटीमध्ये ८४ प्रतिशतमा पोटासियम ब्रोमेट र पोटासियम आयोडाइड पाइएको सो अध्ययनले पुष्टि गरेको छ । यस्तो रसायन धेरै देशमा प्रतिबन्ध लगाइएको छ । यसले ब्रेडलाई फुलाउन, नरम र आकर्षक बनाउने काम गर्छ ।

सेतो ब्रेड बनाउने समयमा गँहुको चोकर र बीउ हटाइन्छ र त्यसमा पोटासियम ब्रोमेट, बेन्जोल पेरोक्साइड र क्यालोरी नाइडाईअक्साइडको साथ ब्लीच मिलाइन्छ जसको ज्यादा प्रयोगले स्वास्थ्यसम्बन्धी समस्या अधिक मात्रामा हुने गर्छ । त्यस्तै ब्राउन बे्रड बनाउने समयमा गँहुबाट चोकर हटाइँदैन ।

१) युरोपेली कांग्रेस अन ओबेसिटीमा प्रस्तुत शोधपत्रअनुसार दिनको दुई पिस भन्दा बढी ब्रेड खाने व्यक्तिमा मोटोपन बढ्ने सम्भावना ४० प्रतिशत बढी रहेको हुन्छ ।

२) अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित अर्को शोधका अनुसार अधिक ब्रेड खानाले टाइप-२ डाईबिटिजको खतरा बढने हुन्छ ।

३) सेतो ब्रेड खानाले शरीरमा ब्लड सुगर र इन्सुलिनको मात्रा बढ्छ ।

४) खैरो ब्रेडमा सेतो ब्रेडको तुलनामा बढी पोषक तत्व हुन्छ । खैरो बे्रडमा भिटामिन-ई, म्याग्नासियम, फोलिक एसिड, जिन्क र कपरजस्ता पोषक तत्व हुन्छन् । त्यस्तै सेतो ब्रेडमा कम मात्रामा फाइबर हुन्छ तर खैरो पाउरोटीको तुलनामा सेतोमा बढी क्याल्सियम हुन्छ ।

यद्यपी कुनै पनि प्रकारको बे्रड स्वास्थ्यका लागि फाइदाजनक हुँदैन तर सेतो र ब्राउन ब्रेडको तुलनामा ब्राउन ब्रेड स्वस्थकर हुन्छ ।